site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चुनावको मुखैमा मेयर शाक्य शिलान्यासमा व्यस्त, बिर्सिए १०१ चुनावी प्रतिबद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । अबको साढे दुई महिनापछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पाँच वर्षे कार्यकाल सकिँदैछ । कार्यकाल बित्नै लाग्दा उनी अचेल संरचना शिलान्यासको दौडधुपमा छन् । 

गएको चुनावी मैदानमा उत्रँदा १०० दिनमा १०१ काम गर्ने भन्दै ल्याएको चुनावी घोषणापत्र भने अधुरै छ । ०७४ जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले आफूले सहर विकासमा छलाङ मारेको बताउने गरेका छन् । त्यतिमात्र होइन पार्टीले विश्वास गरे आफू फेरि चुनावमा उठ्ने बताइरहेका छन् । 

उनले ०७२ सालमा भूकम्पले भत्काएका सबै सम्पदाहरू पुनर्निर्माण गरिसकेको दाबी गर्दै आएका छन् । बरु उनले पुनर्निर्माण गर्न कतै बाँकी रहे आफूलाई खबर गर्न भनिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, मेयर शाक्यले दाबी गरेपनि विश्व सम्पदा सूचीमा सूचीकृत असाधारण  सम्पदाहरू टेकोकै भरमा उभिएका छन् । 

शाक्यले केही महिना पहिले होटल एल्लो प्यागोडामा पत्रकारहरूसँग कुराकानी गर्दा तिनकुने पार्क, मोनोरेल र भृकुटीमण्डपस्थित सभाहल निर्माण गर्न नसकेको स्वीकार गरेका थिए ।

Global Ime bank

शाक्यको पाँच वर्षे कार्यकालमा महानगरपालिकाको नयाँ भवन पनि बन्न सकेन ।

एकसय दिनमा १०१ काम गरेर नदेखाउँदा र बाहिरका मान्छे आएर काठमाडौं बिगारेको अभिव्यक्ति दिँदा उनको निकै आलोचना भएको थियो । उनले विभिन्न विवादित गतिविधिका कारण पटक–पटक सामाजिक सञ्जालमा आलोचना खेप्दै आएका पनि छन् । 

चुनावताका शाक्यले काठमाडौं चक्रपथमा रेल कुदाउने, साइकल लेन बनाउनेदेखि मिनी असन बजार बनाउनेसम्मको घोषणा गरेका थिए । तर काठमाडौं महानगरपालिका क्षेत्रमा साइकल लेनसमेत बन्न सकेन ।

शाक्यको चुनावी घोषणापत्रको ६ नम्बर प्रतिबद्धतामा साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्नेछ । तीन वर्ष पहिले मेयर शाक्य आफैँ साइकल चढेर साइकल सिटी बनाउने समेत बताएका थिए ।

तर, उनले साइकलसिटी बनाउने प्रतिबद्धता बीचमै बिर्सिए । पूर्णता दिन सकेनन् । १०१ काम गरेर काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका मेयर शाक्यले काठमाडौंको फोहोरको समेत दिर्घकालीन व्यवस्थापन गर्न सकेनन् । 

घोषणापत्रकको १८ नम्बरमा विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ सञ्चालनका लागि अध्ययन गर्ने भनिएको थियो । मेयर शाक्यको यस प्रतिबद्धतामा जनतालाई लागेको थियो, अब जन्मदेखि मृत्युसम्म चाहिने सामान मिनी असन बजारमा पाइनेछ । तर, काठमाडौंका सबै बजारक्षेत्र अस्तव्यस्त छन् । 

मेयर शाक्यको घोषणापत्रको बुँदा नम्बर २५ मा ‘सही समय सही ठाम, नो ट्राफिक जाम’ अभियान सुरु गर्ने भनिएको छ । तर पुरानो बसपार्क रहेको ठाउँमा भ्युटावर बनाउन लगाएर पिक एन्ड ड्रप प्रणाली लागु गरिएको छ । यसले सवारी जाम र पार्किङको गम्भीर समस्या सृजना गरिरहेको छ । 

उनले सहरका सडकमा देखिएका खाल्डाखुल्डी पर्ने र धुलोधुँवामुक्त अभियान सञ्चालन पनि गर्ने घोषणा गरेका थिए । अहिले पनि भित्री सडकमा खाल्डाखुल्डी ज्युँका त्युँ छन् । 

मेयर शाक्य उल्टै विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सडक बिगारेको बताउँदै आएका छन् ।

शाक्य ०४३, ०४९ र ५४ गरी तीनपटक स्थानीय तहको चुनाव हुँदा वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७४ सालको चुनावमा ६४ हजार ९१३ मत ल्याएर उनी देशकै ठूलो महानगरको मेयरमा निर्वाचित भएका थिए ।

यही फागुन २१ गते शनिबार मेयर शाक्यले क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि अधिकांश सम्पदा पुनर्निर्माण गरिसकेको र पुर्ननिर्माण गर्न कहीँ छुटेको भए खबर गर्न अभिव्यक्ति दिएका थिए ।

महानगरले पुरातात्विक महत्वका सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने स्पष्ट नीति लिएको शाक्यको दाबी थियो । स्थानीय चुनाव नजिकिएसँगै मेयर शाक्य पुन: मेयरको टिकट ल्याउने दौडमा छन् ।

धुँलो धुँवामुक्त सहर बनाई 'नो मास्क सिटी', 'काठमाडौं महानगर, झिलिक्क घर टिलिक्क' अभियान सञ्चालन गर्ने पनि मेयर शाक्यको घोषणापत्रमा थियो । तर, सहर झन–झन कुरूप र अव्यवस्थित बन्दै गएको छ ।

मेयर शाक्यको ७२औँ प्रतिबद्धतामा महानगरको भवन बनाउने भनिएको छ । वडा कार्यालय भवन शिलान्यास गर्दै हिँडेका मेयर शाक्यले आफू बस्ने महानगरको कार्यालय नै बनाउन सकेनन् । महानगरले बागदरबारस्थित जेडीए कम्प्लेक्सको भवनलाई केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ । जसको मासिक सात लाख रुपैयाँ भाडा छ ।

पछिल्लो समय उनी दुई वर्ष कोरोना महामारीका कारण अपेक्षाबमोजिम काम गर्न नसकिएको बताउँदै आएका छन् । 

महामारीको बेलामा महानगरवासीलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने मेयर शाक्य आफैँ संक्रमित भएर सोल्टी होटलमा आइसोलेसनमा बसेका थिए । 

महानगरले सहरी सुव्यवस्थाका नाममा फुटपाथ व्यापारीको व्यापार लिलाम गरी करोडौं रुपैयाँ असुल गरेको छ । तर, मेयर शाक्यको कार्यकालभर फुटपाथ व्यापार उठाउनेबाहेक कुनै नीति नियम बनेन । यो समयावधिमा हजारौँ ठेलागाडा र साइकल लिलाम गरियो । कपडा, फलफूल, खानेकुरासमेत देखी सहेन ।

मेयर शाक्य भने आफ्नो कार्यकालको समीक्षा गर्दै वडा भवन निर्माण, शिक्षा, स्वास्थ्य, शहरी सुव्यवस्था, सौन्दर्यता र सम्पदा पुनर्निर्माण लगायत सबै क्षेत्रमा फड्को मारेको बताउँदै आएका छन् ।

चुनावको मुखमा मेयर शाक्यको दौडधुप शिलान्यासमा 
कार्यकालको पाँच वर्ष बित्नै लाग्दा यतिबेला मेयर शाक्य शिलान्यासको दौडधुपमा छन् । नयाँ साझेदारी कार्यक्रमअन्तर्गत माघ ३ गते दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रम शिलान्यास गरियो । माघ १० गते उनले चाबहिल र मित्रपार्कमा सार्न मिल्ने आकासेपुलको शिलान्यास गरेका थिए । शाक्यधिता ध्यानघर, हारती माता देवताको घर पनि मयेर शाक्यले सोही दिन शिलान्यास शिलान्यास गरे । 

माघ १५ गते शनिबार असन कमलाक्षी पालातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास गरेका थिए । सोही दिन मेयर शाक्यले वडा नम्बर २७ को कार्यालय शिलान्यास गरे । शाक्यले माघ १८ गते लायकु साः त्वा:छेँको शिलान्यास गरे । माघ २४ गते उनले इन्द्रायणी पार्क र माघ २३ गते मरुहीटी शिलान्यास गरेका थिए । निर्माण भएका सम्पदा उद्घाटन र सहयोग सम्मान कार्यक्रममा मेयर शाक्यको दौडधुप जारी छ ।  

०००
यस्ता थिए पाँच वर्ष अघि मेयर शाक्यले घोषणा गरेका १०१ प्रतिबद्धता : 

१. राज्यले दिएको सामाजिक सुरक्षा भत्ता तिन हजाबाट बढाएर पाँच हजार पुर्‍याउँने, ८४ बर्ष पुगि सकेका व्यक्क्तिलाई १० हजारमा २ हजार थपेर १२ हजार बनाउँने । 
२. ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनस्थापना प्रक्रिया अघि बढाउने । 
३. मेयरको पदभार ग्रहण गर्नुभन्दा अगाडि नै महानगरपालिकाको कार्यालय परिसरभित्र नवनिर्वाचित प्रतिनिधीहरूले मुल्यवान फल लाग्ने रुख रोपेर ग्रीन एण्ड क्लिन काठमाडौं अभियान सुरु गर्ने । 
४. महानगरपालिका क्षेत्रभित्रका धार्मिक सास्कृतिक तथा पर्यटकीय केन्द्रहरू जस्तै पशुपतिनाथ बौद्धनाथ बसन्तपुर लगायत स्थानमा दु्रतगतिको निशुल्क वाइफाइ क्षेत्र बनाउँने । 
५. बाटो वितार पिडित समुदायसँग वार्ता गरेर जनभावना अनुसार समस्या   समाधान गर्ने । 
६. साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने । 
७. महानगरको योजना आयोग गठन गरेर काम सुरु गर्ने ।
८. महानगरपालिकाको आफ्नै पुर्वाधार कमिटी गठन गर्ने ।
९. विभिन्न क्षेत्रमा लगानी गर्न महानगरपालिकाको आफ्नै लगानीमा कम्पनी स्थापना गर्ने । 
१०. महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने । 
११. महानगरपालिकाका सम्पुर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इगर्नेन्स प्रर्णाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सिसिटीभी जडान गर्ने । 
१२. प्रत्यक युवालाई कुनै न कुनै खेल शारिरीक व्यायाम, व्यावसायीक तालिम, हस्तकला, ललितकला प्रविधि लगायत आवद्ध गराउने गरी कार्यक्रम ल्याउने ।  
१३. समयसापेक्ष रोजगारीमूलक वातावरण सृजना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचना केन्द्र सुरु गरीनेछ । 
१४. खेलकुद क्षेत्रका विशेष प्रतिभा र योगदान गर्नेहरूलाई नियममित सहयोग गर्न पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने । 
१५. नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महानरका  संवेदनशील स्थलहरूमा सिसिटीभी जडान गर्ने काम सुरु गर्ने । 
१६.स्वयम्भू, बौद्ध, पशुपति, वसन्तपुर लगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवर्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने । 
१७. सार्वजनिक साझेदारीको निति अवलम्वन गर्ने । 
१८. विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाँहिने सामग्रीसहितको ‘मिनी असन बजार’ सञ्चालनका लागि अध्यन गर्ने । 
१९. भित्री शहरको हरेका ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार निजी साझेदारीको ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने । त्यस्ता सेन्टरहरूमा महिला अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री डिजिटल सूचनापाटी, शौचालय, डिजिटल सुझाव संकलन डेस्क, तौल नाप्ने मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रि वाइफाईको व्यवस्था गरिनेछ । 
२०. धर्म पथमा रहेको पुरानो काठमाडौं महानगरपालिकाको जग्गामा पर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण सुरु गर्ने । 
२१. महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने । 
२२. महानगरपालिकाद्धार सञ्चालित, चमती मनोहरा लगायतका स्थानमा अवरुद्ध ल्याण्डपुलिङको काम यथाशिघ्र सम्पन्न गर्ने । 
२३. घरघरमा अचम्मको सियो गज्जबको चुलो कार्यक्रम सञ्चालन गर्ने । 
२४. मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने विशेष प्रविधिको प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माण गर्ने । 
२५. ‘‘सही समय सही ठाम, नो ट्राफिक जाम” को अभियान सुरु गर्ने । 
२६.बाटामा थुपारिएका निर्माण सामग्री हटाउने । 
२७. हाल पेन्डिङमा रहेका मुद्धालाई १०० दिनभित्र टुंग्याउने । 
२८. प्रत्यक वडामा विषयगत दक्षतासहितको महानगर स्वयसेवक घोषणा गरी परिचालन गर्ने । 
२९. प्रत्येक घरमा अनिवार्य बर्खेपानी संकलनको अभियान सुरु गर्ने । संकलनबाट बढि भएको पानी भुमिगत जल भण्डारण गर्ने अभियान थाल्ने । 
३०. घरघरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्यांकी जडानको अभियान सुरु गर्ने । 
३१. चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग बाणिज्य महासंघका सहकार्यमा वृहत प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने । 
३२. ‘‘भोकरहित जनता, शोकरहित महानगर” का लागि सुपथ मुल्यको मेयर फड पार्लर खोल्ने पक्रिया आरम्भ गर्ने । 
३३. राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने । 
३४. राजस्व अध्यन बोर्ड बनाएर अनुसन्धान अध्ययन थाल्ने । 
३५. काठमाडौंका बारेमा जानकारी दिने मोबाइल एप सुरु गर्ने । 
३६. स्मार्ट भर्टिकल कार पार्किङ निति निर्धारण गरी कार्यान्वयन गर्ने । 
३७. महानगरका विशेष स्थानमा भइकल फ्रि जोन घोषणा गर्ने । 
३८. ‘‘काठमाडौं महानगर झिलिक्क : घरघर टिलिक्क” अभियान थाल्ने । सरकारी सार्वजनिक भवनमा रङरोगन गर्ने ।  
३९.धरहरा प्रिमिसेसको गुरुयोजना बनाएर कार्यान्वयन गर्ने । 
४०. महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्ने । 
४१. सम्पदा पुननिर्माणमा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने । 
४२. भूकम्पले नष्ट गरेका र असुरक्षित घरहरूको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने। 
४३. नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने । 
४४. महानगर र गोकर्णेश्वरको समन्वय/सहकार्यमा ‘‘तारेभिर परियोजना” को प्रक्रिया अगाडि बढाउने । 
४५. टोखा नगरपालिकासँग समन्वय/सहकार्य गरेर टोखाका सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर ‘‘वाटर फल पार्क” बनाउन प्रक्रि या अगाडि बढाउने । 
४६. ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको ‘‘नयाँ ललितपत्तनम” नामको आर्ट एण्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने । 
४७. काठमाडौँको भित्री शहरका दक्षिणी भेगको ‘‘क्वःन” को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने । 
४८. पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने । 
४९. ऐतिहासिक दरबार हाइस्कूल पुनस्र्थापनाका लागि सार्वजनिक वहस गरी काम सञ्चालन गर्ने । 
५०. इन्टरनसेनल आर्ट र कल्चरल हब बनाउन सुरु गर्ने । 
५१. भद्रकाली मन्दिर  परिसरको विस्तृत परियोजनाका लागि सर्वेक्षण गर्ने । 
५२. अध्ययन भइसकेको हनुमानढोका क्षेत्रमा पहिले रहेको प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रूपमा परिमार्जन गरी निर्माणकार्य आरम्भ गर्ने । 
५३. निश्चित समय तालिका अनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालि कामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने । 
५४. कार पार्किङ मलको नीति बनाएर काम सुरु गर्ने । 
५५. ‘‘जञ्जालमुक्त सडक सञ्जाल” कार्ययोजना सुरु गर्ने । 
५६. निर्माणाधीन चक्रपथ विस्तारको काम यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने । 
५७. भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनारहुँदै केवल बसको सम्भाव्यता अध्ययन सुरु गर्ने । 
५८. सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने । 
५९. ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’ को अभियानबाट सञ्चालन गर्ने । 
६०. पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारमा रहेको बालुवा खानीलाई व्यवस्थापन गरी ‘‘पाशुपत सरोवर” निर्माणका लागि पहल गर्ने । 
६१. काठमाडौँलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्री व्यवस्थितरूपमा जम्मा गरेर राखेवापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने । कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने र किन्ने व्यवस्थासमेत गर्ने । 
६२. शहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने । 
६३. ज्येष्ठ नागरिकका लागि घरघरमा निःशुल्क सेवाका लागि महानगरपालिकाका स्वयसेंवक परिचालन गर्ने । 
६४. विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकलाई उच्चप्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धारकार्य सुरु गर्ने । 
६५. राज्यको लगानी वा विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तरवृद्धिका लागि अनुगमन गर्ने । 
६६. महानगरपालिका, सम्बन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्र नजिकै ‘‘शिशु स्याहार र बाल विकास केन्द्र” सुचारु गर्ने । 
६७. महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाएर काम सुरु गर्ने । 
६८. सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केद्र, स्वास्थ्य क्लब, जिम केन्द्र /व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने । 
६९. ‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम  सञ्चालन गर्ने । 
७०. महानगरका सरकारी र सार्वजनिक ठाउँहरूलाई ‘बाउन्ड्रीलेस गार्डेन’ का रूपमा विकास गर्ने । 
७१. घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिना भित्र प्रदान गर्ने । 
७२. महानगरपालिका भवन निर्माणको काम सुरु गर्ने । 
७३. नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवंअन्तर्राष्ट्रिय पहल गर्ने । 
७४. प्रेम दिवस लगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने । 
७५. छाडा जीवजन्तु तथा फोहोर मैलालगायत समस्या तत्काल समाधान गर्ने । 
७६. घरबाट निस्केको कुहिने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने । त्यसका लागि महानगरले प्राविधिक सीप र प्रविधिका लागि अनुदान दिने । 
७७. महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रर्दशकसहितको सुविधा सम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने । 
७८. काठमाडौँ महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहालयसहितको युवा पार्क निर्माण गर्ने । 
७९. तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गर्ने । 
८०. अपाङ्गतामैत्री पार्क निर्माणको काम सुरु गर्ने । 
८१. ‘‘कौसी खेती तथा गार्डेन : घरघरमा जैविक तरकारी खेती” का लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनले सहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने । न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने । 
८२. अव्यवस्थित र असुरक्षित भविष्यका कारण जीवनदेखिको निराशाका कारण बढ्दो मानसिक समस्याहरू रोकथाम र उपचारका लागि उचित प्रवन्ध गर्ने । 
८३. हिसांपीडित महिलाको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने । 
८४. तरकारी, फलफूल र खाद्यान्नमा विषादिको प्रयोग नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने ।
८५. राजधानी महानगरलाई देशका सबै नपोलीको साझा ‘मैत्रीनगर’ को रूपमा विकास गर्न सात वटै प्रदेशका लागि‘‘प्रदेश भवन” निर्माणका लागि प्रक्रिया थाल्ने । 
८६. पुरानो बसपार्कमा प्रस्तावित काठमाडौँ टावर निर्माणका सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने । 
८७. महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने । 
८८. गोंगबुँ बसपार्कको गुरुयोजनालाई परिमार्जनसहित अगाडि बढाउने । 
८९. स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरूको लगत संकलन गरी कार्ययोजना अगाडि बढाउने । 
९०. परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने । 
९१. मझौला तथा साना व्यवसाय सुरु गर्नेहरूलाई लगानीमैत्री विनियमहरू बनाउन सुरु गर्ने । 
९२. बागबजारमा रहेको भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने । 
९३. होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने । 
९४. डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने । 
९५. भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने । 
९६. ‘काठमाडौँ स्मार्ट सिटि जन कार्ड’ कार्यक्रमलागू गर्न कार्यदल गठन गरी यथाशिघ्र काम सुरु गर्ने । 
९७. हाइड्रोेजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्य सुभारम्भ गर्ने । 
९८. स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्याङ्कको स्थापना गरी काम थाल्ने । 
९९. पत्रकारहरूका लागि सम्पूर्ण व्यावसायिक सुविधासहितको सञ्चार केन्द्रको कार्ययोजना सुरु गर्ने । 
१००. चौबिस घण्टे ‘‘जीवन्त शहर” को योजना बनाउने । 
१०१.महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधि मैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement