site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म कहिल्यै रोकिने मान्छे होइन

नायिका करिष्मा मानन्धर अघिल्लो हप्ता नेकपा (एमाले)मा प्रवेश गरिन् । तत्कालीन नयाँ शक्ति पार्टीमा सुरुदेखि नै जोडिएर काम गरेकी थिइन् । तर, केही समयपछि पार्टीगत रूपमा निस्क्रिय भइन् । त्यसयता कुनै पार्टीमा नरहेकी उनी एमालेमा प्रवेश गरेकी हुन् । निर्वाचनको पूर्वसन्ध्यामा एमालेमा प्रवेश गर्दा धेरैले शंका गरे, उनलाई पार्टीले कुनै न कुनै पदको आश्वासन दिइएको छ । तर, उनले आजसम्म पदका लागि आफूले बार्गेनिङ नगरेको दाबी गरेकी छन् । पदका लागि भन्दा पनि समाजसेवा आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ । महिलाको प्रतिनिधित्त्व गर्दै समानताका लागि हस्तक्षेपकारी भूमिका एमालेमा रहेर निर्वाह गर्न सक्ने उनको विश्वास छ । यसका लागि एमाले नै उपयुक्त पार्टी भएको उनको ठहर छ । देश विकासको नेतृत्त्व गर्ने भिजन अध्यक्ष केपी शर्मा ओलीसँग रहेको देखेकाले नै आफ्नो रोजाइमा एमाले परेको उनी सुनाउँछिन् । नयाँ शक्तिमा रहेर राजनीति गर्दाको अनुभव, केपी शर्मा ओली र डा. बाबुराम भट्टराईसँगको राजनीतिक अनुभव, नयाँ शक्तिबाट निस्क्रिय हुनुका कारण, चुनावको पूर्वसन्ध्यामा नै एमाले प्रवेश गर्नुका कारणलगायत विषयमा केन्द्रित रहेर करिष्मा मानन्धरसँग बाह्रखरीका नरेश फुयाँलले गरेको वार्तालाप :
० ० ०
पार्टी फेरेको फेर्‍यै गर्नुहुन्छ है ! किन ?
नयाँ शक्तिबाट म राजनीतिमा प्रवेश गरेको हुँ । त्यस बेला मलाई धेरै कुुरा थाहा थिएन । त्यहाँ रहँदा मैले मलाई परिपक्व बनाउने प्रयास गरेँ । एउटा निश्चित विन्दुमा पुगेपछि म निस्क्रिय भएँ । नयाँ शक्तिपछि मैले नेपालका कुन पार्टी कस्ता छन्, कार्यशैली कस्तो छ भनेर हेर्न थालेँ । कसको आइडोलोजी के हो र कसरी काम गरिरहेका छन् भनेर नियाल्ने मौका पनि पाएँ ।

म अघिल्लो दिन निर्णय गरेर भोलिपल्ट बिहान एमालेमा गएको होइन । करिब दुई वर्षदेखि म एमालेलाई नियालिरहेको थिएँ । छलफल गरिरहेको थिएँ । नयाँ शक्तिमा रहेका धेरै साथीहरू एमालेमा पहिला नै जानुभएको थियो । त्यही बेला उहाँहरूले मलाई पनि विचार गर्नुस् भन्नुभएको थियो । त्यो बेला म निस्क्रिय नै बस्छु भनेर बसेको थिएँ । त्यसपछि अहिलेसम्म मैले एमालेको कार्यशैली हेरेँ । मलाई त्यसयता धेरैले यो राइट टाइम हो एमालेमा आबद्ध हुने भन्ने सुझाव पनि दिनुभयो । त्यसैले म अहिले एमालेमा प्रवेश गरेको हुँ ।

के अर्थमा एमालेमा प्रवेश गर्ने राइट टाइम हो ? 
नयाँ शक्ति हामी आफैँले स्थापना गरेकाले नयाँ थियो । यो त इतिहास बोकेको पार्टी हो । ठूलो पार्टीमा आफ्नो स्थान बनाउन लड्नु, संघर्ष गर्नु नै पर्छ । छोटो जीवनमा धेरै काम गर्नुछ । पार्टीमा आबद्ध हुने नै भएपछि किन ढिलो गर्नु भन्ने हो । काम गर्न पनि समय चाहिन्छ, त्यसैले भएको समय सदुपयोग गरौँ भन्ने मेरो चाहना हो ।

राजनीतिमा किन लाग्नुभएको ? निश्चित उद्देश्य छ कि ? निश्चित पदमा पुग्न मात्रै हो ? 
देशमा धेरै कुरा मिलेको छैन । धेरै काम गर्न बाँकी छ । महिला भएका नाताले महिलाले अगुवाइ गर्नुपर्छ भन्ने पनि हो । दोस्रो कुरा, चलचित्र क्षेत्रको प्रतिनिधित्त्व हुन्छ भन्ने पनि हो । तेस्रो कारण, समाजसेवा हो । राजनीतिमार्फत समाजसेवा बृहत् रूपमा गर्न सकिन्छ भन्ने चाह हो । यसका लागि सही पार्टी चाहिन्थ्यो । त्यही भएर मैले एमाले रोजेको हुँ ।

तपाईंलाई राजनीतिमा लाग्नुपर्छ भनेर अभिप्रेरित गर्ने व्यक्ति को हो ?
मेरो आफ्नै चाहना हो । जब म अमेरिका गएर त्यहाँ केही समय बसेँ, युरोप गएर हेरेँ, त्यहाँ धेरै विकास भएको देखेँ । तर, हाम्रो देशमा किन विकास भएको छैन भन्ने लाग्थ्यो । हाम्रो देशमा वि.सं. २००६ सालदेखि नै राजनीतिक परिवर्तनका लागि क्रान्ति भए । ०४६ को जनआन्दोलन, माओवादी आन्दोलन, ०६२/०६६ सालमा भएका आन्दोलन सबै राजनीतिक परिवर्तनका लागि थिए । क्रान्तिले ध्वंस मात्रै गर्‍यो । निर्माणको काम गरेन । ध्वंस गर्नेहरूले पनि निर्माणको काम गर्न नसकेजस्तो लाग्छ ।

५१ प्रतिशत महिला भएको देशमा महिला नै पछि परेको अवस्था छ । त्यसैले राजनीतिक दलमार्फत अगाडि बढौँ भन्ने मन थियो । म त्यो काम गर्छु, जुन मेरो मनभित्रैबाट आउँछ । त्यसैले मेरो रोजाइले नै राजनीति गरेको हुँ ।

अहिले पनि धेरै महिला नेत्री हुनुहुन्छ । उहाँहरूले अपेक्षित काम गर्न सक्नु भएन भन्ने अनुभूत हुन्छ तपाईंलाई ? 
धेरैले राम्रो काम पनि गर्नुभएको छ । तर, पार्टी नियमले चल्छ । एउटा महिलाले भनेअनुसार पार्टी चल्दैन । महिला नेतृत्व रहेका ठाउँमा त होला, तर सबै ठाउँमा उसको विवेकले पार्टी चल्दैन । निर्णय हुँदैन । यसले पनि काम नभएको देखिएको होला । तर, सशक्त र क्षमतावान् महिला राजनीतिमा हुनुहुन्छ ।

निर्वाचनको पूर्वसन्ध्यामा एमालेमा प्रवेश गर्नुभयो, सांसद बन्ने चाह हो ?
यो भनिँदो रहेछ । मैले पहिलादेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको थिएँ । एमालेमा प्रवेश गरेर काम गर्न सकिन्छ कि भन्ने मेरो चाहना सुनाएको थिएँ । अहिले आएर उहाँले यो राइट टाइम हो भन्नुभयो । मेरा साथीहरूले पनि यही सुझाव दिनुभयो । मैले कसैसँग केही बार्गिनिङ गरेको छैन ।

निर्वाचनको पूर्वसन्ध्यामा त्यो पनि ठूलो पार्टीमा प्रवेश गर्दा केही न केही पदको आश्वास पाउनुभएको होला भन्ने आशंका धेरैको छ नि ?
यस विषयमा हाम्रो कुरा भएको छैन । तर, राजनीति भनेको कतिपय सन्दर्भमा पद पनि हो । यदि, राजनीतिमा कसैले पद पाएन भने ऊ निस्क्रिय हुन्छ । सोचेको र आँटेको काम गर्न सकिँदैन ।

तर पनि पदका लागि नै एउटा पार्टी छोडेर अर्को पार्टीमा गएको भने होइन । मेरो उद्देश्य समानता र विकास नै हो । विकास र समानतामा नयाँ शक्ति र एमालेको विचारमा धेरै फरक छैन । एमाले काम गरेर देखाइसकेको र आफूलाई जनतामाझ प्रमाणित गरिसकेको पार्टी भएकाले यो मेरो च्वाइस हो ।

समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यमध्ये एकका लागि एमाले नेतृत्वले आश्वासन दिएको भन्ने छ नि ?
तपाईंले एमाले नेतृत्त्व र नेताहरूलाई सोध्न सक्नुहुन्छ । पदका विषयमा कसैसँग कहिल्यै कुरा नै भएको छैन ।

एमाले नै रोज्नुको कारण ? 
पार्टी परिवर्तन गरेको भन्ने जुन कुरा आइरहेको छ, पूरै अपोजिट सिद्धान्त र विचार भएको पार्टीमा प्रवेश गरेको होइन । मैले नयाँ शक्तिमा केही सिक्न पाएँ । म यसका लागि तयार भइसकेको छैन भनेर निस्क्रिय भएको थिएँ । त्यो पार्टी अहिले पनि भएको भए सायद म अहिले त्यही पार्टीमा पनि हुनसक्थेँ ।

त्यसपछि एमाले नेताहरू तथा केपी शर्मा ओलीलाई भेटेपछि उहाँहरूका कुरा सुनेर म धेरै प्रभावित भएको छु, एमालेबाट । आफूलाई जहाँ विश्वास लाग्छ र राम्रो लाग्छ, मान्छे त्यहीँ जाने हो । मैले पनि त्यही गरेँ ।

तत्कालीन नयाँ शक्तिको संस्थापक केन्द्रीय सदस्य । आफैँले बनाएको पार्टी त छोड्नुभयो, एमाले देशकै ठूलो पार्टी, यसमा स्थापित हुन प्रतिस्पर्धा र संघर्ष त झन् धेरै होला ? 
नयाँ शक्तिमा डा. बाबुराम भट्टराई संयोजक हुनुहुन्थ्यो । अरू सबै हामी समान थियौँ । वास्तवमा त्यहाँ केन्द्रीय सदस्य भन्ने नै थिएन । महाधिवेशन नै भएन । त्यस बेला मलाई पार्टीमा जिम्मेवारी के, कति र कस्तो भन्नेबारे पनि त्यति धेरै जानकारी थिएन । अहिले बल्ल मलाई यसबारे जानकारी हुँदै छ । 

जुनसुकै पार्टी होस्, त्यसबाट राजनीति गर्न सजिलो छैन । राजनीति आफैँमा सहज छैन । मलाई सेलिब्रिटी भनेर फोटो खिच्नेहरूको भिड लाग्थ्यो । अहिले महिला कार्यकर्ता मात्रै छु । अर्थात्, जिरोबाट राजनीति सुरु गरेको छु । पक्कै पनि संघर्ष धेरै गर्नुपर्छ । सबैसँग घुलमिल हुनुपर्छ । सबैको दुःखसुख बुझ्नुपर्छ । म आउँदा पनि यही सोचेर यसका लागि तयार छु र गर्छु भनेर नै आएको हुँ । मलाई विश्वास छ, म गर्न सक्छु, मेरो उद्देश्य पूरा गर्न सक्छु ।  

नयाँ शक्ति पार्टी छोड्नुको कारण के थियो ? डा. बाबुराम भट्टराईसँग विवाद भएरै हो ?
उहाँसँग पार्टीमा सँगै काम गरेर मैले नेपालको भूगोल चिन्ने मौका पाएँ । जनजाति, आदिवासी, अल्पसंख्यक, महिलाका दुःख सुन्ने र देख्ने मौका पाएँ । पार्टी एकीकरण, गुट, फुटजस्ता धेरै कुरा हुँदो रहेछ । यसबारे पनि मलाई गहिरो गरी जानकारी थिएन । किन यो सबै कुरा भइरहेको छ भन्ने पनि थाहा थिएन । आफ्नो पार्टीको नीति तथा कार्यक्रम लागु गर्न सरकारमा जानुपर्छ, यसका लागि ठूलो दल हुनुपर्छ भन्ने पनि मलाई थाहा थिएन । पढेलेखेको मान्छे भए पनि वास्तवमा राजनीतिको गहिरो अध्ययन गरेको हुँदैन । जब म त्यो पार्टीमा आबद्ध भएँ, मैले यी कुराहरू बुझ्ने मौका पाएँ । कसले काम गरेको छ, कसले गरेको छैन बुझ्ने अवसर पाएँ । त्यही बुझेपछि मैले एमाले रोजेको हुँ । 
 
कोही डा. बाबुराम भट्टराई नै देश परिवर्तन गर्ने नेता हो भन्छन्, कोही उनीबाट केही काम हुँदैन भन्छन् । तपाईं डा. भट्टराईको नजिक रहेर काम गरेको व्यक्ति, वास्तवमा उहाँ कस्तो नेता हो ? 
उहाँ देशलाई चाहिने नेता हो । उहाँ देशले चिनिसकेको नेता हो । काठमाडौंको सडक फराकिलोे गर्नुभयो । उहाँको त्यो कामबाट धेरै प्रभावित हुनुभयो । म पनि प्रभाति भएँ । त्यो बेला म नयाँ शक्तिमा आबद्ध हुनुको कारण राजनीति गर्छु भन्दा पनि डा. भट्टराईलाई सहयोग गर्छु भन्ने थियो ।

तर, पछि मैले जति पनि एमालेलाई बुझेँ र केपी ओलीका कुरा सुनेँ, त्यसबाट म धेरै प्रभावित भएँ । उहाँको भिजन मन पर्‍यो । उहाँले गरेका काम धेरै रहेछन्, जुन मलाई थाहा थिएन । हाम्रोमा सरकारले अहिलेसम्म पूरा अवधि काम गर्न पाएका छैनन् । राजनीतिक स्थायित्त्व नहुनु पनि काम नहुनुको मुख्य कारण हो । जसरी हुन्छ सरकार ढाल्ने हाम्रो संस्कार छ । एउटै सरकारलाई पाँच वर्ष काम गर्न दियो भने कम्तीमा केही न केही काम हुन्छ । लाजले पनि काम गर्नुपर्ने हुन्छ । सत्ता र सरकारको चलखेलमा नलागेर काम गर्न दिए हुन्थ्यो भन्ने मेरो चाहना हो ।

म डा. भट्टराईमार्फत जनतामाझ पुग्न पाएँ । अहिले एमालेमार्फत जनतामाझ जान पाइरहेको छु । केपी ओलीलाई जनताले भित्री मनदेखि स्वागत गरेको मैले देखेँ । जसरी उहाँले जनतासँग आफ्ना कुरा राख्नुहुन्छ, त्यो देखेर मलाई लाग्छ, मैले जे निर्णय गरेँ ठिक गरेँ । मैले मेरा पाइला पछि सार्नु पर्दैन । सही ठाउँमा आइपुगेँ भन्ने लागेको छ ।

एमालेमा अध्यक्षको प्रशंसा नै पद पाउनुको मुख्य योग्यता हो भनेर आलोचना र टिप्पणी हुँदै आएको छ । पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष ओलीको खुलेरै प्रशंसा गर्नुभयो नि ?
प्रशंसा त्यसको गरिन्छ, जोबाट प्रभावित भइन्छ । म धेरैसँग मिल्छु, धेरैको तारिफ गरिरहेको हुन्छु । अहिले मैले नयाँ कुरा मैले देखिरहेको छु । यस्तो पनि हुँदो रहेछ भन्ने लागिरहेको छ । यसरी काम गर्नुहुँदो रहेछ भनेर छक्क परिरहेको छु । त्यसैले उहाँको तारिफ गरेको हुँ । उहाँ मात्रै होइन, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेलको पोजिटिभिटी पर्याप्त रहेछ जनता आफूतर्फ आकर्षित गर्न । किन उहाँहरूको पार्टी ठूलो भयो, एमालेको संगठन किन बलियो भयो ? उहाँहरूको काम गर्ने र जनतासम्म पुग्ने तौरतरिका नै बेग्लै छ ।

म सोमबार भैरहवा, बुटवल, लुम्बिनी गएँ । त्यहाँका कार्यकर्ताले हेपेको महसुस मैले गरिनँ । मनदेखि स्वागत गर्नुभयो । सिनेमा क्षेत्रबाट आएको नयाँ मान्छे भनेर फरक नजरले हेरेको मैले महसुस गर्नु परेन । एमाले किन ठूलो पार्टी भयो भन्ने मैले बल्ल अनुभूत गरेँ । तारिफ भन्दा पनि यो मानवता जोडिएर आउँछ । गाउँगाउँसम्म उहाँहरू कसरी जोडिनुभएको रहेछ भन्ने देखेर म छक्क परेँ ।

केपी ओली र बाबुराम भट्टराईको कसरी तुलना गर्नुहुन्छ ? 
म तुलनै गर्दिनँ । सबैको आ–आफ्नै विशेषता हुन्छ । म उहाँहरूको तुलना गर्न को हो र ? राजनीतिमा प्रवेश गरेको नयाँ व्यक्ति हुँ । चलचित्रमा काम गरेर राजनीतिमार्फत समाज सेवा गरौँ भनेर आएको छु । कसैको तुलना गर्नुपर्ने आवश्यकता छैन र गर्दिनँ पनि । डा. भट्टराईसँग आफ्नै खुबी छ भने केपी ओलीसँग आफ्नै खुबी र विशेषता छ ।

कुनै न कुनै राजनीतिक दलमा आबद्ध नभई बस्नै नसक्ने अवस्थामा करिष्मा पुगिन् भन्ने टिप्पणी भइरहेको सुनिरहनुभएको होला । के भन्नुहुन्छ ?
हरेक महिला लक्ष्मीका रूप हुन् । महिला राम्रो र सफल भएपछि उसको घर राम्रो हुन्छ । मेरो कुनै पनि कमजोरी छैन । म मेरो व्यवहार, आनीबानी, मेरो पारिवारिक जीवनमा स्ट्रङ महिला हुँ । तर, अब देशको सेवा गनुपर्छ भन्ने मेरो इच्छा हो । म आफू लागेको क्षेत्रमा डटेर काम गरेर आफूलाई प्रमाणित गर्ने मान्छे हुँ । सुरुमा सिनेमा क्षेत्रमा आउँदा ६ वटा चलचित्रमा मलाई एकैपटक निकालिएको हो । तर, म आत्तिनँ । आठ वर्षपछि प्रकाश थापाले मलाई आफैँ भन्नुभयो, तिमीले आफूलाई प्रमाणित गरेर देखायौ । सानो कुरा होला, तर म छोड्दिनँ । अहिले म राजनीतिमा छु । मलाई राजनीति गर्न उचित प्लेटफर्म चाहिएको थियो । म सही ठाउँमा आइपुगेको छु । यहाँ पनि म आफूलाई प्रमाणित गरेर देखाउनेछु । मेरो कुनै कमजोरी छैन, कमजोरी छ भने खोतलेर बाहिर ल्याए हुन्छ ।

तीन दशकभन्दा लामो समय चलचित्र क्षेत्रमा काम गर्नुभयो । चलचित्रमा राम्रो छवि पनि बनाउनुभयो । अहिले निरन्तर राजनीतिक दलतिर तपाईंका आँखा जानुको कारण ? 
राजनीति देशको मुख्य नीति हो । राजननीति नसुध्रिएसम्म केही पनि सुध्रिँदैन । होला, मैले कायपलट गर्न नसकूँला । तर, केही न केही हस्तक्षेप गर्न सक्छु । त्यही भएर म राजनीतिमा लागेको हुँ । मेरो पद के होला भोलिका दिनले बताउला । तर, म अवश्य ठाउँमा मेरा कुरा राख्छु । हस्तक्षेपकारी भूमिका निभाउँछु ।

म कहिले पनि रोकिने मान्छे होइन । म मर्ने दिनसम्म निरन्तर आफ्नो उद्देश्यमा निरन्तर लागिरहने मान्छे हुँ । काम गरिरहन खोज्ने, केही न केही गरिरहन खोज्ने मान्छे हुँ । चलचित्र क्षेत्रमा अहिले कामलाई सोचेजति निरन्तरता दिन नसके पनि राजनीति मेरो अर्को रुचि र रोजाइको क्षेत्र हो । राजनीति देशको मुख्य नीति हो । तर, यसलाई आज हामी डर्टी गेम भरिरहेका छौँ । यसलाई सुधार गर्ने हो । यसमा हस्तक्षेप गर्ने हो ।

कलाकारहरू सधैँ राजनीतिक दलले हामीलाई उपयोेग मात्रै गरे, हाम्रो पक्षमा आवाज उठाउँदैनन् भनेर गुनासो गरिरहेका हुन्छन् । तपाईंलाई फेरि पनि उपयोग हुने त होइन भन्ने डर लागेको छैन ?
यो उपयोग भन्ने शब्द नै यहाँ मिल्दैन । जनताका लागि उपयोग नै हुने हो । जनताको काम गर्दा उपयोग भएको भनिन्छ भने ठिक छ । केपी शर्मा ओलीका मंगलबार पाँचवटा कार्यक्रम थिए । म उहाँसँगै थिए । बिहान ब्रेकफास्ट खानुभएको उहाँले लञ्च खान पनि पाउनु भएन । जनताका लागि उहाँ प्रयोग भइरहनुभएको हो । जनताको काम गर्दा हरेक नेता–कार्यकर्ता प्रयोग हुने हो । हरेक नेता पार्टी बनाउन, पार्टी बनाएर चुनाव जित्न र चुनाव जितेर आफ्नो पार्टीका नीति तथा कार्यक्रममार्फत देश बनाउन प्रयोग हुने हो । उद्देश्य नै जनताको सेवा गर्ने हो भने जनताको काम सबैले गर्नुपर्छ । यसमा गुनासो गरेर हुँदैन ।

चलचित्र निर्माण गर्छु भनेर भन्नुभएको पनि थुप्रै वर्ष भयो । अब सम्भव छ ? 
सम्भव छ । तर, केरोना भएपछि एक्लै करोडौँ लगानी गरेर काम गर्ने समय छैन भन्ने निष्कर्षमा म पुगेँ । केही समय अगाडि सरोज खानल र मसहित मिलेर ‘बगान’ बनायौँ । यसलाई फिचर फिल्म बनाउने तयारी गरेका छौँ । सरोजसँग मैले यस विषयमा छलफल गरेँ । यसको नेतृत्व गर भनेको छु । यसमा थप छलफल हुँदै छ । चलचित्रबाट म टाढिएको छैन । यो समय सहकार्य गरेर काम गर्दा राम्रो होला भन्ने मेरो निष्कर्ष हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro