चलचित्र निर्माता भन्छन्– मौलिक चलचित्र बनाउँछु भन्दा राज्यले आर्थिक सहयोग गर्दैन ।
निर्देशक भन्छन्– अपर मुस्ताङ गएर चलचित्र खिच्छु, त्यो दृश्य विदेशी दर्शकले हेर्छन् र नेपाल घुम्न आउँछन् भन्दा पनि राज्यले सहयोग गर्दैन ।
गायक/गायिका भन्छन्– राज्यले रोयल्टीका लागि खै के गर्यो हामीलाई ? केही गरेको छैन ।पहिला म्युजिक कम्पनीले लुटे, अहिले सञ्चारमाध्यमहरुले हाम्रा सिर्जना सित्तैमा बजाइरहेका छन् तरराज्य मौन छ ।
सबैको गुनासो राज्यसँग छ । राज्यले के दियो हामीलाई भन्ने छ । यथार्थमा जिन्दगी लिनुमात्रै होइन, दिनु पनि हो । त्यो भन्दा पनि ठूलो कुरा त सन्तुष्टि हो । जनताले दिने मायाँ र निहुर्याउने शिरको सम्मान पनि हो ।
समाज सेवा र सहयोग पनि जिन्दगीको अंश हो । समाज सेवा भन्नेबित्तिकै एनआरएनए अध्यक्ष शेष घलेको तहमा उत्रिएर मोटो रकम खर्चिनुपर्छ भन्ने होइन । जति सकिन्छ त्यती गर्नु सबैको दायित्व हो ।
प्रसंग कलाकारले राज्यसँग गरेको अपेक्षा र उनीहरुको दायित्वको हो । हुन त नेपालमा कलाकारलाई कलाकारिता गरेर मात्रै जिन्दगी चलाउन त्यति सजिलो छैन । हास्य कलाकार राजाराम पौडेलदेखि गायक कर्णदाससम्म अमेरिका पुगेर फर्किए । सरोज खनाल देखि करिष्मा मानन्धर अमेरिका पुगेर आए । रमेश उप्रती केही वर्ष बसेर आए, अहिले चलचित्र बनाउँदैछन् । यस्ता थुप्रै नाम छन् विदेश पलायन भएका । केहीलाई वाध्यता र विवशता होला त केहीलाई रहर । जे होस् कलाकारिताले दह्रो खुट्टा टेकिसकेको छैन । केही कलाकारलाई छोड्ने हो भने अधिकांशलाई साइड विजनेश गर्नुपर्ने अवस्था छ ।
पाइरेसीले कम्पनी तथा कलाकार थलिएका छन् । सीडी क्यासेट बिक्री हुँदैनन् । युट्युबबाट कसरी कमाउने धेरैलाई थाहै छैन । थाहा भएकाले पनि सानो रकम मात्रै यसबाट रिटन्र्स पाउन थालेका छन् । यसको अर्थ युट्युबबाट पनि कमाउन सजिलो छैन भन्ने हो ।
दुई महिना अगाडि पूर्वी नेपालको चर्चित ब्याण्ड आउटसाइडर्सका मेन भोकलिष्ट डिल्ली फोम्बो भन्दैथिए, मेरो गीतको भ्युज १० लाखभन्दा माथि थियो । कति आउँछ भनेर सोधेको कम्पनीले ४–५ हजारको हिसाब निकाल्यो । त्यति पैसा के लिनु भनेर वास्तै गरिन ।
युवा पुस्ताका आत्मा, ‘आत्मामा...’ गीतका गायक कमल खत्रीको गीत म गीत हुँ तिम्रो युट्युबमा साढे ९ लाख भ्युज पुगेपछि युट्युबबाटै ‘क्लिन स्विप’ भयो । उनले फेरि अपलोड गर्नुपर्यो गीत । यसको अर्थ हामी नयाँ प्रविधिसँग अभ्यस्त हुन बाँकी छर यसको सदुपयोग गर्न सकिरहेका छैनौं भन्ने हो ।
तर, पनि एउटा उखान छ, “जहाँ इच्छा त्यहाँ उपाय ।” यदि बलियो इच्छाशक्ति र चौडा छाती छ भने समाज सेवा गर्न सकिन्छ । आपतमा परेकालाई सहयोग गर्न सकिन्छ । मात्रै सहयोगी मन र ठूलो हृदय चाहिन्छ ।
कलाकारले बर्सेनि थुप्रै स्टेज कार्यक्रम गर्छन् । चलेका कलाकार देश/विदेशका गरी वर्षमा दर्जनौं ‘स्टेज शो’ पाउँछन् । ती कार्यक्रमबाट प्राप्त पारिश्रमिक उनीहरुकै भनाइमा आकर्षक हुन्छ । त्यो त भयो श्रमको मूल्य । उनीहरुले आफैं खर्च गर्न पाउनुपर्छ । त्यसमा कसैको दाबी विरोध गर्ने कुरा पनि भएन । र, हुने पनि छैन ।
तर यस्तै कार्यक्रम पनि आयोजना गर्न सकिन्छ जसको उद्देश्य केवल कमाउन मात्रै नभएर समाज सेवा गर्ने होस् । यसरी सहयोग गर्ने संस्कारको विकास गर्न सकियो भने त्यसले कालान्तरमा संस्कृतिकै रुप पनि लिन सक्छ । जसको श्रेय कलाकार र आयोजककै पोल्टामा पर्छ ।
इभेन्ट आयोजकले यसमा अझ बढी तदारुकता देखाउन र यसको ठूलो हिस्सेदार हुन सक्छन् । कलाकार आफैंले पनि यसको पहल गर्न सक्छन् ।
यस्ता कार्यक्रम समाज सेवा वा कसैको सहयोगार्थ भनेर आयोजना हुँदै नभएका त होइनन् । महँगो टिकट विक्री गरेर कार्यक्रम हुने नगरेका पनि होइनन् । तर तीनगन्य मात्रामा छन् । यसमा पनि कार्यक्रम कति पारदर्शी हुन्छन् ?कोहीसँग लेखाजोखा छैन । चाहे त्यस्ता कार्यक्रम मुलुक भित्रका हुन् या बाहिरका । यस्ता कार्यक्रमप्रति सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बेला भएको छ । अझ भनौं ढिलो भइसकेको छ ।
अर्को महत्वपूर्ण पक्ष आफूलाई राष्ट्रका गहना ठान्ने र राज्यले हेरेन भनेर खबरदारी गर्दै राज्यको आलोचना गरिरहने कलाकारलाई राज्यले केही गरिदिएको छैन होला त्यो आफ्नै ठाउँमा छ । भलै कालाकारले आजसम्म समाज सेवा वा पीडितको सहयोगार्थ गरेका कार्यक्रम अथवा गैरकलाकारका लागि गरेका कार्यक्रम कति छन् ? उपचार नपाएर अलपत्र परेका कलाकारका लागि सहयोगार्थ कार्यक्रम भएका छन् । त्यसको मुक्त कण्ठले प्रशंसा गर्नुपर्छ । धुर्मुस सुन्तली फाउन्डेसन र दीपकराज गिरीले सहयोगको घोषण गरेका छन् । उनीहरुले सुरु गरेको यो बाटो अरुले पनि पछ्याउनु पर्छ । यसमा जो पछि पर्छ ऊ आफ्नो नैतिकता र ‘करियर’मा पनि पछि पर्नेछ ।
कलाकारको करियरसँग जोडिएर आउने एक दुई पत्रकारका लागि सहयोग गर्नु बाहेक गैरकलाकारको जीवनरक्षार्थ यस्ता कार्यक्रम कमै भएका छन् । यो तीतो यर्थाथ हो ।
के यो देशका आम जनता नागरिक हैनन् ? उनीहरुप्रति जिम्मेवारी छैन ?आफ्नै कलाकार साथीहरुलाई पर्दा सहयोगको याचना गर्दै देश विदेशमा कार्यक्रम गरेर मोटो रकम उठाउने कलाकार आफ्नो सानो चौघेरा भन्दा माथि उठ्न सक्तैनन् ?
शुक्रबारबाट परेको अविरल वर्षाले देश डुवेको छ । जनता बाढीपहिरोको चपेटामा छन् । सयौं गरिव नागरिकको ज्यान गएको छ । कयौं व्यक्तिको घर बाढीले बगाएको छ । अभिभावक गुमाएका लालाबालाको चिल्लीविल्ली भएको छ । तर तपाईं कलाकारहरु यति बेला देश विदेशका स्टेज कार्यक्रममा नाचिरहनु भएको छ । देश दुख्दा तपाइँको मन दुख्क्तैन ? बाउआमा गुमाएर भोको पेटमा शोकमा डुबेका अबोध बालकालिका खुला आकाशमुनी सहयोगी हात र मनको पर्खाइमा बसेका छन् । उनीहरुलाई सहयोग गर्नु तपाइँको दायित्व हैन र ? तपाइँको एउटा प्रस्तुतीले चहर्याइरहेको घाउमा मलमपट्टी बाधिन्छ भने किन तपाईं उठ्न सक्नु हुन्न ?
समाज र देशप्रतिको आफ्नो दायित्व बोध गर्दै आफ्नो कोटरीबाट माथि उठौं र सहयोगका लागि आपसी मुठ्ठी कसौं । हैन भने राष्ट्रको गहना कलाकार हुँ भन्दै नाक फुलाएर हिँड्नुको कुनै अर्थ हुने छैन ।
आफूलाई सहयोग सम्मान खोज्नेले अरुलाई पनि केही दिन सक्नुपर्छ । तपाइँले झुकेर नमस्कार गरे मात्रै सामुन्नेको ब्यक्तिले तपाइँलाई पनि झुकेर नमन गर्छ । तपाईं आफू हात नजोडी कसैलाई नमस्कार गर्नुहुन्छ भने तपाइँलाई उसले पनि मुखैले नमस्कार गर्छ तर झुक्दैन भन्ने तथ्यलाई मनन् गरौं ।