काठमाडौं । बुवालाई राष्ट्रपतिको कार्यालय शीतलनिवासबाट फोन आयो । शीतलनिवासले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले छोरा महेशलाई भेट्न चाहेको जानकारी दियो । बुवाले महेशलाई सुनाए ।
राष्ट्रपतिले बोलाउँदा पनि महेशमा खासै एक्साइटमेन्ट थिएन । कारण, बीबीसी, वर्ल्ड भिजन टेलिभिजनलगायत विश्वकै ठूलठूला मिडिया क्यामेराको लामो लेन्स तेर्स्याउँदै उनको डकुमेन्ट्री बनाउन घरमै पुग्थे । त्यसले नयाँ व्यक्ति र उनीहरूसँगको भेटको अनुभव गरिसकेका थिए । भयंकर उत्साह त थिएन, तर अब अवसरको ढोका खुल्ने भयो भन्ने कुराले मन फुरुंगचाहिँ भयो ।
राष्ट्रपतिको कार्यालयबाट फोन गएको तेस्रो दिन कास्कीबाट महेशका बाउ–छोरा शीतलनिवासको गेटमा टुप्लुकिए ।
महेशका बुवाले गेटमा भने– म महेशको बुवा, राष्ट्रपतिज्यूले भेट्न बोलाउनुभएकाले...।
“जब बुवाले आर्मीलाई राष्ट्रपतिले बोलाएको भन्नुभयो, हामीलाई उनीहरूले यति धेरै रेस्पेक्ट दिए म छक्क परेँ । आज को–को आउँदै छन् भनेर पहिला नै गेटमा सर्कुलर हुँदो रहेछ,” महेश भन्छन्, “मेरो बारेमा थाहा भएको आर्मीको ठूलै मान्छे हुनुहुँदो रहेछ । त्यहाँबाट वाकीटकीमा सर्कुलर भयो । सर्कुलर हुनेबित्तिकै भित्रबाट पाँचजना आए । बुवाको झोला पनि उनीहरूले नै बोकिदिए । बिल्डिङमा पुगेपछि अर्को ग्रुप लिन आइपुग्यो । त्यो टोलीले हामीलाई बैठक कोठामा लगेर राख्यो ।”
करिब पाँच मिनेट पर्खिएपछि घिउ कलरको कुर्ता, सेतो सुरुवाल र पहेँलो कलरको गम्छा ओढेका राष्ट्रपति डा. यादव बैठक कोठामा आइपुगे ।
उनले सुरुमा चिया अफर गरे । “चिया त आयो, तर कालो त्यो पनि चिनी नहालेको,” महेश हाँस्दै भन्छन्, “राष्ट्रपतिको कार्यालयको चिया कस्तो न होला भन्ने लागेको थियो । गाउँको मान्छे, दूध हालेको चिया खाइरहेको बानी, त्यसमा पनि केटोकेटी उमेर, त्यो त चियाजस्तै लागेन ।”
“ओहो ! महेश बाबु यहाँ त हाम्रो सबै चिज पोलिटिक्स मात्रै भयो । सबै इनर्जी राजनीतिमा मात्रै केन्द्रित भयो । सबै राजनीतिकै वरिपरि घुमिरहेका छन्, यो साइन्स एन्ड टेक्नोलोजीको कुरामा कसले सोच्ने है ?,” राष्ट्रपतिले चिया अफर गरिसकेपछि सबैभन्दा पहिला भनेको वाक्य सम्झिए महेशले । राजनीतिको कुरा, त्यो पनि राष्ट्रपतिले गरेको, महेश फिस्स हाँसे मात्रै ।
देशको अभिभावक, देशकै सबैभन्दा ठूलो मान्छेले यस्तो कुरा गर्लान् भन्ने महेशले अपेक्षा नै गरेका थिएनन् । राष्ट्रपतिको पहिलो वाक्य सुनेपछि महेशले राष्ट्रपति पनि आफूहरूजस्तै सामान्य मान्छे रहेछन् भन्ने खुट्ट्याए ।
त्यसपछि त डा. यादवले आफ्नै गुनासाहरू सुनाउन थाले ।
“प्रचण्डले खुलामञ्चमा ५०/६० जना मान्छे मात्रै पनि देख्नुभयो भने राष्ट्रपति राजा हुन खोज्यो भन्नुहुन्छ । मलाई त के राजा बन्नु छ र । म त किसानको छोरो यसैमा ठिक थिएँ,” तत्कालीन राष्ट्रपति डा. यादवले सुनाएको गुनासो सुनाउँछन् महेश, “सबै कुरा राजनीनिमै मात्रै घुम्ने भयो । साइन्स एन्ड टेक्नोलोजीलाई टाइम कहिले दिने । साइन्स एन्ड टेक्नोलोजी ल्याए पो देशको विकास हुन्छ । यसमा कसले टाइम दिने, हाम्रो इनर्जी नै राजनीतिमा गयो ।”
देश–विदेशका मिडियामा बोलिरहेकाले महेशमा बोल्ने कन्फिडेन्स त विकास भइसकेको थियो, तर राष्ट्रपतिसामु बोल्न केही संकोच लागिरहेको थियो । संकोच मानेरै भए पनि उनले आफ्नो कुरा राखे, “तपाईं त हाम्रो अभिभावक, हजुरको पहलमा देशमा रिसर्च गर्ने वातावरण बनिदिए राम्रो हुने थियो भन्ने लाग्छ । म यही अपेक्षा राख्छु हजुरबाट ।”
डा. यादवले भने, “हो नि हुन त, तर यहाँ यस्तै छ । केही सम्भावना भयो भने म बुझ्छु । राम्रो गर्दै जानू, राम्रो होस् ।”
“के–के गर्यौ ? कस्तो–कस्तो काम गर्यौ ?,” महेश भन्छन्, “मेडिकल साइन्सको विद्यार्थी भएकाले उहाँलाई पनि केही कुरा जानकारी थियो । मेरो बारेमा आएका समाचार पढेकाले उहाँले यो मेसिनले कसरी काम गर्छ भनेर सोध्नुभयो । तर, करिब ४५ मिनेट गफ भयो । अधिकांश समय उहाँले राजनीतिक गुनासो नै सुनाउनुभयो ।”
अन्तिममा फोटो खिचौँ भन्ने कुरा भयो । छेउमा राखेको ढाकाटोपी उठाएर लगाए । महेश र उनका बुवासँग फोटो खिचाए र बिदाइ गरे ।
“राष्ट्रपतिले बोलाउनुभएको, अबचाहिँ मेरा लागि धेरै कुरा हुने भयो, सरकारले छात्रवृत्ति दिन्छ होला, फन्डिङ होला, कतै केही स्पेस पाइला अथवा अरू थुप्रै अवसरका ढोका खुल्ने भए भन्ने ठूलो अपेक्षा गरेर आएको,” महेश सम्झिन्छन्, “जब उहाँले पहिलो वाक्य नै– ओहो ! महेश बाबु यहाँ त हाम्रो सबै चिज पोलिटिक्स मात्रै भयो, सबै इनर्जी राजनीतिमा मात्रै केन्द्रित भयो, सबै राजनीतिकै वरिपरी घुमिरहेका छन्, यो साइन्स एन्ड टेक्नोलोजीको कुरामा कसले सोच्ने है ? भन्नुभयो, म त खङ्ग्रङ्ङ भएँ । के सोचेर आ’को के पो र’छ भन्ने लाग्यो ।”
राष्ट्रपतिसँगको ४५ मिनेटको बसाइबाट उनले देश चिने । देशको ‘हैसियत’ चिने । नेता र नेतृत्वको नाडी छाम्ने अवसर पाए । र, निष्कर्षमा पुगे, ‘मिडियामा गरिने ठूलठूला कुरा र वक्तव्यबाजी त सब ढोङ पो रहेछ ।’
महेश आफ्नो कलिलो दिमाग लगाएर रकेट बनाइरहेका थिए । उनलाई लाग्थ्यो, अब हामीले रकेट बनाउनुपर्छ । तर, डा. यादवले भनेजस्तो यहाँको सोच अन्त कतै रुमलिरहेको छ ।
राष्ट्रपतिको कार्यालयबाट निराश भएर फर्किएका महेश जब रोनाष्ट पुगे, उनी साँच्चै निष्कर्षमा पुगे, “हामी रकेट बनाए देश साइन्स एन्ड टेक्नोलोजीमा अगाडि बढ्छ भन्नेमा थियौँ, सायद नाष्टको उद्देश्य नै त्यो थिएन । त्यसैले मैले गरेको अपेक्षा र सोच त्यहाँ पनि मिलेन ।” उनले पुनः एकपटक आफू बाँचेको धरातल चिने ।
यद्यपि, नाष्टका वैज्ञानिक दयानन्द बज्राचार्यले व्यक्तिगत रूपमा हौसला प्रदान गरे । उनीसँग महेशको बेला–बेला सम्पर्क पनि भइरहन्थ्यो । तर, पछि उनको मृत्यु भयो । महेशले अभिभावक गुमाएको महसुस गरे ।
नेपाल साइन्स एन्ड टेक्नोलोजी रिसर्च सेन्टर नामक संस्था नै खोले महेश र उनका साथीहरूले । विज्ञान र प्रविधिमा अनुसन्धान गर्ने संस्थाको उद्देश्य थियो । रेडियो र क्यासेट फुटाएर त्यहाँका चुम्बक र मोटर निकालेर जोडजाड गर्थे । बुवाले भएका बेला थोरबहुत पैसा दिन्थे । विज्ञान र प्रविधिको रिसर्च आफैँमा खर्चिलो विषय । सधैँ घरबाट निकालेको पैसाले किन हुन्थ्यो र सम्भव, भएन । संस्था बन्द भयो ।
स्कुल पढ्दा ब्याट्रीबाट चल्ने रोबोट बनाए । मोटरबाट उड्ने जहाज बनाए । कलेज पढ्दा विभिन्न काम गर्ने रोबोट बनाए । पानीबाट इन्जिन कसरी ट्रन गर्ने भन्ने विषयमा काम गरे । म्याग्नेटिक इनर्जीलाई प्रयोग गरेर म्याग्नेट मोटर कसरी बनाउने भनेर काम गरे । तर, फन्डिङको अभावमा कुनै पनि काम सोचेअनुसार पूरा हुन पाएन ।
म्याग्नेटिक इनर्जीमा काम गरिरहेका बेला हङकङको एक कम्पनीले महेशलाई फोन गरेर टाइअप गरेर काम गरौँ भन्यो । डिजाइन पठाउन भन्यो । तर, उनले विभिन्न कारणले डिजाइन पठाउन सकेनन् । त्यो अवसर उनले सदुपयोग गरेनन् ।
जब महेशले राष्ट्रपति र रोनाष्टका कुरा सुने, त्यो बेला उनको भित्री मनको कुनामा लुकेर रहेको कलाकारको सपना अंकुरण भयो । विज्ञान र अनुसन्धानमा लाग्ने वातावरण छैन भने मलाई रहर लागेको क्षेत्र नै ठिक छ त । अर्थात्, अभिनय । महेश तिनै व्यक्ति हुन्, जसको सिनेमा केही दिन अगाडि सिनेमा हलमा रिलिज भएको थियो । चपली हाइट–३ का प्रहरी अफिसर नै महेश त्रिपाठी हुन् । जो दुई दशक अगाडि नेपाली फुच्चे वैज्ञानिकका रूपमा देशदेखि विदेशका मिडियामा छाएका थिए । उनको तिखो दिमागको कदर गर्दै उनलाई अमेरिकी संस्था गेकिजलाइटले उनलाई छात्रवृत्ति उपलब्ध गरायो ।
इन्जिनियरिङ सकेर उनले कलाकारितातर्फ फड्को मारे । ओस्कार इन्टरनेसनल कलेजको गेट अगाडि पुग्नुअघि उनले यसका लागि ठूलै संघर्ष गरे । इन्जिनियरिङ त्यसमा पनि बाल्यावस्थामै अथाह सम्भावना देखाएको छोरो यो क्षेत्रलाई चटक्कै छोडेर सिनेमाको रंगीन दुनियाँमा आउन सजिलो थिएन । त्यसैले उनले घुमाउरो तरिकाले भूमिका बाँध्न थाले । जुन क्षेत्रमा पर्याप्त विकास भएको छैन, त्यो क्षेत्र अथाह सम्भावना भएको क्षेत्र हो भनेर बुवालाई सुनाइरहेछ । बुवाले उदाहरण खोजे । महेश नेपाली चलचित्र क्षेत्र भन्थे ।
“तर, यति भन्न मलाई निकै धेरै समय लाग्यो । सिधै भन्न नसकेर सुरुमा मैले सामाजिक कथावस्तु बोकेका चलचित्रहरू ल्याएर देखाएँ । त्यसपछि नेपालमा रिसर्च गरेर राम्रो विषयमा राम्रो चलचित्र बनाउन सकिन्छ भनेँ,” महेश स्मरण गर्छन्, “बुवा शिक्षक र त्यसमा पनि राइटर भएकाले उहाँले कुरा बुझ्नुभयो । तर, यसका लागि मैले निकै मिहिनेत गर्नुपरेको थियो ।”
त्यसपछि उनी ओस्कार आइपुगे र पढे । हम्मेसी जस्तो पायो त्यस्तै स्टोरीमा काम नगर्ने उनलाई थुप्रै अफरहरूले पछ्याए । तर, उनी लोभिएनन् । त्यसैले त उनी फिचर फिल्ममा झन्डै दशक अगाडि डेब्यु गरे पनि सर्ट फिल्मै रमाइरहे । कारण विषय र प्रस्तुति नै हो । हरेक फिल्म उस्तै लाग्ने । त्यसमा गुडियाझैँ लाग्ने कलाकारको रोलले उनको मन खिच्न सकेन । त्यसैले उनी सर्ट फिल्मकै दुनियाँमा रमाइरहे । आफैँ पढेको कलेजको एकेडेमिक डिपार्ट हेड भएर अध्यापन र अध्यनमै रमाइरहे ।
बच्चैमा इन्धन र विद्युतविना चल्ने मेसिन बनाएका, ध्वनिबाट काम गर्ने रोबोट बनाएका अनि हाइड्रो इन्जिन बनाएर साइन्स एन्ड टेक्नोलोजीमा अथाह सम्भावना बोकेका महेशले अन्ततः मेसिनसँगको छिनाझपटी छोडेर मान्छेको इमोसनसँग खेल्ने पेसा रोजे । उनले अब नेपाली दर्शकको मन जित्नुपर्नेछ । सके नेपाली भूगोल छिचोलेर टाढा–टाढा पुगेर कलाको सीमा र बन्धन हुँदैन भनेर प्रमाणित गर्नुपर्नेछ । होइन भने पेसा फेर्ने उनको निर्णयको औचित्य प्रमाणित हुने छैन । अथाह सम्भावना देखेको सिनेमाको भर्जिन ल्यान्डमा आफ्नै सपनाको छायामा अलप हुनुपर्नेछ ।