विराटनगर । शिक्षा विकास मावि लेटाङ मोरङका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गरे ।
विद्यार्थी र अभिभावक विद्यालयमा जम्मा भएर एउटै माग गरेका थिए– आरोपित शिक्षकले राजीनामा गर्नुपर्ने र उनलाई प्रहरीको जिम्मा लगाउनुपर्ने ।
तर आरोपित शिक्षक राजीनामा दिन तयार भएनन् । विद्यालयको कक्षा कोठामा रहेका शिक्षकमाथि आक्रोशित भीड जाइलाग्ने तयारीमा थियो । त्यहाँ रहेका केही संख्याका प्रहरीले उक्त भीड नियन्त्रण गर्न सकेका थिएनन् ।
उनीहरुले भीड नियन्त्रण गर्न नसकेपछि विराटनगरबाट थप सुरक्षा माग गरिएको थियो ।
दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि विराटनगरबाट गणको टोली लेटाङ पुगेको थियो ।
विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्छ । साँझ ७ बजे आसपासको समयमा उर्मिला श्रेष्ठसहितको प्रहरी टोली घटनास्थल पुग्यो ।
स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार ग¥यो । स्थानीयमध्ये केही घरेलु हतियार पनि बोकेर आएका थिए ।
घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने,“घरेलु हतियार, सिसाका बोतल हामीमाथि बर्सिए । प्रहरीलाई नै ज्यान जोगाउन मुस्किल भयो ।”
दोहरो झडपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घाइते भए । अध्यारो हुँदै गएपछि भीड आक्रोसित हुँदै गयो । प्रहरीलाई नै लखेट्न थाल्यो । लखेट्ने क्रममा उर्मिला एक्लिइन् । उनीमाथि स्थानीयले घरेलु हतियार र सीसा प्रहार गरेको प्रहरीले जनाएको छ ।
एकजना स्थानीय वीरबहादुर तामाङका अनुसार आरोपित शिक्षकमाथि यसअघि पनि आरोप लागेको थियो । तर उनले राजीनामा गर्न नमानेपछि यो अवस्था उत्पन्न भएको तामाङ बताउँछन् ।
“विद्यार्थीको घरमै पुगेर अभद्र व्यवहार गरेको पाइयो । विद्यार्थी र अभिभावकले १० बजेतिर छलफलमा बोलाएका थिए शिक्षकलाई । प्रहरीलाई जिम्मा लगाउने र राजीनामा गर्न लगाउने उनीहरुको माग थियो । तर शिक्षकले राजीनामा गर्दिनँ भनेर प्रतिवाद गरेछन् । त्यसपछि झगडा सुरु भएछ । अफिसमा विद्यार्थीको भीड लागेको थियो । हेर्दाहेर्दै ढुंगा मुढा भयो । शिक्षकलाई कोठामा राखे । तर प्रहरीलाई लेखेटी लखेटी कुटेका थिए । बाहिरबाट आएको समूह प्रहरीमाथि जाइलागेको पाइयो ।”