पोखरा । एमाले उपमहासचिव र संगठन विभाग प्रमुखको चेपुवामा परेको पोखरा महानगरमा दुईवटा गुटले आफ्ना उमेदवार टुंगाएका छन् । एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर वैशाख ३० गतेभित्रै उमेदवार टुंग्याउन निर्देशन दिए पनि गण्डकीको एकमात्र र भूगोलको हिसाबले देशकै ठुलो पोखरा महानगरपालिका चाहिँ पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षमा पर्दै आएको छ ।
एमालेले एक महिलासहित तीन जना उमेदवार सिफारिस गर्न निर्देशन दिएको छ । अन्तिम उमेदवार चाहिँ केन्द्रीय नेतृत्वले नै टुंगो लगाउने छ ।
एमालेको जिल्ला अधिवेशन तथा महानगर कमिटीको अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रभुत्व जमाउने रहर स्पष्टै देखिन्थ्यो ।
जिल्ला अधिवेशनमा गुरुङ पक्षका मनबहादुर गुरुङ चयन भए ।महानगरमा चाहिँ मध्यमार्गी अवस्थामा रहेको दीलिप न्यौपानेलाई दुवै पक्षले रोज्यो । अन्यत्र सर्वसम्मत अधिवेशन टुंगिँदा पोखरामा चाहिँ अधिवेशन सकिन नै समय लागेको थियो ।
आसन्न स्थानीय तहमा उमेदवार छनोट प्राय जिल्लामा टुंगिसक्दा पोखरा चाहिँ पुनः गुरुङ र अधिकारीको शक्तिसंघर्षको चेपुवामा परेको छ । गुरुङको समूहमा एमाले सचिव पद्मा अर्याल पनि छिन् ।
अन्यत्र सर्वसम्मत उमेदवार छानिँदा पोखरा महानगरमा चाहिँ ओली खेमाभित्रका यी दुई समूह आन्तरिक निर्वाचनमा जाँदै छन् ।
शुक्रबार दिनको १२ देखि १ बजेसम्म मतदानको कार्यक्रम निर्वाचन समितिले प्रकाशन गरेको छ ।
निर्वाचनमा गुरुङ समूहको तर्फबाट एक नम्बरमा पुष्पज्योति ढुङ्गाना, मिनाकुमारी गुरुङ र दीपक पौडेललाई पोखराको नगरप्रमुखमा खडा गरेको छ । मिनाकुमारी पृथ्वीसुब्बाकी सम्धिनी समेत हुन् । ढुंगाना चाहिँ हाइड्रो व्यवसायी हुन् ।
यता, अधिकारी समूहले चाहिँ बहालवाला प्रदेश सांसद कृष्ण बहादुर थापा, वडा नं. १३ का अध्यक्ष दर्शन लामा र सावित्री भण्डारीलाई नगरप्रमुखको रूपमा उठाएको छ ।
थापा २०५४ का नगरप्रमुख समेत हुन् ।
यी दुवै समूहबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । पोखरा महानगर कमिटीभित्रका ११० जना कार्यसमितिले मतदान गर्ने छन् । बहुमत ल्याउने समूह नै पोखराको नगरप्रमुखका लागि महानगर कमिटीले सिफारिस गर्ने छ ।