काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारी समितिको पहिलो दिनको बैठक सम्पन्न भएको छ । पार्टी मुख्य कार्यालय बालकुमारीमा शुक्रबारदेखि सुरु भएको बैठकको पहिलो दिन आज छलफलका लागि १२ बटा एजेन्डा प्रस्तुत भएको छ । जसमध्ये पहिलो नम्बरको निर्वाचन प्रयोजनका लागि फागुन १५ भित्र दल दर्ता गर्ने निर्णय भएको छ ।
कार्यकारी सदस्य मनिष सुमनकाअनुसार शनिबार बस्ने बैठकबाट एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बाह्रखरीलाई जानकारी दिए ।
“सबैलाई एमसीसीबारे अध्ययन गर्न फोटोकपी वितरण भएको छ । भोलिबाट एमसीसीको विषयमा छलफल हुन्छ,”उनले भने ।
एमसीसीको विषयमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गराउनुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
आजको बैठक सुरु हुनु अगावै नेताहरूबीच बैठक नबोलाएको सम्बन्धमा चर्कोकर्की भएको थियो । भट्टराई पक्षका नेताहरूले यादवले पार्टी एकलौटी चलाएको भन्दै आक्रोश पोखेका थिए ।
“असन्तुष्टि राख्दाराख्दै बैठक केही ढिला गरी सुरु भयो,” सुमनले भने,“सोचेजस्तो तीव्र असन्तुष्टि भने पार्टीमा रहेन । विषय मन्थर हुँदै गएको छ ।”
बैठक भोलि १२ बजेबाट पुनः सुरु हुने बैठकमा सहभागी नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।