site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा ‘लिगेसी लिडर’ को लञ्च मिटिङ,  चिन्ता पार्टी र संविधानको !

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू बीपी पुत्र डा. शशांक कोइराला, गणेशमानसिंह पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण पुत्र विमलेन्द्र निधिबीच बुधबार ‘लञ्च मिटिङ’ भएको छ । 

१४औं महाधिवेशनपछि उनीहरूबीचको यो दोस्रो बैठक हो । यिनीहरूबीच यसअघि असोज ७ गते शशांक निवास महाराजगन्जबाट सुरू भएको थियो । त्यसकै निरन्तरतास्वरुप बुधबार चाक्सीबारीमा बैठक बसेको हो ।

१४औं महाधिवेशनअघि साझा उमेदवार खोज्ने र राजनीतिक सहकार्य जारी राख्ने समझदारी गरी बैठककोे श्रृंखला चलाएका नेताहरू पहिलो समझदारी पालना गर्न असफल भएका थिए । 

सिंह र निधि दुवै सभापतिको उमेदवार बने भने सशांक देउवालाई सघाउने गरी केन्द्रीय सदस्य मात्र उमेदवार बनेका थिए । 

अघिल्लो समझदारी पालनामा असफल भएका उनीहरूबीच राजनीतिक साझेदारीको समझदारी भने देउवालाई दोस्रो चरणमा सघाउनेदेखि नै जारी थियो । सिंह र निधिसमेतले देउवलाई समर्थन जनाएका थिए ।

आउँदो महाधिवेशनमा तीनैजना सभापतिको आकांक्षी हुन् । तर, भेटवार्ता १५औं महाधिवेशनकेन्द्रित नभएको निधि बताउँछन् ।

“महाधिवेशनको मिति सुनिश्चित भएको छैन । अन्य प्रक्रिया हेर्दा नियमित समयमा आगामी मंसिरमा महाधिवेशन हुने अवस्था पनि छैन,” निधिले बाह्रखरीसँग भने, “मिति नतोकिएका बेला उमेदवारी खोज्ने प्रसंग नै भएन ।” 
समझदारी बलियो बनाउने प्रयास भए पनि मुख्य चिन्ता कांग्रेस र देशको रहेको उनको भनाई छ । 

उनले भने, “सामाजिक सञ्जालबाट पुरानो लोकतान्त्रिक शक्ति कांग्रेसलाई रुचाएका छैनन् भन्ने हल्ला फैलाइएको छ, त्यो वास्तविक होइन भन्ने तथ्य पार्टीका तर्फबाट स्थापित गर्नुपर्ने समय आएको छ ।’’
त्यसबाहेक देशको संविधान र संघीय व्यवस्थाबारे उठाइएका प्रश्नको विषयमा पनि छलफल भएको बतए । 

“संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि त्यसको कार्यान्वयन गर्न प्रहरी र निजामती कर्मचारी दिनु पहिलो जिम्मेवारी थियो । त्यसो नगर्दा प्रदेश गठन भए, तर उनीहरूको काम गर्ने टिम बनेन,” उनले भने, “यसमा संघीय सरकार संचालन गर्ने राजनीतिक दल गैरजिम्मेवार हुनु पहिलो समस्या हो ।’’

गत असोजमै बैठक राखेका नेता डा. शशांक कोइरालाले कार्यकर्ताको सुझावका आधारमा पनि निर्णय हुने बताएका थिए । 

त्यतिखेर उनले पार्टी सञ्चालनमा देखिएको भागबण्डा प्रथा अन्त्य गर्ने, कांग्रेसलाई एक बनाउने विषयमा साझा समझदारी भएको र सभापतिको उमेदवार बन्ने विषयमा कार्यकर्ताको भावनाका आधारमा तय हुने बताएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro