site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्कालीन राजपाले जितेको जनकपुरमा यी हुन् आकांक्षी

जनकपुरधाम । स्थानीय तह निर्वाचनको मिति नजिकिँदो छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि दलहरूले प्रचारप्रसार थालिसकेका छन् । दलहरूले उमेदवार छनोटबारे पनि छलफल गरिरहेका छन् । टिकट पाउन आकांक्षीहरूको दौडधुप जारी छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखका लागि एक दर्जनभन्दा बढी आकांक्षीले आन्तरिक तयारी गरिरहेका छन् । आकांक्षीहरूको तयारीसँगै चुनावी आकलन पनि सुरु भएको छ ।

एक्लै मेयर/उपमेयरसहित १२ वडाध्यक्ष जितेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) विलीन भइसकेको छ । तत्कालीन संघीय समाजवादी फोरम र राजपाबीच एकता भई जनता समाजवादी पार्टी (जसपा) बनेको थियो ।

स्थानीय निर्वाचनको डेढ वर्षपछि भएको एकता जनप्रतिनिधिको कार्यकाल नसकिँदै विभाजन भइसकेको छ । पूर्वराजपाका नेताहरू जसपाबाट अलग्गिएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरी चुनावी प्रतिस्पर्धामा छन् ।

ठाकुरकै नेतृत्वको तत्कालीन राजपाबाट नगरप्रमुखमा निर्वाचित लालकिशोर साह अहिले जसपामा छन् । ०७४ को निर्वाचनमा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साहभन्दा दोब्बर बढी मतले विजय भएका थिए । साह नहुँदा लोसपालाई असर गर्ने नेताहरूको विश्लेषण छ । यद्यपि, उपप्रमुख रीता झासहित १२ निर्वाचित वडाध्यक्षहरू लोसपामै छन् । तर पनि लोसपा कमजोर रहेको विश्लेषण गरिन्छ ।

जनकपुरका केही परिचित अनुहारहरू लोसपाबाट पनि अलग्गिएर करिब एक महिनाअगाडि अर्को पार्टी गठन गरिसकेका छन् । पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल र संविधानसभा सदस्य डा. विजय सिंह लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन् ।

यो अवस्थामा लोसपा निकै कमजोर रहेको धेरैको बुझाइ छ । लोसपाबाट यसपालि चार आकांक्षीले टिकटका लागि ‘लबिङ’ गरिरहेका छन् । उपप्रमुख झा नगरप्रमुख साहको नेतृत्वमा काम गर्न नसकेको भन्दै अब मेयर बनेर जनतालाई दिएको वाचा पूरा गर्ने बताउँछिन् ।

“महिला इमानदार हुन्छन् । अवसर दिनोस् काम गरेर देखाउँछु,” उनले भनिन् ।

जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साहले पनि मेयरकै लागि तयारी गरिरहेका छन् । उनले यसपालि मेयरमा टिकट नपाए ‘बागी’ हुने सम्भावना छ । लोसपाका नगर अध्यक्ष मनोज चौधरी पनि मेयरकै लागि लागिपरेका छन् । प्रदेशसभा सदस्य परमेश्वर साह पनि मेयरका आकांक्षी हुन् ।

कांग्रेसमा तीन
जनकपुरधाम उपमहानगरको मेयरका लागि नेपाली कांग्रेसबाट तीनजनाले उमेदवार बन्ने इच्छा देखाएका छन् । यसअघिका प्रत्यासी मनोज साह अहिले पार्टीको नगर सभापति छन् । उनले आफ्नो दाबी कायमै राखेका छन् ।

कांग्रेसका नगर उपसभापति राकेशविक्रम साहले पनि परिवर्तनका लागि युवाले अवसर पाउनुपर्ने भन्दै आफूलाई प्रस्तुत गरिरहेका छन् । “जनकपुरमा फ्रेस युवा अनुहारले मात्रै परिवर्तन ल्याउन सक्छ,” उनले भने ।

राकेश ०७४ को निर्वाचनमा तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीनिकट थिए । त्यति बेला स्वतन्त्रबाट मेयरमा उठेर सम्मानजनक मत ल्याएकाले आफूले कांग्रेसबाट टिकट पाउनुपर्ने उनको भनाइ छ ।

पूर्वमेयर बजरंगप्रसाद साह पनि कांग्रेसबाटै मेयरका आकांक्षी हुन् । उनले टिकट नपाए दल त्याग गर्न सक्ने चर्चा छ ।

जसपामा को ?
जसपाबाट मेयरका आकांक्षीमध्ये वर्तमान नगरप्रमुख लालकिशोर साह नै बलियो दाबेदार देखिएका छन् । पुनः मेयरमै उठ्ने सर्तमा उनी जसपा प्रवेश गरेको बुझिएको छ ।

जनकपुरधामको मेयरका लागि जसपाका नगर अध्यक्ष विष्णुदेव साहले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । यद्यपि, पार्टीको निर्णयानुसार अघि बढ्ने उनको भनाइ छ ।

“म विगतमा पनि मेयर पदको उमेदवार थिएँ । त्यसकारण जसपाबाट मेरो नाम पहिलो नम्बरमा छ,” उनी भन्छन्, “तर, पार्टीले जसलाई टिकट दिन्छ स्वीकार गर्छु ।”

जसपाबाटै बजरंग यादव पनि मेयरको आकांक्षी छन् ।

एमालेबाट दुई आकांक्षी
नेकपा (एमाले)बाट मेयरका लागि शिवशंकर साह र अशोक चौधरी आकांक्षी देखिएका छन् । ०७४ मा एमाले तेस्रो स्थानमा थियो । यद्यपि, मत संख्या निकै कम थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीबाट हालसम्म कोही पनि आकांक्षी खुलेका छैनन् । यी दल अर्को दलका उमेदवारलाई समर्थन गर्ने मनिस्थितिमा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro