जनकपुरधाम । गणेशमान चारनाथ नगरपालिका, ५ चिसापानीकी दुर्गा श्रेष्ठ ६३ वर्षकी भइन् । ०३९ सालमा शिवलाल श्रेष्ठसँग विवाह गरेपछि उनी यतै बस्न थालेकी हुन् ।
त्यतिबेला गाउँमा १० फिटमाथि पानी आउने गरेको उनी सुनाउँछिन् । गाउँलेलाई इनार र चप्पा कलकै पानी प्रयाप्त हुने गरेका दिन सम्झिदै उनले भनिन्, “त्यतिबेला गाउँमा कहिल्यै खानेपानी र सिचाइँका लागि पानी अभाव भएन । तर पछिल्लो एक दशकयाता गाउँमा गर्मी मौसम सुरु हुनेबित्तिकै पानीको हाहाकार हुन्छ । इनार सुक्दै गएको छ । चप्पा कलमा पानी आएको छैन । बिहान एकछिन इनारबाट मोटरले तान्दा पानी आउँछ । त्यतिले खान पनि पुग्दैन ।”
नेताहरूले हरेक चुनावमा आश्वासनमात्रै दिने गरेको उनी बताउँछिन् । गत चुनावमा पनि सबैजसो नेताले खानेपानी समस्या समाधान गर्ने आश्वासन दिए । तर, गाउँमा पानीको समस्या भने उस्तै छ ।
“अहिले पनि नेताहरू गाउँमा भोट माग्न आउन थालेका छन् । फेरि उनीहरूले उही कुरा गरिरेहका छन् । ‘मत दिनुस्, पानीको समस्या समाधान गर्छौं’ भनिरहेका छन् । यसअघिको चुनावमा पनि नेताहरूले त्यही भनेर मत लिए । तर, समस्या समाधान गरेनन्,” उनले भनिन् ।
नेताहरू गाउँमा चुनावको बेलामात्रै आउने गरेको उनको अनुभव छ । सडकमा पहिलाभन्दा केही सुधार भए पनि खानेपानीको समस्या झन बढ्दै गएको उनले बताइन् ।
७९ वर्षीय तिलकचन्द्र थापा मगर चुरेको फेदका बासिन्दा खोलाको दूषित पानी खान बाध्य रहेको बताउँछन् । उनकाअनुसार मैनावती, कुमरखोर, सढा र सेलारका बासिन्दा खोलाकै पानी प्रयोग गर्छन् ।
“यहाँ पनि पानीको हाहाकार छ । हामीले पनि खोलाकै पानी प्रयोग गर्ने गरेका छौँ,” उनले भने, “बाध्य भएर हामी कपडा धुन र नुहाउन खोलाको पानी प्रयोग गर्छौं । चुरेफेदको बासिन्दा खोलाकै पानी पिउँछन् ।”
चिसापानीका ५५ घरघुरी अहिले एउटै इनारको पानी प्रयोग गर्छन् ।
गाउँका सबै इनार र कल सुकिसकेको धनमाया कार्की बताउँछिन् । गाउँमा पानी नहुँदा पशु चौपाया पालन गर्न नसकेको उनको गुनासो छ ।
“खानलाई पानी पुगेकै छैन । पशुलाई कहाँबाट दिनु ?,” उनले प्रश्न गरिन्, “बजारबाट तरकारी ल्याउन सडक छैन । यहाँ तरकारी खेती गर्न पानी छैन ।”
यहाँको बासिन्दाले जनप्रतिनिधिलाई पटकपटक पानीको समस्याबारे ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको उनी बताउँछिन् ।
वडा नम्बर ५ भएरै बग्छन् बफर, चारनाथ र कमला खोला । यी खोलाहरूमा जथाभाबी भइरहेको दोहनकै कारण गाउँमा पानीको मुहान सुक्दै गएको उनको बुझाइ छ ।
५२ वर्षीय श्याम विष्ट पनि खोलामा जथाभाबी भइरहेको उत्खननले खानेपानीको मुहान सुक्दै गएको बताउँछन् । “यहाँको जनप्रतिनिधिले खोला ठेक्कामा लगाएर करोडौँ असुलिरहेका छन् । तर, जनतालाई त्यसले के असर गर्यो मतलव छैन,” उनले भने, “गाउँलेलाई ठेकेदारले सुन्दैनन् । उल्टै धम्की दिन्छन् ।”
मेयरले नै क्रसर उद्योग चलाएको उनको आरोप छ । उनका अनुसार ०७४ को चुनावमा निर्वाचित भएपछि नगर प्रमुख रामबाबु यादवले भान्जाको नाममा क्रसर उद्योग खोलेर सञ्चालन गर्दै आएका छन् ।
यद्यपि, यादव भने आफ्नो कुनै क्रसर उद्योग नचलेको दाबी गर्छन् । “मेरो भान्जा हुनेबित्तिकै क्रसर चलाउन पाउँदैनन् ?,” उनले भने, “कानुनविपरीत काम गर्नुभएन । तर, कानुनमा रहेर त सबैले उद्योग धन्धा चलाउँन पाउँछ नि !”
खानेपानीको व्यवस्था पालिकाको क्षमताअनुसार गरेको उनको दाबी छ ।
चिसापानीको सन्दर्भमा भने तीनसय फिट तल पाइप गाड्दा पनि पानी नआएको उनले बताए ।
“हामीले खानेपानीको उचित व्यवस्थापन गरेकै छौँ । चिसापानीमा कल तथा इनार सम्भव भएन,” उनले भने, “त्यहाँ अन्य ठाउँबाट पाइप तानेर पानी लग्नुपर्छ ।”
तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित यादव र उपप्रमुख मिनाकुमारी यादव फेरि उमेदवार बनेर त्यही ठाउँमा मत माग्न जान थालेका छन् ।
रामबाबुको कार्यशैलीप्रति असतुष्टि जनाउँदै यसपालि जनता समाजवादीले उमेदवार बनाएन । टिकटका लागि पार्टीमा विवाद गरेका यादव अन्तिम समयमा लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरी लोसपाबाट उमेदवार बनेका छन् । उपप्रमुख मिनाकुमारी यादव नेकपा एमाले प्रवेश गरिसकेकी छन् । उनले सोही पार्टीबाट उपप्रमुखमा पुनः उमेदवारी दिएकी छन् ।