काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध संसदीय सुनुवाइ गर्नुअघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले जानकारी दिए ।
गएको चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका आठसहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानानुसार नियुक्तिअघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।