काठमाडौं । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवालका विषयलाई लिएर आफू नेतृत्वको सरकार ढलेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महसुस गरे, आफ्नो साइज घटेको । उनले सार्वजनिक कार्यक्रममा नै भने– सरकारबाट हटेपछि मेरो साइज पनि घट्यो । राजीनामा दिएर सत्ताको बागडोर छाडेर गल्ती गरेँ ।
राजेन्द्र थापालाई गीत फुर्यो– बेहोसीपछि त होसमा आउँदा क्या दामी भो... । एक दशकभन्दा अगाडि गीत लेखेको प्रसंग सुनाउँदै गीतकार थापा भन्छन्, “सत्तामा हुँदा मान्छे बेहोसी अवस्थामा हुन्छन् । जब सत्ताबाहिर आउँछन्, तब झसंग हुन्छन् र होसमा फर्किन्छन् । तत्कालीन राजा ज्ञानेन्द्र हुन् अथवा केपी ओली भएको त्यही त हो ।”
प्रचण्ड सत्ताबाट बाहिरिएपछि बल्ल होसमा आएको थिममा उनले ‘क्या दामी भो...’ गीत लेखे । उनले सत्तालाई रक्सीको विम्ब बनाइदिए । सत्ताको तुजुकमा गरिने निर्णयलाई रक्सीको नशामा गरिने क्रियाकलापसँग तुलना गरिदिए । लेखन आखिर शिल्प न हो । उनले शिल्पमा शब्द खिपे । देख्नेले पो क्या दामी भो भन्छ, होसमा आउँदा असर त गर्छ । त्यसैलाई उनले गीतमा उतारे ।
माधवकुमार नेपाल प्रधानमन्त्री भए । तर, हल्ला आयो– यसमा केपी ओली र सोनिया गान्धीको हात छ । काम एकातिरबाट एउटाले गर्ने, दोष वा जस अर्कैलाई जाने नेपाली प्रवृत्तिलाई लक्षित गर्दै थापाले लेखे– पिउने म पिलाउनेको क्या बदनामी भो... ।
११ वर्ष बित्यो । राजनीतिक सरगर्मी उस्तै रह्यो । बरु, बढेर गयो । तर, घटेन । पार्टीहरू जोडिने र फुट्ने क्रम रहिरह्यो । एकीकृत भएर एउटै भएका राजनीतिक दल छिन्नभिन्न भए । एउटै पार्टीमा रहेका केपी ओली, माधव नेपाल र प्रचण्ड फरक कित्तामा उभिए । प्रचण्ड र नेपाल एक ठाउँमा उभिँदा ओली अर्को कित्तामा पुगे । ओली प्रचण्ड–माधवविरुद्ध र प्रचण्ड–माधव ओलीविरुद्ध खनिए । एकले अर्कोलाई सत्तोसराप गरे ।
यस्तै राजनीतिक किचलो चलिरहेका बेला ११ वर्षपछि गएको साउनको सोमबारे औँसीका दिन राजेन्द्रले लेखे– कुरो दामी हो... । अति धेरै भएपछि केही पनि राम्रो हुँदैन भन्ने गीतको थिम हो ।
‘धेरै रक्सी भएपछि लिभर खराब हुन्छ, अचाक्ली मायाले कलेजी प्वाल पार्ने रै’छ’ भन्ने शब्दमार्फत ओली तथा प्रचण्ड–माधवले आवश्यकताभन्दा धेरै शक्तिको अभ्यास गर्न खोज्दा समस्या आएको उनको निष्कर्ष हो । यसैलाई अहिले आएर ‘थाहा भयो’ भन्दै गीतमा उतारे । भलै, सबैले यसलाई बुझ्छन् वा बुझ्दैनन्, यही अर्थ लगाउँछन् वा लगाउँदैनन् ।
जात नमिलेर हत्या भयो भनिरहेका बेला उनले जात मिल्दैमा सबै माया सफल र सबै जोडी खुसी हुँदैनन् भन्ने सन्देश गीतमा सुटुक्क घुसाएका छन् ।
यी र यस्ता थुप्रै कुरा राजेन्द्रले छोटा–छोटा दुई–दुई लाइनमा उठाएका छन् । ‘अचाक्ली खर्चले खल्ती प्वाल पर्छ’ भनेका उनी यसलाई आफूले संघीयताका नाममा ठूलो खर्च हुँदा देशको अर्थतन्त्र नै प्वाल परेको अर्थमा लेखेको बताउँछन् । उनले जति भन्नुपर्ने हो, अप्रत्यक्ष रूपमा भनेका छन् । पण्डित्याइँ त छाटेका छन् अप्रत्यक्ष रूपमा ।
पछिल्लो समय गीतमा विम्ब र प्रतीकभन्दा पनि हाकाहाकी लेख्ने/देखाउने (भिडियो) चलन छ । केही हप्ता अगाडि मात्रै आएको प्रकाश सपूतको गीत ‘पिर’ होस् वा तीन वर्ष अगाडिको पशुपति शर्माको गीत ‘लुटन सके लुट...’ होस् । उनीहरूले हाकाहाकी भन्दिए । त्यसको अर्थ के हो कसैले लगाउनै परेन । तर, राजेन्द्र भने साहित्यमा विम्ब र प्रतीकको प्रयोग गर्न रुचाउँछन् ।
साहित्य व्यक्तिले अर्थ लगाएर बुझ्ने खालको हुनुपर्ने उनको धारणा छ । “कसैले सिधै अनुभूत नगर्ने गरी सामाजिक तथा राजनीतिक विषयमा गीत बनाएको हुँ,” उनी भन्छन् । गीतमार्फत राजनीति गर्नु हुन्न भन्ने आफ्नो धारणा रहेको उनी सुनाउँछन् ।
“यो गीतमा राजनीतिक विषय हुँदाहुँदै पनि राजनीतिको गन्ध छैन । सोसल फ्याक्टर छ । गीतले सोसल फ्याक्टरमा जाने हो कि यसले कसैको पक्ष वा विपक्ष लिने भन्ने प्रश्न पनि उठ्न सक्छ । यसलाई बहसको विषय बनाउन पनि सकिन्छ,” उनी भन्छन् । गीतले राजनीति होइन, सामाजिक कथा भन्नुपर्नेमा उनको जोड छ ।
उनले राजनीतिक विषयलाई विम्ब प्रयोग गरेर गीत लेखे । यसका गायक शिव परियारले गीतकारकै दिमागले बुझे ? गीतलाई सुन्ने व्यक्तिले फरक–फरक रूपले बुझ्न सक्ने राजेन्द्रको धारणामा शिव सहमत सुनिए ।
“उहाँ सेनाको उच्च ओहोदामा पुगेको व्यक्ति । जिल्ला र क्षेत्र–क्षेत्र पुगेर कमान्ड सम्हालेको व्यक्ति । देश–दुनियाँ घुमेर, बुझेर राजनीतिका रौँ चिरा केलाउन मान्छे, राजनीतिको विषयलाई सामाजिक विषयसँग जोडेर लेख्नुभयो होला । तर, मैले आफ्नै हिसाबले बुझेँ,” शिव भन्छन्, “उहाँको आफ्नै प्रकारको लजिक हुन्छ । उहाँको बुझाइ र मेरो बुझाइ मिल्नुपर्छ भन्ने छैन । मैले बुझेको र सोचेको नै दर्शक–स्रोताले पनि बुझ्नुपर्छ भन्ने मलाई लाग्दैन ।”
गीतमा रहेका रक्सी र प्वाल भन्ने शब्द शिवलाई मन परेन । उनले संगीतकारमार्फत असहमति जनाए । तर, गीतकारले आफ्नै तर्क पेस गरे । अन्ततः शिव यिनै शब्द राखेर गीत गाउन तयार भए । उनी भन्छन्, “यी शब्द नराखेको भए अझै राम्रो सुनिन्थ्यो कि भन्ने मेरो चाहना मात्रै थियो ।”
तर, राजेन्द्रकै ‘क्या दामी भो...’ गीत नै शिवको सांगीतिक जीवनमा ‘टर्निङ पोइन्ट’ हो । यो गुन उनी कसरी बिर्सिन सक्थे र ? सक्दैनन् । उनी भन्छन्, “करोडौँ रुपैयाँमा पनि म उहाँको यो गीतको गुन तिर्न सक्दिनँ ।”
‘अति भयो भने खति हुन्छ’ उखानै छ । त्यही भएर त राजेन्द्रले गीतमा ‘अचाक्ली’ भन्ने शक्द छनोट गरे । शिव यसमा ‘अति’ शब्द नै उचित हुन्थ्यो भन्ने धारणा राख्छन् । व्यक्तिअनुसार फरक–फरक धारणा स्वाभाविक हो । त्यसमा पनि शिव ‘चुजी’ छन् । उनी छानेर मात्रै शब्द र संगीतमा आफूलाई समाहित गर्छन् ।
उनी हम्मेसी कलेक्सन एल्मबमा गाउँदैनन् । अफर नै नआउने हो र ? होइन । धेरै आउँछ । तर, उनी मन छुने शब्द आयो भने गाउँछन् । मन चसक्क हुने शब्द तथा संगीत रहेछ भने पन्छिछन् । यसैमा उनले कति साथीभाइ गुमाएका छन् । कति शुभेच्छुक र शुभचिन्तक गुमाएका छन् । ‘तँ ठूलो भइस्, घमन्डी भइस्’ भन्ने आरोप सहेका छन् । पाखुरा सुर्कासुर्की हुने अवस्था आएको उनलाई सम्झना छ । तर, जस्तोसुकै होस्, जोसुकै होस् शिव मनले खाएको सिर्जना मात्रै गाउँछन् ।
‘कुरो दामी हो...’ सुरुमा डोयट थियो । शिवलाई चित्त बुझेन, एक्लै रेकर्ड गराए ।
“पहिलाका मेरा गीतमार्फत रक्सी जीवनको अभिन्न अंग हो भनेर बुझ्नेहरू पनि धेरै हुनुहुन्छ होला । तर, यो गीतले अमृत नै किन नहोस् धेरै भयो भने त्यो विषमा बदिन्छ भन्ने सन्देश दिन्छ भनेर मैले यसलाई बुझेको छु,” शिव प्रष्ट्याउँछन्, “मैले गाएका गीतले रक्सी खान अभिप्रेरित गर्यो कि भन्ने ठाउँ रह्यो भने हामीले उठान गरेको विषय हामीले नै निदान गर्नुपर्छ भनेर रक्सी धेरै खानु हुँदैन भन्ने सन्देशका लागि यो गीत आएको हो ।”
रक्सी खानुपर्छ नभने पनि त्यसका लागि आफ्नो गीतले माहोल सिर्जना गरेको भन्ने प्रश्न कतै कसैसँग हुन पनि सक्छ भन्दै उनी भन्छन्, “यदि, यस्तो प्रश्न कसैको मनमा उठेको छ भने धेरै खायो भने यसले शरीरलाई बेफाइदा गर्छ भनेर पनि गीतमार्फत नै भन्ने प्रयास हो यो ।”