पोखरा । आइतबार पोखरामा दुईवटा घटना भए । एमालेले मेयरको उमेदवारको रूपमा अगाडि सारेका दीपक पौडेल भन्दै एउटा भिडियो भाइरल भयो । अर्कोचाहिँ कांग्रेसका कार्यकर्ताले कास्कीका सभापतिदेखि सबै पदाधिकारीलाई पाँच घण्टा पार्टी कार्यालयमा थुनिदिए ।
मेयर उमेदवार चयन भइसक्दा पनि स्वयम् एमालेकै नेता कार्यकर्ताले एउटा सुन पसलबाट औँठी लुकाएको भिडियोमा भएको व्यक्तिलाई सिफारिस गरेको भन्दै विरोध गरे । एमालेबाहेकका दलका कार्यकर्ताहरूले त त्यसलाई मसाला नै बनाए ।
अमेरिकामा रहेका व्यक्तिदेखि पूर्वप्रशासकहरूले समेत भाइरल बनाएको उक्त भिडियोमा भएको व्यक्तिचाहिँ आफू नभएको भनेर मेयर उमेदवार रहेका पौडेलले चरित्रहत्या गर्न खोजिएको बताए ।
तर, उक्त भिडियो पौडेलकै रहेको र घटना एक दशकअघिको रहेको दाबी धेरैले गरेका छन् । उक्त घटनामा मुछिएका व्यक्तिलाई टिकट दिएको भनेर रिसाएका एमालेकै नेता कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वमा दबाब दिएपछि सोमबार बिहानसम्म उनको ठाउँमा अर्को व्यक्ति आउन सक्ने आँकलन एमाले वृत्तमा छ ।
कास्कीकै एमालेको एक खेमाले पौडेललाई कमजोर उमेदवार भन्दै रिपोर्टिङ गरेका छन् । उनलाई हटाएर अर्को व्यक्ति ल्याउन पोखरामा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी समूह लागिपरेको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीको शक्तिसंघर्षमा पर्दै आएको कास्की एमालेमा पौडेलको घटनालाई लिएर पनि दुई समूहको शक्तिसंघर्षका कारण भिडियो भाइरल भएको चर्चा भइरहेको छ ।
नेता खगराज अधिकारीले प्रदेश सांसद कृष्णबहादुर थापालाई मेयर उमेदवार बनाउन चाहान्थे । तर, गण्डकीको गठबन्धन सरकरा कुनै पनि बेला ढल्न सक्ने भन्दै सांसदलाई मेयर सिफारिस हुनबाट रोकेर थापाको च्याप्टर नै क्लोज भयो ।
यो विषयमा सांसद थापाले चाहिँ पृथ्वीसुब्बा गुरुङले व्यक्तिगत रूपमा नै आफूलाई रोक्न खोजेको प्रतिक्रिया दिए ।
सोमबार गठबन्धन र एमालेले उमेदवारी दर्ता गर्नेछन् ।
उमेदवारी दर्ताको समयसम्ममा पौडेलको ठाउँमा अरू नै उमेदवार आउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
यता, पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)लाई सघाउन केन्द्रको निर्देशन पाएको कास्की कांग्रेसका पदाधिकारी चाहिँ आफ्नै कार्यकर्ताबाट थुनिन पुग्यो ।
मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् । त्यही असन्तुष्टि गठबन्धनको बैठकमा पनि देखिने गरेको छ ।
आइतबार पनि कास्की कांग्रेस सभापति गठबन्धनकै बैठकमा थिए । त्यहाँ पोखराका वडाहरू कुन दलले कहाँ लिने भन्ने बारेमा नै छलफल हुँदैथियो ।
तर, कांग्रेसका कार्यकर्ताहरू आएर सभापतिलाई लिएर पार्टी कार्यालय पुगे । अन्य पदाधिकारीलाई पनि त्यहीँ बोलाए, अनि बाहिरबाट ताला लगाइदिए ।
बाहिर नाराबाजी गर्दै अन्य पालिकाको हकमा कास्की कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न दबाब दिए ।
पाँचघण्टासम्म थुनेपछि कास्की कांग्रेसले महानगरका ३३ वडासहित रूपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकामा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गर्यो ।
पोखरा महानगरभित्रका वडा बाँडफाँटको सन्दर्भमा कुनै वडामा सबै दलले दाबी गर्ने, कुनैमा लड्न नै नखोज्ने स्थिति थियो । अघिल्लो चुनावमा थोरै अन्तरमा कांग्रेस पराजित भएका वडाहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतको दलको दाबी रहेपछि कांग्रेसका कार्यकर्ताहरूले नै गठबन्धन तोड्न दबाब दिएका थिए ।
त्यही दबाब थेग्न नसकेपछि कास्की कांग्रेस सभापति किशोरदत्त बरालले 'गठबन्धनका दलहरूसँग पटकपटक वार्तामा बसी तालमेल गर्ने प्रयास जारी रहिरहेको अवस्थामा कार्यकर्ताहरूबीचको व्यापक असन्तुष्टि र कार्यकर्ताहरू तथा विभिन्न वडा इकाई सभापतिहरूको गठबन्धन नगर्ने राय सुझाव प्राप्त भएको हुँदा गठबन्धनका दलहरूसँग मैत्रीवत रूपमा प्रतिष्पर्धामा जाने निर्णय' गरेको बताए ।
कांग्रेसले अब कास्कीका ७२ वटै वडामा एक्लै चुनाव लड्नेछ ।
'अटेरी'देखि बागीसम्मको उमेदवारी
अटेरी समूहका संयोजक खडकराज पौडेल (गनेस)ले पोखराको मेयरमा स्वतन्त्र उमेदवारी दिएका छन् । पछिल्लो समय चर्चित अटेरी समूहको नाममा देशभर विभिन्न पालिकामा उमेदवार खडा छन् ।
पौडेलले पोखराको मेयरको उमेदवारी दुई महिना अगावै घोषणा गरेका थिए । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उमेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उमेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उमेदवारी दिएको बताए ।
स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उमेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उमेदवारी दर्ता गराएको उनले बताए । “यसमा युवाहरूको पनि चासो बढी रहेको छ । जित लगभग सुनिश्चित जस्तै छ,” उनले भने ।
त्रिपक्षीय मत बाँडिने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए ।
यता सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेताले पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको निर्णयानुसार पोखरा महानगरपालिकाको प्रमुख एकीकृत समाजवादीको भागमा परेको छ । उक्त निर्णयको विरोध गर्दै कांग्रेस नेता विमलबहादुर कार्कीले बागी उमेदवारी दर्ता गराएका हुन् ।
“दलीय चुनाव भने पनि केन्द्रबाट निर्णय लाद्ने र अर्काको पार्टीको चुनाव चिह्नमा मतदान गर्न लगाउने सभापति शेरबहादुर देउवाको गलत कदमविरुद्ध उमेदवारी दिएको हुँ,” कार्कीले आइतबार उमेदवारी दर्ता गराएपछि भने ।