काठमाडौं । आसन्न स्थानीय तहमा गठबन्धनबाटै चुनाव लड्ने तर पोखरा को नेतृत्व चाहिँ कांग्रेसले नै पाउनुपर्ने एकसुत्रीय माग लिएर कास्की कांग्रेस नेतृत्व मंगलबार काठमाडौं आयो ।
उनीहरू आउनुको एकमात्र कारण थियो, “पोखरा महानगरपालिकाको नेतृत्व समाजवादीलाई दिनेबारेमा गठबन्धनबीच सहमति ।”
मिडियामा समाचार आइसकेपछि झस्किएको कास्की कांग्रेस पंक्ति नेतृत्व छाडेमा दुर्घटना हुने चेतावनीबारे जानकारी गराउन सभापति बराल सहित केन्द्रीय नेता, प्रदेश मन्त्री र कार्यकर्ताको जमात काठमाडौं आएको हो ।
काठमाडौंमा सभापति शेरबहादुर देउवादेखि लिएर पदाधिकारी सबैलाई भेट्ने, गठबन्धनका दलको अवस्थाबारे अवगत गराउने र नेतृत्व नछाड्नका लागि दबाब दिन आएको कास्कीको टोली बुधबार बिहानै ९ बजे बालुवाटार पुग्यो । तर, १२ बजेसम्म पनि सभापति देउवालाई भेट्न पाउने छाँट नदेखिएपछि कास्कीको टोली दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुग्यो ।
सानेपामा बुधबार नै कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै थियो ।
त्यही बैठक बस्नुपूर्व कास्कीको टोलीले सभापति देउवासहित उपसभापतिद्वय धनराज गुरुङ, पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतलाई भेटे ।
भेटमा कास्कीका सभापति किशोरदत्त बरालले भने, “कास्कीको संवेदनशीलता बुझ्दिनुपर्यो । प्रदेशको राजधानी हो । समाजवादीलाई अगाडि बढाएर चुनाव चाहिँ जितिँदैन । मुस्किलले ५ हजार मत हो, समाजवादीको । गठबन्धन बनाएर चुनावमा जानेमा दुईमत छैन । तर, पोखराको नेतृत्व चाहिँ कांग्रेसले पाउने र गठबन्धनबाट चुनावमा जानुपर्यो ।”
नेतृत्व नपाएको खण्डमा र केन्द्रबाटै निर्णय लादिएको खण्डमा कार्यकर्तालाई थेग्न नसकिने, केन्द्रको निर्णय कार्यान्वयन गराउन नसकिने कुरा उनले राखे । मिडियामा आएका कुराकानी पनि उनले सभापतिलाई सोधे ।
“अहिले नै जानकारी गराउन आएका हौँ । पछि जानकारी गराएनन भन्ने अवस्था नआओस् भनेर अहिले नै सचेत गराउन आएका हौँ । केन्द्रले निर्णय गरेका कुरा कार्यान्वयन गराउन लागौँला, तर कार्यकर्ताको चित्त नबुझ्न सक्छ । बुझ्दैन पनि,” सभापति बरालले देउवासामु कुरा राखे ।
जवाफमा देउवाले महानगरपालिकाको विषयमा कुनै पनि कुरा नभएको हुँदा यस विषयमा कुरा नै नगर्न निर्देशन दिए ।
“कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?,” देउवाले जवाफ फर्काए ।
समाजवादीको मत बारे जानकारी गराउँदा देउवाले भने, “थाहा छ, थाहा छ । सबै थाहा छ ।”
अहिलेको अवस्थामा एक्लै लडे पनि चुनाव जित्न सकिनेबारे सहभागी सबैले कुरा उठाए ।
देउवाले त्यहाँ अर्को प्रश्न गरे, “साझा उमेदवार बनाएर ल्याउन सक्छौ ?" स्थानीय चुनाव नसर्ने र जुनसुकै हालतमा पनि हुने उनले दाबी गरे ।
गठबन्धन बैठकमा महानगरपालिकाको विषय प्रवेश नै नगरेको बताए पनि कांग्रेसकै अन्य पदाधिकारीले चाहिँ पोखरा समाजवादीलाई दिने निर्णय लगभग भइसकेको पुष्टि गरे । ठुलै दबाब आएको खण्डमा मात्रै उक्त निर्णय सल्टाउन सभापतिलाई कन्भिन्स गर्नुपर्ने उनीहरूले कास्कीको टोलीलाई बताएका थिए ।
तर, सभापति देउवासामु प्रतिप्रश्न कसैले गर्न सकेनन् । देउवालाई भेटेर निस्केपछि कास्कीको टोली खुसी चाहिँ देखिएन । देउवाकै शैलीमा उपसभापति पूर्ण बहादुर खड्काले सुरुमा नै मध्यमार्गी भएर जिल्ला फर्किन आग्रह गरिसकेका थिए ।
“तपाईंहरूको दाबी बेठिक छैन । कुन, कहाँ कसलाई पर्छ म चाहिँ भन्न सक्दिन । मलाई कास्कीको अवस्था सबै झलझली थाहा छ । व्यक्तिगत, पार्टीगत रूपमा सूचना लिएका छौँ,” उनले थपे, “धेरै निराश नबन्नुहोस्, आशावादी पनि नबन्नुहोस । मध्यमार्गी भएर तपाईहरू जिल्लामा फर्किहाल्नुहोस् ।”
कम्युनिस्टहरू २४ घण्टामा नै आत्मालोचना गरेर मिल्न सक्ने सम्भावना उत्तिकै रहेका कारण गठबन्धनबाटै चुनावमा जान र त्यसलाई स्विकार्नुपर्ने उनको संकेत थियो ।
“०७४ मा पनि त गठबन्धन गरेको हो नि, तर हारियो । तपाईंलाई हार्ने चुनाव प्रचण्ड, माधव नेपाल कसैले लड्छ । आत्मालोचना गरेर २४ घण्टामा नै उनीहरू मिल्छन् । एक्लै लड्ने अवस्था छैन । दाम्लो जति बटारेतापनि गाँठो एउटै पर्छ । तपाईंहरू नआए पनि हामीले सक्नेजति लिन्छौँ, तपाईंहरू आए पनि नसक्ने कुरा हुँदैन,” उनले भने ।
महामन्त्री गगन थापाले चाहिँ माधवकुमार नेपालले तथ्यांक नै देखाएर पोखरा कुनै हालतमा नछाड्ने अडान लिएको बारेमा कास्कीको टोलीलाई जानकारी गराए ।
पोखरामा समाजवादीले आफूहरूसँग झन्डै १८ हजार मत रहेको दाबी गरिरहेको छ । तर, कांग्रेसको विश्लेषणमा चाहिँ समाजवादीको मतसंख्या बढीमा पाँच हजार मात्रै हो ।
दुई लाख सात हजार मतदाता रहेको पोखरामा ७० प्रतिशत मत खसेको खण्डमा पनि चुनाव जित्नका लागि झन्डै ७५ हजार मत ल्याउनुपर्छ । कांग्रेसले चाहिँ अघिल्लो स्थानीय तहको चुनावको ४६ हजार र अहिले थपिएका ३९ हजार नयाँ मतदातामा १४ हजार थपिँदा ६० हजार मत एक्लैको रहेको दाबी गरेको छ ।
यही अवस्थामा समाजवादीलाई नेतृत्व दिँदा विद्रोह हुने र चुनाव हारिने जानकारी टोलीले गराएको थियो ।
यस विषयमा महामन्त्री थापाले चाहिँ माधवकुमार नेपालले ८३ पेजको तथ्यांक नै पेस गरेको बताए । समाजवादीले बार्गेनिङका लागि नभई पोखरा जसरी भएपनि लिने लाइनमा रहेको उनले जानकारी गराए ।
“हाम्रो पार्टीभित्र आजसम्म एकपटक पनि औपचारिक रूपमा महानगरको बारेमा छलफल नै भएको छैन । हिजो माधव कुमार नेपालले रामचन्द्र पौडेलले कसरी पोखरा समाजवादीलाई दिने भनेर भन्दा, हामीलाई हेपेर बोल्ने भनेर ८३ पेजको डाटा नै दिनुभएको छ,” थापाले भने, “उहाँले तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँको प्रस्तुति हेर्दा चाहिँ दाबीको लागि दाबी नभई लिएरै छाड्नेगरी आउनुभएको अवस्था छ । यति कुरा भन्छु कि, तपाईंहरूले ठुलो अर्गनाइज्ड ढंगबाट थेग्न सकिन्न भन्ने कुरा चाहिँ तपाईंहरूले बनाउनुभयो, त्यो कुरा हामीहरू जो जहाँ जुन तहमा बस्छौँ, सबै सोचेर कार्यान्वयन गर्न सकिँदैन भनेर भन्न पाइयो भने उल्टिएला, नभए उल्टिँदैन ।”
तर, माधव कुमार नेपालले पेस गरेको झन्डै १८ हजार मतदाता 'फेक' रहेको दाबी कास्की कांग्रेसको छ ।
“उनीहरूको बढीमा पाँच हजार मत हो । पाँच हजार मतमा ६० हजार मत थप्ने कि ६० हजार मतमा पाँच हजार मत थप्ने ? मतसंख्या, ठुलो दलको आधारमा नेतृत्व पाउनुपर्छ,” गण्डकीका मन्त्री विन्दुकुमार थापाले भने ।
उनको कुरामा समर्थन जनाउँदै कांग्रेस केन्द्रीय शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई नै बुझाउनुपर्ने बताए । कास्कीमा एक्लै चुनाव लडेको खण्डमा पनि जित्न सक्ने कोइरालाको भनाइ छ ।
माजवादीले पाएको खण्डमा कांग्रेसका मतदाताले भोट नहाल्नेबारेमा सभापति देउवा कन्भिन्स नभएको उनको भनाइ छ ।
“नेपाली कांग्रेसका मतदाता क्याडर हुँदैनन् । उनीहरूले कांग्रेसलाई बाहेक मत हाल्दैनन नि । माओवादीले हामीलाई मत हाल्छन्, हाल्दैनन फरक कुरा हो, हाम्रो त जाँदै जाँदैन । हाम्रो त मासवाला भोट बढी छ नि । यो कुरा सभापतिलाई बुझाउनुहोस् । अहिले चाहिँ पोखरामा कांग्रेसले जित्ने मैले देखेको छु ।”
यता गृहमन्त्री बालकृष्ण खाँडले चाहिँ सभापति देउवाकै भनाइलाई समर्थन गर्नेगरी विप्लव पनि निर्वाचनमा आउने र कम्युनिस्ट एक भएर चुनाव लड्दा झन कठिन हुने बताए ।
खाँडले भने, “विप्लव पनि निर्वाचनमा आए भने कम्युनिस्ट मिले भने एक्लै जित्न सकिन्छ त ?”
नेतृत्वलाई दबाब दिन आएको कास्कीको टोली कांग्रेस नेतृत्वको जवाफपछि थोरै आशा र धेरै अन्योल बोकेर सानेपाबाट फर्किएको छ ।