![चन्द्रमाको माटोमा पहिलोपटक बिरुवा उम्रियो](https://12khari.top/uploads/posts/biruwo1652454030.jpg)
बीबीसी । वैज्ञानिकहरूले पहिलोपटक चन्द्रमाको माटोमा बिरुवा उमोरका छन्, जुन चन्द्रमामा मान्छेको लामो बसाईँ सम्भव पार्न महत्त्वपूर्ण कदम बन्ने बताइएको छ ।
अध्ययनकर्ताहरुले यसका लागि १९६२–१९७२ अपोलो मिसनबाट संकलन गरिएका ससाना धुलोका स्याम्पलहरु प्रयोग गरेका हुन् । र ‘क्रेस’ प्रजातिको खान मिल्ने बिरुवा रोपेका थिए, जुन आश्चर्यजनक रुपमा दुई दिनपछि नै उम्रिएको छ ।
यस खोजकी प्रमुख, युनिभर्सिटी अफ फ्लोरिडाकी प्रोफेसर एना–लिसा पल भन्छिन्, “म तपाईँहरुसँग बयान गर्न सक्दिन कि हामी यसबाट कति चकित परेका थियौँ । अहिलेसम्म चन्द्रमाको माटोमा उमारिएका सबै बिरुवा केही समयमै बढ्न छाड्ने र मर्ने भइरहेको थियो । तर, यसपटक नतिजा फरक आयो ।”
यसरी विज्ञानको क्षेत्रमा यसलाई चमत्कारिक सफलता पनि भनिएको छ ।
विशेषगरी चन्द्रमामा मानव अवतरण सम्बन्धी नासाको लामो समय अगाडिदेखिको रिसर्चका लागि यो उल्लेखनीय सावित हुने बताइएको छ । चन्द्रमा मात्र नभएर मंगल ग्रहको मिसनमा जाने भविष्यका अन्तरिक्षयात्रीका लागिसमेत यो महत्वपूर्ण खाद्य श्रोत बन्ने अपेक्षा गरिएको छ ।
त्यस्तै यो कृषि क्षेत्रका लागिसमेत प्रगतिशील खोज मानिएको छ किनकी यसले पृथ्वीका खाद्यान्न अभाव हुने क्षेत्रमा बोट बिरुवाले कसरी तनावपूर्ण वातावरणको सामना गरी वृद्धिविकास हुन सक्छन् भन्ने पत्ता लगाउन मद्दत गर्ने बताइएको छ ।
अब वैज्ञानिकहरुलाई यस खोजमा एउटै मात्र चुनौती भनेको उनीहरुसँग चन्द्रमाको माटोको स्याम्पल थप अन्य अनुसन्धान गर्नका लागि पर्याप्त छैन ।
१९६९ मा तीन वर्षको अवधिमा नासाका अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहबाट ३८२ केजी चट्टान, सतहको स्याम्पल, ससाना ढुङ्गा, माटो र धुलो ल्याएका थिए । र, यसमध्ये युनिभर्सिटी अफ फ्लोरिडाको टोलीलाई उक्त स्याम्पलबाट केबल प्रतिबिरुवा १ ग्राम माटो मात्र दिइएको थियो, जसलाई पनि यत्तिका दशकसम्म लक गरेर राखिएको थियो ।
२०२५ मा निर्धारित गरिएको मिसनमा नासाले १९७२ पछि पहिलोपटक चन्द्रमामा मानव अवतरण गराउने योजना रहेको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)