site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दरबार हाइस्कुलको रोबोटिक ल्याबमा के हुँदै छ ?
SkywellSkywell

काठमाडौं । दरबार हाइस्कुलको रोबोटिक ल्याबोरेटरी पुग्दा विद्यार्थी काठ काट्न, रोबोटकारको टायर बनाउनलगायत कार्यमा व्यस्त थिए । लाग्थ्यो वद्यार्थी भोक प्यास बिर्सेर काम गरिरहेका छन् । यी दृश्य केएमसी कलेजमा हुन लागेको रोबो सकर प्रतिस्पर्धामा भाग लिन दरबार हाइस्कुलको रोबोटिक ल्याबोरेटरीका विद्यार्थीले गरिरहेको पूर्वतयारीको हो ।  

उनीहरूले गरेका कामलाई नजिकबाट नियालिरहेका थिए, मेन्टर प्रिन्स चौधरी । रोबोटिक्स एसोसियसन अफ नेपालमा इन्टर्न गरिरहेका चौधरी भर्खर प्लस टु सकाएर बसेका हुन् । रोबो सकर लिगको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका उनी विद्यार्थीलाई रोबो सकर लिगका लागि रोबोट बनाउन सहयोग गर्दै थिए ।

एउटा टिममा तीनजना खेलाडी हुन्छन् । दुवै टिममा मिलाएर ६ जना खेलाडी र ती खेलाडीले चलाउने तीन/तीन गरी ६ वटा रोबोट हुन्छन् । ती रोबोटले फुटबल खेल्ने गर्छन् । तिनीहरूको कन्ट्रोल रिमोर्ट या मोबाइलबाट गरिन्छ ।

Dabur Nepal
NIC Asia


 
प्रतियोगितामा कक्षा नौका विद्यार्थी सहभागी हुनेछन् । चौधरी भन्छन्, “गाइडेन्स राम्रो पायो भने एकैदिन बन्छ । मिहिनेत चाहिन्छ । तर, राम्रो गाइड र मिहिनेत भएन भने दुई हप्तामा पनि बनाउन मुस्किल हुन्छ ।” 

आज हुने प्रस्तुतिको रणनीति उनले आफैँ तयार पारेका छन् । दुई वर्षदेखि रोहन दूधराज दरबार हाइस्कुलमा पढिरहेका छन् । नयाँ बसपार्कदेखि आउने रोहनलाई रोबोटिकको कक्षा मनपर्छ । प्रयोगशालामा साथीसँग बसेर कारको टायर बनाइरहेका उनी भन्छन्, “नयाँ–नयाँ कुरा सिक्न पाइन्छ ।”
 
उनले यही कक्षाबाट भुँइ सफा गर्ने रोबोट बनाएका थिए । रिमोट कन्ट्रोल कारजस्तै भ्याकुम गाँसेर बनाइएको सो रोबोट सातजनाको समूहले दुई हप्ता लगाएर बनाएको उनले सुनाए । भन्छन्, “त्यसले फोहोर तान्छ । तर, कुनाकाप्चा र भ¥याङमा जमेको फोहोर तान्न सक्दैन । त्यसमा अझै काम गर्नुपर्नेछ ।”
 
सरकारी विद्यालय दरबार हाइस्कुलका विद्यार्थीमा अहिले इन्जिनियरिङतर्फ आकर्षण कसरी ? जिज्ञासामा प्रधानाध्यापक शारदा पौडेल भर्खरै उद्घाटन भएको रोबोटिक ल्याब देखाउँदै भन्छिन्, “यो ल्याब गतवर्ष बनेको हो । तर, औपचारिक रूपमा उद्घाटन यसै साता गर्यौँ ।”

निजी संस्थागत विद्यालयमा रोबोटिक प्रयोगशाला भए पनि सरकारी विद्यालयको हकमा दरबार हाइस्कुलमा स्थापना भएको यो नेपालको पहिलो हो । यो प्रयोगशाला स्थापनाका लागि काठमाडौं महानगरपालिकाले ३८ लाख अनुदान दिएको थियो । सो रकममध्ये २१ लाख ८७ हजार २७५ रूपैयाँ ६ वटा इन्टरएक्टिभ स्मार्ट बोर्ड किन्न खर्च भएको थियो ।  १४ लाख ६ हजार ९१८ रुपैयाँ रोबोटिकका सामग्री खरिद गर्न खर्च भएको विद्यालय प्रशासनले जनाएको छ । 

प्रधानाध्यापक पौडेलकाअनुसार रोबोटिक प्रयोगशालालाई प्राविधिक शिक्षा र प्राविधिक धारसँग जोड्न खोजिएको छ । यसका लागि विद्यालयले कक्षा चारदेखि नौसम्म अनिवार्य रोबोटिक ल्याबमा अभ्यास गराउने गरेको छ  । जसका कारण उनीहरूको त्यसप्रति अभिरुचि बढ्ने गरेको उनको भनाइ छ ।
 
“हाम्रा विद्यार्थीलाई रोबोट नै बनाउन सिकाउने त होइन,” उनले भनिन्, “तर, रोबोटको मोडल बनाउन सिकाउँछाैँ ।” विद्यार्थीले समूहमा रानीपोखरीको लेउ सफा गर्ने रोबोट मेसिन, भुइँ सफा गर्ने मेसिनलगायत उपकरण बनाइसकेका छन् । 

उनका अनुसार विद्यार्थीलाई स–सानो कुराजस्तो घरमा किला ठोक्दा किला बाङ्गिने र घरको भित्ता बिग्रिने हुनसक्छ । “तर हाम्रा बालबालिकाले भित्तामा सिधा सजिलै किला ठोक्न मिल्ने औजार बनाएका छन्,” उनले भनिन्, “यी कुरा हेर्दा सानो छ ।  तर, जीवनमा यसको भूमिका कति ठूलो छ भन्ने बुझ्न जरुरी छ ।”
 
यसैगरी, विद्यार्थी विद्युत्तीय ज्ञान प्लस माइनस कसरी जोड्नेलगायत विज्ञानका धेरै कुरा प्रयोगशालाबाट सिकी दैनिक जीवनमा उपयोगमा आएकोमा उनी खुसी छन् । भन्छिन्, “प्राविधिक शिक्षाजस्तो वेल्डिङ गर्ने, काठ मेसिनले काट्ने तथा जीवनोपयोगी शिक्षा हाम्रा विद्यार्थीले सिकिरहेका छन् । कलेजमा पढाइ हुने कुरा बच्चाले जानेका छन् ।”

दरबार हाइस्कुलले रोबोट एसोसियसनसँग सहकार्यमा रोबोटिक प्रयोगशाला सुरु गरेको हो । महानगरले प्रयोगशाला बनाएपछि यसलाई चाहिने शिक्षकको तलब र सामाग्रीको जोहो भने विद्यालय आफैँ गरेको छ । विद्यार्थी एउटा कुरा सिकाएपछि त्यही कुराबाट अरू कुरा बनाउनसक्ने भएका छन् । 
 
दरबार हाइस्कुलको इतिहास बलियो छ । विद्यालयलाई छुट्टै पहिचान दिलाउन विद्यालयले कम्प्युटर शिक्षा तथा आर्टकक्षा सञ्चालन गरिरहेको छ । 

यसैगरी, क्यालिग्राफी र फोटोग्राफीको पनि कक्षा सञ्चालन गर्ने विद्यालयको सोच छ । भर्खरै त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्थापना भएको कन्फ्युसियस विभागसँग सम्झौता गरी विद्यालयले आगामी शैक्षिकसत्रदेखि अतिरिक्त भाषाको रूपमा चिनियाँ भाषा पढाउने भएको छ ।


 
हाल विद्यालयमा करिब ६ सयको संख्यामा विद्यार्थी छन् । जसमा ५७० नियमित विद्यार्थी छन् । संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिएको विद्यालयको भनाइ छ । विद्यालयमा दरबन्दी पुगेको छ । अतिरिक्त विषय पढाउनेबित्तिकै आफैँले खर्च व्यहोर्नु पर्दा केही कठिन भएको प्रधानाध्यापक पौडेलले बताउँछिन् ।

तर, कोभिड–१९का कारण अहिले अतिरिक्त कक्षा बन्द छन् । तालिकाअनुसार हप्तामा एकदिन अतिरिक्त पढाउने नियम थियो । अहिले सबै रोकिएको विद्यालय प्रशासनले जनाएको छ । चैतमा पाठ्यक्रम सकेर वैशाखमा परीक्षा र भर्ना तयारी गर्न कक्षा रोकिएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu