विश्वका प्रायः सबै विकसित राष्ट्रमा गल्फ खेल अति लोकप्रिय मानिन्छ । व्यावसायिक खेलाडीले यो खेलमा संसारकै सबैभन्दा धेरै पुरस्कार राशि पनि हात पार्छन् । तथापि, यस खेलका जानकार र यो खेलको महिमा बुझ्नेहरूले भने गल्फलाई एक खेल नभनी खुला चौरको बोर्ड रुम भन्छन् । अर्थात्, संसारका महत्वपूर्ण राजनीतिक र आर्थिक निर्णयहरू गल्फ खेलको दौरानमै सकिन्छन् भन्ने भनाई छ । यसको मुख्य कारण के हो भने अत्यन्त ठूला राजनीतिक नेता र ठूला उद्यमीहरू धेरै घण्टासम्म एक आपसमा अन्तरङ्ग छलफल गर्नसक्ने स्थान नै गल्फ कोर्स मात्रै हो । त्यसैले बाह्रखरीले गल्फ र आर्थिक वृद्धिलाई गाँसेर प्रदेश १ मा २०७८ सालको उत्तराद्र्धमा बृहत् कार्यक्रम ल्याउने साहस गरेको हो । एनसेल बाह्रखरी गल्फको पाँचौं संस्करणको मूल नारा ‘गल्फ र वृद्धि’ ‘समृद्धिको बाटोमा प्रदेश १’ भनेका छौं ।
आजभन्दा ६ वर्षअघि अर्थात् २०७२ साल फागुन ७ गते स्थापित भएको बाह्रखरी अहिले नेपालको स्थापित डिजिटल पत्रिका बनिसकेको छ । यस्तो पत्रिकाले गल्फ खेलको समुन्नतिका लागि किन यति धेरै समय, श्रम र स्रोत लगानी गर्दैछ भन्ने प्रश्न धेरैको मनमा अनायासनै उठन सक्छ । ‘नेपालको पत्रिकाले त गाउँ घरमा खेलिने खेल जस्तो भलिबल, कबड्डी, क्रिकेट, फुटबल आदिको बढोत्तरीका लागि योगदान गर्नुपर्नेमा किन धनीहरूले मात्र खेल्नसक्ने यस्तो खेलमा लागेको होला,’ भन्ने चासो धेरैमा देखिएको छ । विराटनगरमा फागुन १४ गते आयोजित ‘इकोनोमिक समिट’ तथा इटहरीमा फागुन १३ गते आयोजित ‘योङ आन्टरप्रेन्युअर्स कन्क्लेभ’ ले गल्फलाई अर्थतन्त्रसँग किन जोड्नु पर्छ र यसले प्रदेश १ को समृद्धिको अभियानलाई कसरी सहयोग पुर्याउँछ भन्ने स्पष्ट पार्ने विश्वास छ ।
आर्थिक उदारिकरणको नीति अवलम्बन गरेको देशमा निजी क्षेत्र सबल र सक्रिय हुनु पर्दछ । नेपाली समाजको ठूलो अंशले अर्थ उपार्जन गरिने कार्यलाई सकारात्मक ढंगले हेर्दैन । कसैले पनि समाजमा आर्थिक समृद्धि हासिल गर्योभने उसले कति मेहनत गर्यो, कति जोखिम मोल्यो र कसरी बैंकको ऋणको भार बोकेर केही रकम नाफा गर्यो र अझ सो क्रममा कति जनालाई रोजगारी दिलायो भनेर कसैले वास्ता गर्दैन । यस्तो सोच राख्ने व्यक्तिले उद्यमीलाई श्रमको शोषण गर्यो, राज्यको राजश्व दोहन गर्यो र गलत तरिकाले मुनाफाखोरी गर्यो भन्ने आरोप लगाउने र अरुमा पनि भ्रम सिर्जना गर्ने काम गर्दछन् ।
समाजको नकारात्मक प्रवृतिप्रति जानकार हुँदा हुँदै पनि अधिकांश निजी क्षेत्र यसको प्रतिकार गर्न चाहँदैन किनभने त्यस्तो प्रतिकारलाई नागरिक समाज र मिडियाले खुल्ला हृदयले स्वीकार गर्न सक्दैनन् भन्ने सोच हावी छ । यो सोच आफैँमा गलत पनि होइन किनभने अहिलेको वास्तविकता पनि त्यही हो । यो वास्तविकतालाई बदल्न समाजको कुनै अंगले अग्रसरता लिनु पर्दछ अनि मात्र आपसी स्वीकार्यता अभिवृद्धि हुन्छ । बाह्रखरीले त्यही भूमिकामा आफूलाई समाहित गर्न खोजेको हो र यस कदमलाई समाजका बृहत्तर सदस्यले सकारात्मक ढंगले अपनाएको हामीले महसुस गर्दै आएका छौं ।
देशको कर्पोरेट सेक्टरका प्रमुखहरूलाई एकै स्थानमा जम्मा गर्नु आफैंमा अत्यन्त ठूलो चुनौती हो । तर गल्फ खेलमा प्रतिस्पर्धा गर्नु वा त्यस खेलमा दर्शक वा समर्थकका रुपमा सहभागिता जनाउनका लागि अनुरोध गर्दा धेरैले सहजै स्वीकार गरेको सुखद अनुभव संगालेका हामीले देशको अर्थतन्त्रमा निजी क्षेत्रलाई कसिलो ढंगले एकाकार गर्न सकेको अवस्थामा दुवैको जीत स्थापित हुने बुझेर एनसेल बाह्रखरी गल्फको आयोजना गरेका हौं ।
प्रदेश १ मा यो कार्यक्रम गर्ने निधो हुँदै गर्दा पूर्वको एक सुन्दर सहर धरानमा रहेको देशकै सबैभन्दा पुरानो गल्फ कोर्समा कर्पोरेट नेतृत्वलाई बोलाउन धरान गल्फ क्लबले देखाएको चाख र तदारुकताका कारण यो अभियानको सुरुवात सहज र सुखद् रह्यो । नेपालका अधिकांश गल्फ खेलाडीलाई करिब ६० वर्षअघि बेलायती सेना भर्ती केन्द्रमा आफ्ना कर्मचारीहरूका लागि बेलायतले बनाएको यो कोर्समा खेल्दा बेग्लै आनन्दानुभूति हुने भएकाले पनि हुनसक्छ धेरैले यस खेलमा भाग लिने इच्छा जाहेर गरेका छन् ।
नेपालको आर्थिक क्षेत्रमा ठूलो योगदान गरेका व्यक्तिहरू यस प्रदेशमा आउँदै गर्दा उनीहरूलाई समाहित गरेर किन यो प्रदेशको समृद्धिका लागि कस्तो प्रयास गरिनु पर्दछ, यहाँको व्यावसायिक क्षेत्रले भोगेका समस्याहरू के के हुन् र तिनलाई कस्तो तवरले सम्बोधन गर्नु पर्दछ भन्ने विषय छलफलमा ल्याउनु पर्दछ भन्ने उद्देश्यसहित विराटनगरमा इकोनोमिक समिट आयोजना गर्ने तयारी भयो । यस कार्यका लागि स्थानीय स्टेकहोल्डरहरू पहिचान गर्ने क्रममा उद्योग संगठन मोरङ अत्यन्त सहृदयी र सक्षम सह–आयोजक बनेर अघि आयो । यसको नेतृत्व तथा कार्यकारी समितिले बाह्रखरीले लिएको उद्देश्य आफ्नो संस्थाको उद्देश्यसँग मेल खाने र यसका लागि सहकार्य गर्न सकिने भनेर स्पष्ट निर्णय गरेको कारणले यो मिलाप अत्यन्त फलदायी भएको र यसको प्रतिफल पनि यी दुई संस्थाले सोचे अनुरुपनै आउने हामीले विश्वास लिएका छौं । इकोनोमिक समिटका सह–आयोजक उद्योग संगठन मोरङ्गसँग मिलेर कार्य गर्न पाएकोमा बाह्रखरी परिवार पनि धन्य भएको छ ।
प्रदेश १ धेरै आधारमा नेपालको पहिलो प्रदेश हो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको यस प्रदेशका प्राकृतिक, सांस्कृतिक, आर्थिक, सामाजिक धरोहरहरूको सम्मान र सम्बद्र्धन गर्ने जिम्मेवारी यहाँकै युवा जगतको हो । युवा जगतको सहभागिताबिना गरिएको कुनै पनि कार्यको जिम्मेवारी वहन गर्ने पछिल्लो पुस्ता हुँदैन भन्नेमा स्पष्ट भएको कारणले एक युवा उद्यमी विशेष भेला कार्यक्रम पनि बाह्रखरी गल्फकै सेरोफेरोमा गर्ने योजना अनुरुप नेपाल युवा उद्यमी मञ्च सुनसरीसँग सहकार्य गरियो । यो संस्था तथा इटहरी र विराटनगरमा व्यवसाय गर्ने युवा उद्यमीहरूले यो भेलालाई सफल पार्नका लागि आफ्नो तर्फबाट अत्यन्त ठूलो सहयोग पु¥याएको हुनाले यो भेला सफल हुने कुरामा विश्वस्त छौं ।
गल्फको खेल उसको आफ्नै नियमअनुसार आयोजना हुन्छ । तर आर्थिक शिखर बैठक र युवा उद्यमी भेलाका लागि कुन कुन र कस्ता विषय उठाउने र कसले उठाउने अर्थात् थिम पेपर कस्ले प्रस्तुत गर्ने भन्ने प्रश्न मुखरित भयो । यस विषयमा छलफल गर्दा हाम्रो प्रस्तावमा आएका प्रथम दुई व्यक्तिबाटै सहमति पायौं । जसअनुसार पूर्व अर्थ सचिव तथा विद्वान श्री रामेश्वर खनालले इकोनोमिक समिटमा तथा विद्वान युवा उद्यमी श्री निरञ्जन श्रेष्ठले कन्क्लेभमा थिम पेपर प्रस्तुत गर्नुहुनेछ ।
यो थिम पेपरहरूको उद्गम पनि स्थानीय स्तरबाटै हुनुपर्दछ अन्यथा गाउँ–घरको मूल समस्या वा सम्भावनाहरू ओझेल पर्ने सम्भावना हुन्छ र सबैको सहभागिताको मर्म पनि कमजोर हुनसक्ने भन्ने सोचका साथ प्रदेश १ का चार स्थानमा राउण्ड टेबलहरू आयोजना गरियो । ति राउण्ड टेबलहरू इलाम, बिर्तामोड, धनकुटा र गाइघाटमा आयोजित भए । यसरी स्थानीय समस्या र सम्भावनाका उद्घोषहरू समेटेर दुवै थीम पेपर प्रस्तोतालाई राउण्ड टेबलका प्रतिवेदन समयमै हस्तान्तरण पनि गरियो । साथै, ति राउण्ड टेबलहरूबाट प्राप्त सुझाव र सल्लाहहरू समिटको विशेष अंकमा समाहित गर्ने जमर्को पनि गरेका छौं ।
यो कार्यक्रम गर्ने क्रमका सुरुवातदेखिनै प्रदेश १ को समृद्धिको पथमा आउने समस्या र चुनौतीका विषयहरू समाहित भएका लेख तथा समाचार बाह्रखरीले निरन्तर आफ्नो डिजिटल न्युज पोर्टलमा प्रकाशित गर्दै आएको छ । ति समाचारहरू कुनै पनि बेला बाह्रखरी डट कममा गएर हेर्न र पढ्न सकिन्छ । साथै चारै स्थानका राउण्ड टेबलबाट प्राप्त प्रतिवेदन पनि बाह्रखरीमा हेर्न सकिन्छ ।
यसरी खेल र आर्थिक समृद्धिलाई जोडेर राष्ट्रिय तहका राजनीतिक तथा सरकारी नेता, कर्मचारी, विद्वत वर्ग तथा पत्रकार साक्षी राखेर गरिने छलफलको निचोड जे आउँछ त्यसको अनुगमन कसले र कसरी गर्ने भन्ने विषयमा उद्योग संगठन मोरङ्को कार्यसमितिका एक वरिष्ठ सदस्यले प्रश्न पनि गर्नुभयो । सोही प्रश्नबाट प्रेरित भएर बाह्रखरीले यी समिट तथा कन्क्लेभबाट निस्किएका निचोडहरू कुन कुन तहबाट कति कार्यान्वयन भए भनेर एक वर्षसम्म लगातार फलो–अप गर्नेछ । सबैलाई आग्रह छ, बाह्रखरीमा आउँदो एक वर्षसम्म लगातार प्रदेश १ का विभिन्न आयामका समाचार अनुगमन गरियोस् र परेको समयमा आ–आफ्नो स्थानबाट उचित आवाज पनि आवस् ।
त्यसैले ‘एनसेल बाह्रखरी गल्फ एण्ड ग्रोथ — पाथ वे टु प्रोस्पेरिटी प्रदेश १’ नामक यो कार्यक्रमको बाह्रखरी एक संयोजक मात्र हो । यो हामी सबैको संयुक्त कार्यक्रम हो । प्रदेश १ का जनताको समृद्धिका लागि छलफल र विमर्श गरिने भएकाले यस क्षेत्रका सम्पूर्ण जनताको कार्यक्रम हो । यस कार्यक्रममा सहआयोजकका रुपमा रहेको प्रदेश १ को सरकार, नेपाल पर्यटन बोर्ड, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, युवा उद्यमी मञ्च इटहरी तथा विराटनगर सबै यो कार्यक्रमका अभिन्न अङ्ग हुन् । यी सबै संस्थाको हार्दिक र नैतिक सहयोग प्राप्त भएको कारणले नै आज हामी यसरी उपस्थित हुन सकेका हौं ।
यति ठूलो र भव्य समारोह आयोजना गर्दा सबैभन्दा ठूलो सहयोग स्रोत जुटाउन सहयोग गर्ने संस्थाहरूको हुन्छ । यो कार्यक्रमलाई प्रस्तुत गर्ने जिम्मेवारी उठाएर विगत तीन वर्षदेखि लगातार बाह्रखरीको मुख्य प्रायोजक रहेको एनसेलप्रति हामी आभारी छौं । अन्य सहयोगी संस्था प्रभु बैंक, ग्लेन लिभेट, आईएमई, शिखर इन्स्योरेन्स, काल्र्सबर्ग, बिएमडब्लु, डिसहोम तथा भाटभटेनीप्रति पनि आयोजक संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
धन्यवाद्
(लेखक बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।)
समृद्धिको यात्रा प्रदेश १ विशेषांकबाट