पोखरा । स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने नेपाली कांग्रेसले केन्द्रमा निर्णय गरिसकेकाे छ । उक्त निर्णयपश्चात गठबन्धनका माओवादी र समाजवादी दुवैले पोखरा महानगरपालिकामा आ-आफ्नो दाबी गरेका छ्न् । समाजवादीको पहिलो रोजाइ नै पोखरा हाे ।
भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ । अघिल्लो निर्वाचनमा १३ हजार ७०२ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए ।
अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४१६ मत ल्याएको थियो ।
यसपटक पोखरामा ३९ हजार ६४५ मतदाता थपिएका छन् । नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ ।
सोही कारण देखाउँदै गठबन्धनको सबैभन्दा ठूलो दलको हिसाबमा पोखरा कांग्रेसले छोड्न नहुने दबाब दिन कास्की कांग्रेस नेतृत्व काठमाडौं जाँदै छ ।
कांग्रेस पोखरा महानगर सचिव गणेश बहादुर थापाका अनुसार कांग्रेस कास्की सभापति किशोरदत्त बरालको समन्वयमा प्रदेश मन्त्री विन्दुकुमार थापासहित वरिष्ठ नेता, कास्की जिल्ला कार्यसमिति, क्षेत्रीय र प्रदेश सभापति, महानगर पदाधिकारी, कांग्रेसको तर्फबाट पोखरा महानगरका लागि मेयर तथा उपमेयरका आकांक्षीलगायत व्यक्तिहरु काठमाडौं जानेछन् ।
उनीहरुले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिका कुनै हालतमा नछोड्न दबाब दिने कार्यक्रम रहेको थापाले बताए ।
अहिले कांग्रेसमा दर्जनबढी आकांक्षी पोखराको नेतृत्व लिन तयार छ्न् । उनीहरु आफ्नो पक्षमा लविङ् गरिरहेको छन् । यता गठबन्धन गर्ने केन्द्रको निर्णयले कांग्रेसले नै नेतृत्व नपाउने हो कि भन्ने अन्योलताबीच सबै आकांक्षीसहितको टोली राजधानी जाने र दबाब दिने कार्यक्रम छ ।
कांग्रेस शीर्ष नेतृत्वलाई भेटेर कांग्रेस नेतृत्वमा चुनावमा जाँदा गठबन्धनको जीत सुनिश्चित हुने जानकारी गराइने मन्त्री विन्दुकुमार थापाले बताए ।
यता, एमालेले मंगलबार नै महानगरको उमेदवार सिफारिस गर्नेछ ।
पोखरामा कांग्रेस उमेदवारका आकांक्षी : मन्त्रीदेखि व्यवसायीसम्म, विगतको अवस्था कस्तो थियो ?
पैँचो फिर्ता माग्दै माओवादी, अंश माग्दै समाजवादी : कांग्रेस भन्छ– मेयर हाम्रो
एमाले बलियो रहेको पोखरामा ‘आफन्त’को चर्चा !