काठमाडौं । नेपाल एकीकरणका पिता पनि भनिने पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्यलाई एक बनाएका थिए । वि.सं. १७९९ मा गोरखाका राजा भएपछि उनले एकीकरण अभियान सुरु गरेका थिए ।
त्यसताका उनले प्रयोग गरेका ६ वटा बन्दुकहरू अहिले एकै ठाउँमा प्रदर्शनीमा राखिएको छ । ती ६ बन्दुक अब सर्वसाधारणले हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक ग्यालरीमा हेर्न पाउँछन् ।
सोही समयावधि १७९९ देखि १८५२ बीचको नेपाल एकीकरण, काठमाडौं उपत्यकामा विजय, पूर्वमा टिस्टा नदी र पश्चिममा कुमाउँ गढवालसम्म सिमाना विस्तार गर्न लडाइँ लड्दा प्रयोग भएका हातहतियारहरू सर्वसाधारणले हेर्न पाउने गरी गद्दी बैठक ग्यालरीमा राखिएको हो ।
गद्दी बैठकमा नेपाल राज्य एकीकरणदेखि गणतन्त्रसम्मका राजनीतिक घटनाक्रमको झल्को मिल्ने गरी ऐतिहासिक सामानहरू राखिएका छन् । पहिलो तलाका तीन ग्यालरी राजनीतिक घटनाक्रमको झल्को दिने गरी ऐतिहासिक, पुरातात्त्विक महत्वका वस्तु तथा तस्बिरले सजिएको छ । सोही गद्दीमा पृथ्वीनारायण शाहले युद्ध लड्दा प्रयोग गरिएका भाला, तरबार, छडी पनि राखिएका छन् ।
पृथ्वीनारायणले लडाइँमा प्रयोग गरेका ६ बन्दुक
पृथ्वीनारायण शाहले एकीकरणका क्रममा लडाइँमा प्रयोग गरेका ६ वटा बन्दुकहरू पनि त्यहीँ राखिएका छन् ।
सुन्दरीजलमा बनेको ‘मार्टिनी–हेनरी’ मोडेलको सुन्दरी राइफल ग्यालरीमा सजाइएको छ । जसको ग्रीपको माथिल्लो भागमा नेपाली लिपिमा ‘श्री ३ चन्द्रशमशेर जंगले’ लेखिएको छ भने लिभरको तत्लो भागमा ‘सुन्दरी राइफल’ लेखिएको छ । यो राइफल चन्द्रशमशेर प्रधानमन्त्री हुँदा बनेको बताइएको छ ।
यस्तै, पृथ्वीनारायणले प्रयोग गरेको अर्को बन्दुक छ, जसको सहायतामा उनले बाइसी चौबिसी राज्य एकीकरण गरेका थिए । सोही समयमा शाहले बन्दुकसँगै पत्थ भालाको प्रयोग गरेको पाइएको छ । सो सामग्री पनि प्रदर्शनीमा राखिएको छ ।
पृथ्वीनारायणले प्रयोग गरेको अर्को बन्दुक हो, ब्रिटिस ढाँचामा बनेको स्नाइडर राइफल । जसको ब्यारेलमा नेपाली लिपिमा ‘मिस्त्री याकुवरी’ लेखिएको छ । उक्त बन्दुक पनि नेपालमै बनेको हो ।
पृथ्वीनारायणले प्रयोग गरेका ६ मध्ये अर्कोे डबल ब्यारेल फ्लिन्टलक बन्दुक हो । उनले लडाइँको बेलामा नेपाली रिसल्ला क्याभलरी बन्दुकको पनि प्रयोग गरेका थिए । जसको ग्रीपको माथिल्लो भागमा ‘नं. २९’ लेखिएको छ ।
विन्चेस्टर मोडल १८८६ राइफल पनि पृथ्वीनारायणले लडाइँमा प्रयोग गरेको प्रमुख हतियारमध्यको एक हो । जसको ब्यारेलमा अंग्रेजी लिपिमा ‘विन्चेस्टर रिपिटिङ आम्र्स कं. न्यु हेभन कोन यु. एस. ए.’ लेखिएको छ । उक्त बन्दुकको ग्रीपको माथिल्लो भागमा ‘मोडेल १८८६’ लेखिएको छ ।
पृथ्वीनारायणले त्यति बेला भाला तरबार र गुप्तलौरीको पनि प्रयोग गरेका थिए । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले यी हातहतियार अब सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको जानकारी दिए ।
ग्यालरीमा विभिन्न राजाहरूका तस्बिर पनि राखिएको छ । वि.सं. १६१६ मा राजा द्रव्य शाहद्वारा गोरखामा शाह वंशको स्थापना भएको थियो । पृथ्वीनारायणले आफू राजा भएपछि एकीकरण अभियान चलाएका थिए । १९औँ शताब्दीको उत्तरार्द्धमा हिमालयको छेउछाउका राज्य एकीकरण भई शक्तिशाली राज्य स्थापना भएको थियो । ती र त्यसयताका राजनीतिक घटनाक्रमसहितको नेपालको इतिहास झल्काउने सामग्री ग्यालरीमा राखिएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६५ मा गद्दी बैठक बनाउन लगाएका थिए । ०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो । एक अमेरिकी कम्पनी र संस्कृति सम्पदा कोषको सात लाख अमेरिकी डलर सहयोगमा पुनर्निर्माण गरिएको हो । उक्त गद्दी बैठकको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्घाटन गरे ।