site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उप–प्रमुखलाई स्थानीयले भने– मत दिन तयार छौँ, उत्खनन बन्द गराउनोस्

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव गएको मंगलबार चुनावी प्रचारप्रसारमा निस्किइन् । ससुरा विष्णुदेव यादव र देवर पनि उनीसँगै थिए । स्थानीयवासी हरिहरेश्वरनाथ महादेव मन्दिरमा भेला भएका थिए ।

उनीहरूले आफ्नो पीडाको पोको फुकाउनुअघि नै उपप्रमुख यादवले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरिन् । तर, पुनः मत दिएर जिताउन अनुरोध गरिन् ।

उपप्रमुखको काम–कारबाहीबाट असन्तुष्ट स्थानीय अक्रोशित थिए । सवाल–जवाफ गर्न थाले । स्थानीय र उपप्रमुखबीच एक छिन वादविवाद नै चल्यो । बीचबीचमा उनका ससुरा विष्णुदेव स्थानीयलाई फकाउने प्रयास गर्दै थिए ।

“ल एक छिन सुनौँ है साथीहरू, पहिलो कार्यकालमा विभिन्न कारणले तपाईंहरूको अपेक्षाअनुसार काम गर्न सकेनौँ । यसपालिको चुनावमा फेरि तपाईंहरूको सहयोग चाहिएको छ, सहयोग गर्नुपर्यो । त्यसपछि यहाँ पानीको समस्या समाधान हुन्छ । बाटो पनि बन्छ,” विष्णुदेवले मत माग्दै भने ।

उनको यो कुरा स्थानीयले पत्याएनन् । कार्यकाल सकिनै लाग्दासमेत आफूहरूको क्षेत्रमा एउटा मन्दिर बनाउनेबाहेक अरू केही नगरेको स्थानीयको आरोप छ । “क्रसर डनलाई तपाईंहरू पाल्नुभएको छ, होइन भने किन बन्द गर्नु हुन्न ? हाम्रो लागि केही गर्नु भएन । कम्तीमा जथाभावी भइरहेको दोहन त रोक्न सक्नुहुन्थ्यो,” विष्णुदेवको कुरा सुनेर जुरुक्क उठ्दै टेकबहादुर श्रेष्ठले भने, “अवैध उत्खननले हजारौँ बिघा जमिन बगर बनिसकेको छ । अझै कति जमिन बगर बन्ने जोखिममा छ । पानीको मुहान सुक्दै गएको छ । खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझो राख्नुपर्ने बाध्यता छ । मत दिन तयार छौँ, पहिला उत्खनन् बन्द गराइदिनोस् ।”

एम्बुलेन्स चालक प्रमोद पौडेले बाटो नहुँदाको पीडा र अनुभव सुनाए । अझै वडाको सबै गाउँमा गाडी जान सक्ने बाटो बनाउन नसक्नेलाई कुन आधारमा मत दिने ? भन्दै प्रश्न गरे ।

“यहाँको बिरामी र सुत्केरी भगवान्को भरोसामा बाँचिरहेका छन् । बर्सातको मौसममा विद्यार्थी खोला तरेर जान सक्दैनन्,” उनले भने, “खानेपानी अभाव छ । तपाईंले के गर्नुभयो यति दिनमा ?”

अर्का स्थानीय हरिप्रसाद उपाध्ययले जितेर गएपछि कुनै पनि स्थानीयको दुःखमा साथ नदिएको गुनासो गरे । जनप्रतिनिधिले मुख हेरेर काम गरेको उनको भनाइ छ । “जहाँ–जहाँ उनको पार्टीका मान्छे छन्, त्यहाँ अलि–अलि काम गरेको छ,” उनले भने, “हिलैहिलो छोडेर उनीहरूले कार्यकर्तामुखी सडक बनाएका छन् ।”

अवैध उत्खननले गाउँको इनार सुकिसकेको तर जनप्रतिनिधिले वास्ता नगरेको उनले बताए ।
 
पालिकाको गाडी लिएर मत माग्दै
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादवले सरकारी गाडी प्रयोग गरी मत माग्दै हिँडेकी छन् । पालिकाले उनलाई उपलब्ध गराएको प्रदेश–२–०२–००१ झ ००८० नम्बरको गाडी चढेर मत माग्दै हिँडेकी हुन् ।

मंगलबार पनि सोही गाडी लिएर गणेशमान चारनाथ–५ स्थित हरिहरेश्वरनाथ महादेव मन्दिर सखुवनी कवासेमा मत माग्न पुगेकी थिइन् ।

“हाम्रो उपमेयर निर्वाचित भएको साढे चार वर्षको अवधिमा कहिल्यै यसरी टोलटोलमा पुगेर मतदातको समस्या बुझ्न आएको थाहा थिएन,” स्थानीय श्याम महतोले भने ।

नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुख पदमा निर्वाचित भएकी यादव अहिले नेकपा (एमाले)मा छिन् । पुनः एमालेबाट उपप्रमुख पदकी आकांक्षी हुन् । योबारेमा उप–प्रमुख यादवले प्रतिक्रिया दिन मानिनन् ।

निर्वाचन आयोगले सरकारी गाडी प्रयोग गर्ने जनप्रतिनिधिलाई यही वैशाख १० गतेसम्म फिर्ता गरदिन पत्राचार गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुनै पनि उमेदवारले सरकारी गाडीको प्रयोग गर्न नपाउने बताए । प्रयोग गरिएको विषयमा लिखित जानकारी आए कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro