कुमारी लामा
बर्सेनिजसो विश्वका विभिन्न सहरमा ‘फ्री टिबेट’को नारा उर्लिन्छ । आत्मदाह प्रयासका घटना पनि दोहोरिरहन्छन् । सामान्य अवस्थामा के कसैले आफ्नो ज्यानमा आगो झोस्न सक्ला ?
अनागरिक हुनुको गहिरो पीडा र आफ्नो राष्ट्रप्रतिको सीमातीत प्रेमकै कारण ऊ आफैलाई सिध्याउन पनि तयार हुन्छ । पुर्खाको थातथलो छाडी अर्काको देशमा भगुवा शरणार्थी हुनु, अनागरिक र राष्ट्रविहीन हुनुको गहिरो चोट त छँदै छ, साथमा आफ्नो ठाउँ, भाषा र संस्कृतिबाट उखेलिनुको पीडाले पनि संसारभर छरिएका प्रत्येक तिब्बती पिरोलिएकै छन् ।
त्यही पिरोलाइका केही पाटो उजागरको प्रयत्न हो मालिका केशरीको पछिल्लो उपन्यास, दुङाल ।
दुङालबाट छुटकाराको कामना गर्छन् उपन्यासकार केशरी । दुङाल अर्थात् पीर, पीडा या दुःख । भोट भाषाको शब्दबाट उपन्यासको नामकरण गर्नुको विशेष अर्थ छ, यस उपन्यास तिब्बती शरणार्थीहरूको कथा वरपर बग्छ । विभिन्न पात्रहरूको देशप्रेमदेखि व्यक्तिगत प्रेमसम्मको यात्रा हो, दुङाल ।
चिनियाँ सैनिक दमनको समय, रक्तपात, मृत्युको भय र युद्धको आलो घाउ मनमनमा बोकी पुर्खाको थातथलो छाडी दक्षिणतिर लागेका तिब्बतीहरूको हृदयभरि चोट, छुटाइ, त्रास र सबभन्दा बढी आफ्नै ठाउँबाट लखेटिनुका पीडा छन् ।
विभिन्न कारणबाट आफ्नो देश छाडी अर्काको शरणमा पर्ने सबैको वेदना एउटै नै हो, चाहे ती रोहिङ्गा हुन्, अफ्गानी, भुटानी या तिब्बती नै किन नहुन् । दुङालले नेपाल छिरेका तिब्बती शरणार्थीहरूको अनिश्चित भविष्य र अनागरिक हुनुको पीडाको दृष्टान्त उजागर गर्दछ । साथमा यस उपन्यासले दुःखकै माझ पनि विभिन्न पात्रबीच झाँङ्गिएको प्रेम प्रसंगलाई सुन्दर ढंगमा प्रस्तुत गरेको छ ।
डोल्मा र वाङ ली, सेरिक र लोप्साङ, कार्चुङ र नेपाली केटा विश्वदीप सबै प्रेमको डोरीले बाँधिएका पात्र हुन् । भलै, ती सबैका प्रेम कुनै एक निश्चित विन्दुमा पुगेर टुटेकै छन् । प्रेमदेखि प्रेमसम्मको यात्रा नै हो, दुङाल ।
आधा शताब्दीभन्दा बढी समयदेखि नेपाल भित्रिएका र विभिन्न क्याम्पमा बसिरहेका तिब्बती शरणार्थीको विषयमा लेखिन बाँकी धेरै छन् । श्रीभक्त खनालको ‘अप्ठ्यारो बाटो’ले केही कुरा उप्काएता पनि उनीहरूको पलायनसँग जोडिएका ऐतिहासिक र राजनीतिक विषयका गहन पुस्तक आउन बाँकी नै छन् (केही अनुसन्धान कृतिहरू छन्) ।
आख्यानकै रूपमा पनि उनीहरूबारे पढ्ने अवसर नजुरिरहेको बखत केशरीको यस उपन्यासले तिब्बती शरणार्थीको विषयमा निश्चय नै केही प्रकाश पारेको देखिन्छ । यद्यपि, तिब्बती शरणार्थीको खास समस्यालाई भने पाठकको अपेक्षाअनुरूप लेखकले सम्बोधन गर्न सकेको देखिन्न ।
तनहुँको दुलेगौँडानजिकको सेती बगरको क्याम्पका घटनाक्रमसँगै कथा अघि बढ्छ । लेखकको खास ध्याउन्न प्रेमका विविध विषय उजागरतिर भएको भान हुन्छ । उनी चिनियाँ सैनिक कमान्डर वाङ ली र तिब्बती युद्धबन्दी डोल्माबीचको प्रेमदेखि शरणार्थी शिविरकी युवती कार्चुङको नेपाली केटा विश्वदीपप्रतिको एकतर्फी प्रेमको विस्तारपूर्वक बयान गर्दछन् ।
लोप्साङ र सेरिकको असफल प्रेम र गुम्बाको यात्रा होस् या शरणार्थी युवतीहरूको नेपाली युवाहरूसँगको प्रेम र विवाह आदि पनि प्रेमकै सेरोफेरोमा घुम्दछन् । तर, कसैको प्रेम पनि सफल भएको देखिन्न । ती सबैका सम्बन्धहरू विछोड र टुटाइमा टुंगिएका छन् । त्यस अर्थमा दुङाल एक वियोगान्त कथाको दस्तावेज हो ।
अम्बा चोर्ने क्रममा समातिएका नेपाली केटा विश्वदीपले मन चोरी लगेकी कार्चुङको एकतर्फी प्रेम, निरन्तरको प्रतीक्षा र केवल एकाध भेटकै आधारमा उसैको लागि समर्पित रहन तयार हुने कार्चुङको व्यक्तित्व निर्माणमा लेखकले न्याय गर्न नसकेको प्रस्ट हुन्छ ।
त्यसो त विश्वदीपबारे पनि केही स्पष्ट नभन्नु, उनको सामाजिकता, विचार, भाव केही पनि नदेखाई एक रहस्यमयी पात्रको रूपमा खडा गर्नु पनि त्यस पात्रप्रतिको अन्याय नै हो । खासमा मूल पात्र कार्चुङलाई पितृतन्त्रले निर्धारण गरेको सीमाभित्रको भावुक, निस्क्रिय, संवेदनशील र मौन पात्रकै रूपमा लेखकले उभ्याएका छन् ।
कार्चुङ केवल आफैसँग मात्र बोल्छे । उसले कहिल्यै विश्वदीपलाई केही भन्नै सक्दिन । ऊ केवल, ‘जवाफमा भन्न मन लागेको थियो...’ भन्दै आफैभित्र कुरा गुम्स्याउँछे ।
सेती मोदीको दोभान, सुरौँदी खोलाको चहलपहल, सेती बगरको तिब्बती शरणार्थी शिविरका वृद्धवृद्धाको निराशा, आरसी कार्ड (रिफ्युजी कार्ड) नहुका समस्यादेखि छुटेको प्रेम सम्झँदै मृत्यु कुरी बसेका डोल्मा आदिका कथाको उजागरले शरणार्थी जीवनको एक दुःखद पक्षको चित्रण गरेको छ ।
प्रेम र समर्पणका कुरा, आशक्ति र आशाबाट मुक्तिको बाटो, आकांक्षा र चाहभन्दा परको अवस्था आदिको वकालतले लेखकको जीवन चिन्तनको पुष्टतालाई बल प्रदान गरेको पाइन्छ । विश्वदीपको प्रतीक्षामा कुर्चाङले नौ वर्ष पाँच महिना उन्नाइस दिन खेर फालेपछि बल्ल ऊ त्यस युवकको यादबाट छुट्काराको प्रयत्नमा लाग्छे ।
सम्भवतः लेखकको तर्फबाट भएको असल कार्य भने त्यस एकतर्फी प्रेममा पागलसरह भएकी शरणार्थी युवतीको मुक्तिको निर्णय नै हो । नत्र त लेखकले युद्धबन्दी डोल्मालाई पनि वाङ लीको पे्रममा एकोहोरिएर जीवन बिताएको देखाएका छन् । खासमा डोल्मा र सेना कमान्डरको प्रेम कहानीले तिब्बतीमाथिको चिनियाँ बर्बरता र ह्रिंसक व्यवहारलाई कतै ग्लोरिफाइ त गरिरहेको छैन भन्ने प्रश्न पनि पाठक मनमा जाग्न सक्छ ।
तिब्बती शरणार्थीबारे धेरैले थाहा पाएका केही झलकबाहेक लेखकले गहिराइका खास कुरा निकाल्न नसक्नु यस कृतिको सीमा हो । ‘तिब्बत विलय र शरणार्थीका समस्या नै दुङालका मुख्य कथा वस्तु हुन्’ भनी प्राध्यापक रमेशकुमार ढुङ्गेलले दाबी गरेजस्तो तिब्बती शरणार्थीको मूल समस्या नभेटे पनि पाठकले सुललित भाषामा लेखिएको एक मिठासपूर्ण प्रेम कहानी भने अवश्य भेट्नेछन्, दुङालमा ।
प्रेमकै पस्काइमा पनि सेरिक र लोप्साङबीचको प्रेम कहानी अघि बढ्न नसकेपछि उनीहरू लामा र आनी बनेको घटनालाई भने तिब्बती या नेपालका उच्च हिमाली क्षेत्रका शेर्पा र तामाङ समुदायको विशेष संस्कृतिमाथिको प्रहारको रूपमा पाठकले औँल्याउन सक्ने सम्भावना छ ।
दुङालमा तिब्बती शरणार्थीका विषयहरू पाखापाखा तर्किएता पनि प्रेमसँग जोडिएका विभिन्न पात्रको भोगाइले निश्चित पाठकलाई भने पक्कै आकर्षित गर्न सक्छ ।
सिनेमाका दृश्यहरूसरह उघ्रिने च्याप्टरहरू यथार्थ र कल्पनाका उडानमाझ कतै वेगपूर्ण र कतै शुष्क उडान भरेका छन् । प्रेमदेखि प्रेमसम्मको यात्राका लागि उपन्यासकारलाई शुभकामना ।