पोखरा । निर्वाचन कार्यतालिका प्रकाशन गरेर मतदानको समय घर्किएपछि एमाले पोखरा महानगर कमिटीले १२ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कार्यतालिका अनुसार १२ बजेबाट मतदान गर्ने कार्यक्रम राखिएको थियो । तर, सर्वसम्मती भन्दै पोखरा महानगरको प्रमुखमा आकांक्षी १२ जनाकै नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको एमाले पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले जानकारी दिए ।
महानगर प्रमुखको उमेदवार केन्द्रले टुंग्याउने भए पनि एमालेले वैशाख ३० गतेभित्रै उमेदवारका आकांक्षीको नाम सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन जारी गरेको थियो । तर, कास्की गृह जिल्ला भएका संगठन विभाग प्रमुख खगराज अधिकारी र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिव पद्मा अर्याल पक्षबीचको शक्तिसंघर्षका कारण महानगर कमिटीले तोकिएको मितिमा उमेदवार सिफारिस गर्न सकेन । भूगोलको आधारमा देशकै ठूलो र एमालेको बलियो पकड भएको पोखरा महानगरमा यी दुई पक्षबीच टकराब देखिएको छ ।
कम्तीमा एक महिलासहित बढीमा तीनजना उमेदवार सिफारिस गर्नुपर्ने निर्देशन एमालेको छ । सोही निर्देशन अनुसार बिहीबार राति दुवै समूहले आफ्ना उमेदवार टुंग्याएका थिए । सोही अनुरुप शुक्रबार निर्वाचन गर्ने कार्यतालिका थियो ।
अन्तिममा आएर महानगर कमिटीले आकांक्षी रहेका सबैलाई उपल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नगरप्रमुखको उमेदवार बन्न पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया सुरु गर्दा १२ जना आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा ११ जना उमेदवार थिए ।
प्रमुखका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।
उपप्रमुखमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी छन् ।
प्रमुखको उमेदवारको अन्तिम टुंगो भने एमाले केन्द्रीय कमिटीले लगाउने छ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उमेदवार टुंगो लगाउनेछ ।
पोखराको मेयर सिफारिस गर्न पृथ्वीसुब्बा र खगराज समूहबीच संघर्ष