पोखरा । एमाले कास्कीले २९ गते उमेदवार छनोट गर्ने भएको छ । गण्डकीको एकमात्र पोखरा महानगरपालिका रहेको कास्कीमा एमालेले कसलाई प्रमुखमा अगाडि बढाउला भन्ने चासो सर्वत्र छ ।
एमाले अन्तरपार्टी निर्देशन जारी गरेर उमेदवार छनोट गर्न निर्देशन दिएको थियो । महानगरको हकमा चाहिँ सम्बन्धित कमिटीको सिफारिस, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीबाट एमालेले उमेदवार टुंग्याउनेछ ।
अघिल्लो निर्वाचनमा एमाले उमेदवार मानबहादुर जिसीले कांग्रेस माओवादी गठबन्धनका उमेदवार रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले पराजित गरेका थिए ।
भूगोलको हिसाबले देशकै ठूलो र पर्यटनको राजधानी पोखरामा एमाले तुलनात्मक रुपमा बलियो भएका कारण यहाँ एमालेबाट मेयरका आकांक्षी धेरै छन् । अहिले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले केही मत घटाउन सक्ने भएता पनि थपिएका नयाँ मतदाता र एमालेको बलियो संगठनका कारण पोखरामा एमाले अझै पनि बलियो नै देखिन्छ ।
गठबन्धन भएको खण्डमा पनि एमाले एक्लैले पोखरा जित्ने दाबी कार्यकर्ताहरुको छ ।
२०५४ देखि २०७४ सम्मको स्थानीय चुनावमा एमालेले नै पोखरा चलाउँदै आएको छ । त्यसलाई निरन्तरता दिन र नेतृत्व लिन अहिले एमालेभित्र रस्साकस्सी छ ।
अर्कातर्फ ३० गतेभित्रै उमेदवार सिफारिस गर्नुपर्ने भएका कारण आकांक्षीको भित्रि लबिइङ र दौडधुप निकै बढेको छ ।
अहिलेका नगरप्रमुख मानबहादुर जिसी स्वास्थ्यावस्थाका कारण चुनाव नलड्ने हुँदा जिसीपछि पोखराको मेयर बन्न नेताकहाँ धाउनेहरु पनि उत्तिकै छन् ।
बहालवाला प्रदेश सांसददेखि उपमेयर, केन्द्रीय कमिटीका नेताहरु पोखराको नेतृत्वको लागि सक्रिय छन् । भित्रिरुपमा चर्चा भएता पनि पोखरामा महिलाले प्रमुखको टिकट पाउने एमालेकै नेता तथा कार्यकर्ताहरु स्वीकार्छन् ।
त्यसमा पनि मुख्यतः बहालवाला उपप्रमुख मञ्जुदेवी गुरुङ र एमाले केन्द्रीय कमिटी सदस्य मिनाकुमारी गुरुङको चर्चा व्यापक छ ।
यी दुइको नाम चर्चामा आउनुको कारण एमाले उपमहासचिव र राष्ट्रपति स्वयम् जोडिन्छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङकी सम्धिनी हुन् केन्द्रीय सदस्य मिनाकुमारी गुरुङ । अर्कातर्फ, राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् उपप्रमुख मञ्जुदेवी गुरुङ ।
प्रदेश राजधानीमा पकड बनाउन उपमहासचिव गुरुङको सक्रियता कास्कीको जिल्ला कमिटी र महानगर कमिटी निर्वाचनमा निकै बढेको थियो । अर्कातर्फ संगठन विभाग प्रमुख खगराज अधिकारीको गृह जिल्ला पनि कास्की नै हो ।
एमालेभित्रका समूहले आफ्नो प्रभुत्व जमाउने फ्याक्टरका रुपमा पनि यी दुई महिला नेत्रीको नाम चर्चामा छ ।
कार्यकालको अन्तिम समयमा आएर उपप्रमुख मञ्जुदेवी गुरुङले देशैभरिका सबै स्थानीय तहका उपप्रमुख–उपाध्यक्ष प्रमुख रहने न्यायिक समितिको सम्मेलन राखिन् । यो सम्मेलनको प्रमुख अतिथि राष्ट्रपति भण्डारी थिइन् ।
न्यायिक सम्मेलन भनिएता पनि एमालेवृत्तमा मञ्जुदेवीले राष्ट्रपति कार्ड खेलेर प्रमुखको टिकटको सुनिश्चितता गर्न खोजेको चर्चा भयो ।
अर्कातर्फ, पृथ्वीसुब्बाकी सम्धिनी मिनाकुमारी गुरुङले चाहिँ आफू नै प्रमुखको दाबेदार भएको बताएकी छन् ।
आइतबार बिहानमात्रै उनले एमाले अध्यक्ष ओलीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनलाई पृथ्वीसुब्बाको बलियो साथ रहेको एमालेकै कार्यकर्ताको स्विकारोक्ति छ ।
प्रमुख दाबी गरेकी गुरुङ २०३६ को जनआन्दोलनमा अखिलमा सक्रिय भएर सहभागी भएकी थिइन् ।
एमाले अध्यक्ष ओली जेल परेको समयमा कास्कीमा जेल बस्दा २०४१–०४२ सालमा भाइटीकासमेत लगाएकी थिइन् । उनी त्यतिबेला पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य थिइन् ।
त्यसबाट आएको १२५ रुपैयाँ दक्षिणा उनले दीप सांस्कृतिक समूहको नाममा लगाइन् । दलीय गतिविधी गर्न नपाउने त्यससमयमा उनले सांस्कृतिक समूह खोलेर अखिलको गतिविधी गर्दै आएकी थिइन् ।
२०४६ सालपछि उनले नगर कमिटीमा जिम्मेवारी पाइन् । ३ कार्यकाल त्यहाँ बसेपछि २ कार्यकाल जिल्ला कमिटीमा पुगिन् ।
उनी हालै सम्पन्न एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएकी हुन् । २०६४ मा पार्टीले संविधान सभाको समानुपातिक सूचीमा राखेको थियो । तर तत्कालीन पार्टी महासचिव माधव नेपाल, नेता केपी ओलीदेखि थुप्रै नेताहरु हारे । पार्टीलाई समानुपातिक भोट पनि कम आएका कारण संविधानसभा सदस्य हुन पाइनन् ।
यता, उपप्रमुख मञ्जुदेवी गुरुङको मितिनी साइनो २७ वर्ष पूरा गरिसकेको छ । कुरा २०५१ को हो । एमाले पोखरा नगर कमिटीको अधिवेशन थियो । त्यहाँ अतिथी बनेर पुगेकी थिइन् विद्या भण्डारी ।
मञ्जुका माइला बुवाले विद्या भण्डारीलाई पहिल्यैदेखि चिन्थे । उनी पोखरा आएको त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे । नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर जिसी साक्षी भएर मितिनी साइनो जोडियो ।
साइनो गाँसिएपछि पोखरा आउँदा मञ्जुकहाँ र काठमाडौं जाँदा विद्या भण्डारीकहाँ बसोबास हुन थाल्यो । उनीहरुबीच मितेरी साइनो गाँसिनुमा एउटा दुर्घटना जोडिएको छ ।
मञ्जुका पति मेखबहादुर गुरुङको २०४९ सालमा नुवाकोटमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । यता, विद्यादेवी भण्डारीका पति मदन भण्डारीको २०५० सालमा दासढुंगामा दुर्घटना भएका निधन भएको थियो ।
पाँचवर्ष उपप्रमुखको हैसियतमा काम गरिसकेपछि अहिले उनी प्रमुखको लागि स्वाभाविक उमेदवार रहेको बताउँछिन् ।
एमाले कास्कीले २९ गते मात्रै प्रमुखको नाम सिफारिस गर्ने अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।