काठमाडौं । क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)सँग साझेदारी गरेको छ ।
पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानका तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारीपत्रमा हस्ताक्षर गरे ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरूमार्फत महिलालाई पर्यटन उद्यम सञ्चालन गर्न तथा डिजिटल माध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले सहकार्य महत्त्वपूर्ण हुने बताउँदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा सावित हुने बताए ।
यस्तै, टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिँदै महिला व्यवसायीको प्रवर्द्धनमा बैंकसँग हातेमालो गर्दै सँगै अघि बढ्ने बताइन् ।
कार्यक्रममा बैंकले केही महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरेको थियो ।