काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ यति बेला महाधिवेशनमा होमिएको छ । संघको आउँदो चैत पहिलो साता महाधिवेशन गर्ने तयारी छ ।
यही फागुन ३ गते सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दलित संघको अधिवेशन चैत पहिलो साता गर्ने निर्णय गरेको थियो । ७७ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेकाले संघको महाधिवेशन गर्न निर्देशन दिएको थियो ।
बैठकको बुँदा नम्बर–५ मा निर्णय गर्दै पार्टीले दलित संघलाई चैत ७ देखि ९ गतेभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो । सोही निर्देशपश्चात् संघको विधान टुंगो लगाउने कार्य सम्पन्न भइसकेको छ । नयाँ विधानानुसार गण्डकी प्रदेशमा फागुन २५ गतेबाट प्रदेश अधिवेशन गरिँदै छ ।
दलित संघको केन्द्रीय नेतृत्व आफ्नो पक्षमा पार्न अहिले पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहले गृहकार्य गरिरहेका छन् । विशेष गरेर दलित संघको नेतृत्वमा कसलाई ल्याउने भनेर सभापति शेरबहादुर देउवा समूहबाट संघका वर्तमान अध्यक्ष मीन विश्वकर्माले भूमिका खेलिरहेका छन् ।
यस्तै, महाधिवेशनबाट नेतृत्व आफ्नो पक्षमा पार्न संस्थापनइतर समूह अर्थात् शेखर कोइराला समूहबाट पार्टी सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य प्रकाश स्नेहीलगायत नेताहरूले रणनीतिक दौडधुप गरिरहेका छन् ।
संस्थापन समूह अर्थात् सभापति देउवा समूहबाट संघको केन्द्रीय नेतृत्व हत्याउन शम्भु हजाम पासवान, लोकेन्द्र विक र छत्रसिंह टेलर लागिपरेका छन् ।
यस्तै, संस्थापनइतर अर्थात् कोइराला समूहबाट दोबाटे विश्वकर्मा, शिवबहादुर सुनार, मुक्तबहादुर महते र कृष्ण विके रसाइली आकांक्षी छन् ।