
काठमाडौं । सुदूरपश्चिम स्पोर्ट्स अवार्ड–२०७८ मा वर्ष प्रशिक्षक विधाका लागि धनगढीको सारथि अस्पतालले प्रायोजन गर्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्ट्स अवार्डको तेस्रो संस्करणका लागि मंगलबार दुई पक्षबीच सम्झैता भएको हो । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सारथि अस्पतालका तर्फबाट अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट महासचिव प्रदीप पाठकले हस्ताक्षर गरे ।
सम्झैतासँगै अब यो विधाको नाम सारथि अस्पताल वर्ष प्रशिक्षक हुने भएको छ । यो विधाका विजेताले ३० हजार रुपैयाँ नगद पाउनेछन् । अवार्डको अघिल्ला दुई संस्करणमा पनि सारथि अस्पतालले यो विधालाई प्रायोजन गरेको थियो ।
सम्झैतापश्चात३ अस्पतालका अध्यक्ष जोशीले अवार्डसँग सुरुदेखि जोडिएको र खेलकुद क्षेत्रको प्रोत्साहनका लागि यस वर्ष पनि साथ दिएको बताए । आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासहित जोशीले थपे, “स्वास्थ्य र खेलकुद एकार्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरूको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास छ ।”
धनगढीको मुख्य बजारमा तीन वर्षअघि स्थापना भएको सारथि अस्पतालले अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवा दिँदै आएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई विभिन्न आठ विधामा अवार्ड दिइनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।