काठमाडौं । उमा थापामगर उमेरले ६० पुगिन् । माघको अन्तिम साता भेट भएकी उनी चिसोले हो कि काठमाडौंको धुलो धुवाँले सुकेको धोत्रो स्वरमा आएका ग्राहकलाई सागको मूल्य बताउँदै थिइन् ।
पन्ध्र वर्षदेखि विजयचोकमा साग बेच्दै आएकी उनको दिनचर्या बिहान दुई घण्टा र साँझ साढे ४ घण्टा साग बेचेरै बित्छ ।
दोलखाबाट ३१ वर्षअघि काठमाडौं आएकी उमा छोरा बुहारी, नातिनातिना र पतिसँग बस्छिन् । आराम गर्ने उमेरमा तरकारी बेचिरहेकी उनी भन्छिन्, “खानु परेन ? तरकारी नबेचे कसरी पेट पाल्ने ? महँगी कस्तो बढेको छ ।”
उनी राय चम्सुर, पालुङ्गो, हरियो लसुन, हरियो प्याज, सुपको साग बेच्छिन् । भन्छिन्, “सिजनअनुसार हुन्छ । जहिले जे पाउँछ । त्यही बेच्छु ।”
पहिले उनी ज्यामी काम गर्थिन् । पछि कालीमाटीबाट ल्याएर फलफूल बेच्न थालिन् । त्यसपछि भने साग बेचिरहेकी छन् । “काम गर्न के को लाज । यही कामले खान लाउन पुगेको छ । छोरा बुहारीसँग हात पसार्नु परेको छैन,” गौरवका साथ उनले भनिन् ।
००० ०००
यसैगरी भक्तपुरबाट रिता क्षेत्री डोकोमा साग ल्याई पुरानो बानेश्वरमा बेच्न आउँछिन् । दिनभरि आफैँले खेतबाट टिपेर ल्याएर साग बेच्ने गरेको उनी सुनाउछिन् । “खेत त अरूकै हो । पैसा तिरेर साग ल्याउने हो । आफैँ टिप्ने, मुठ्ठा बनाउने अनि बेच्ने,” उनले सुनाइन् ।
उनीसँगै अरू तीनजना भक्तपुरबाटै साग ल्याएर हरेक साँझ पुरानो बानेश्वरमा बेच्न आउँछन् ।
रिताका श्रीमान बैंकमा सुरक्षाकर्मीको काम गर्छन् । मैतीदेवीमा भाडामा बस्ने उनी भन्छिन्, “छ वर्ष भयो साग बेच्न थालेको । दुवैको काम भएकाले जेनतेन छोराछोरीलाई पढाउन सकेका छौँ । यो कामले धेरै आड दिएको छ, मेरो परिवारलाई ।”
रायको सागको मूल्य रु २५ पर्छ भने पालुंगो मुठ्ठाको रु ३० पर्छ । धेरैले साग किन्दा ग्राहकहरू मोलमोलाइ गर्छन् । तर उनलाई तरकारीमा छुट मागेको त्यति मन पर्दैन । “हामी दिनभरि खेतमा गएर आफैँ उखेलेर साग ल्याउछौँ । गाडी भाडा आफैँ तिर्नुपर्छ । त्यो श्रमको मूल्य त मागेका पनि छैनौँ,” उनले भनिन् ।
यसरी सडकमा साग बेच्दा प्रहरीबाट कहिलेकाहीँ उनीहरूले समस्या पनि भोग्नुपर्छ । “लकडाउन हुँदा पुलिसले देख्ला भनेर लुकेर भित्र गल्लीमा बेच्थेँ,” उमाले विगत सम्झिँदै भनिन्, “हामी दुई घण्टा लगाएर हिँडेरै जान्थ्यौँ । दिनभरी साग टिप्यो, साँझ गाडीले छोडीदिन्थ्यो । अनि डोकोमा बोकेर गल्ली गल्लीमा बेच्थेँ । अहिले कोरोना नभएर सजिलो भएको छ ।”
००० ०००
त्रिपुरेश्वर बस्ने शान्ति तामाङ थापाथलीमा साँझ साग बेच्न आउछिन् । त्यही साग बेचेर उनले छोरा र छोरीलाई विद्यालय पढाउन सकेकी छन् । “म त फुटपाथमै बसेर साग बेच्छु । अलिकति भएपनि कमाइ हुन्छ । घर खर्च चलाउन पुगेको छ ।”
कोरोनाकालमा उनले पनि तरकारी बेच्न सास्ती खेपिन् । “पहिला त अलि डर थियो । अहिले भने सहज भएको छ,” उनले भनिन् ।
राष्ट्रिय श्रमशक्ति सर्वेक्षण २०१७/०१८ अनुसार नेपालमा ९०.५ प्रतिशत महिला असंगठित क्षेत्रमा कार्यरत छन् । केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार अनौपचारिक अर्थतन्त्रको आकार ४९.९ प्रतिशत रहेको छ । अनौपचारिक व्यवसाय र श्रममा आश्रित उमा, रिता र शान्ति प्रतिनिधि पात्र हुन् ।
फुटपाथमा सामान बेचेर जीविकोपार्जन गरिरहेका यी महिलाहरूले कुनै न कुनै हिसाबले देशको अर्थतन्त्रमा योगदान पुर्याइरहेका छन् । तर न त यी महिलाको संख्या कतै उल्लेख छ, न त कतै कसैले सुरक्षित तवरले यो काम गर्न पाएका छन् ।
उनीहरूले व्यापार गर्ने क्रममा भोग्दै आएका समस्याको लेखाजोखा कसैसँग छैन । आर्थिक संकट आउँदासमेत उनीहरूले सरकारबाट कुनै किसिमको राहत पाउन सकेनन् । तैपनि यी महिलाहरूले काम गर्न भने छोडेका छैनन् ।