काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् ।
बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केही नहुने बताए ।
त्यस्तै छलफलपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सबै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिए ।
एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेताहरूसँगको भेटघाट गरेका हुन् ।