काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले माघ १५ गते भारतबाट आयातित ठूलो मात्रामा नक्कली मदिरा बरामद गर्यो ।
राजस्व समेत छली गरेर नेपाल ल्याइएको करोडौँरुपैयाँ बराबरको मदिरा बरामद गरिएको थियो । नक्कली रेड लेबल, सिभास र अस्युलुट भोड्का बरामद गरिएको हो ।
भारतका विभिन्न राज्यबाट ती मदिरा भन्सार छलेर ल्याइएको थियो । तर ती मदिराका आधिकारिक बिक्रेता नेपालमा छन् जो भन्सार तिरेर भित्र्याउँछन्, राज्यलाई कर तिर्छन् ।
अपराध महाशाखाको टोलीले पक्राउ गरेका चार जनाबाट २९६ कार्टुन मदिरा बरामद गरिएको थियो ।
बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराविरुद्धको अपरेसनलाई ‘अपरेसन लिमा’ नाम दिएको थियो ।
भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिराहरू भारतबाट नेपाल भित्र्याउने काम गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो मदिराहरू पार्टी प्यालेसमा बढी बिक्री गर्ने गरेको खुलेको छ ।
काठमाडौंमा मात्रै होइन यसरी भन्सार छलेर ल्याइएका मदिरा नारायणगढ बजार, बेनीसहित मुलुकका विभिन्न स्थानमा भेटिएको एक व्यवसायीले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
“हामीले पोखराका डिपार्टमेन्टल स्टोरमा पनि भेट्यौँ,” ती व्यवसायीले बाह्रखरीसँग कुरा गर्दै भने, “कास्कीको लेखनाथमा रहेको एउटा पसलमा यसरी भित्र्याइएको मदिरा नै बढी थियो । सीमावर्ती जिल्लामा त कति भित्रिन्छ कुरै नगरौँ ।”
तराईका जिल्लासहित पहाडका पनि अधिकांश क्षेत्रमा यस्ता मदिरा पुगेपछि वास्तविक व्यवसायी मर्कामा परेको उनको दाबी छ ।
“हामीले सरकारलाई जति कर तिरेका छौँ, त्योभन्दा सस्तो पर्नेगरी बजारमा त्यस्ता मदिरा भित्र्याइएको छ । एकातिर चोरी पैठारी गरिएका सामग्रीले बजार ढाकेको छ, अर्कोतिर सरकारलाई राजस्व घाटा भएको छ । जो नियमभित्र रहेर व्यापार गरिरहेका छौँ । हामी सबै नराम्रोसँग मर्कामा परेका छौँ ।”
उनले सरकारले कर कम लगाउनुपर्ने, भारतबाट चोरी गरेर ल्याइएका त्यस्ता मदिरा बरामद गर्नुपर्ने र वास्तविक व्यवसायीको संरक्षण नगर्ने हो भने राज्यले ठूलो आर्थिक भार बेहोर्नुपर्ने बताए ।
उनले भारतमा पनि अन्तःशुल्क कम भएपछि मदिराको व्यापार बढेको र त्यसले राजस्वमा टेवा पुगेको बताए ।
“हामीले सरकारलाई पनि यसबारेमा जानकारी गराएका थियौँ,” ती व्यवसायीले भने, “सरकारले रोक्न चाहेको भए रोक्न सक्थ्यो । एकातिर कर बढी लगाइएको छ अर्कोतिर चोरी गरेर ल्याएको मदिरा पसल र पार्टी प्यालेसमा पाइएको छ ।”
उनले भारतबाट ल्याएको मदिरा नक्कली नभए पनि कर तिर्नु नपरेका कारण पार्टी प्यालेससहित होटलहरुले सस्तोमा लिएर वास्तविक बजार बिगारेको बताए ।
“सकेसम्म रक्सी नखाएकै राम्रो तर खाने व्यक्तिलाई कसैले रोक्न सक्दैन,” उनले भने, “भारतमा सस्तो भएको कारणले नेपालमा तस्करी बढेको हो । यसले भारत सरकारलाई मात्रै फाइदा गर्छ नेपाललाई गर्दैन ।”
भारतमा सस्तो गर्दा सरकारलाई फाइदा भयो ?
भारतका कतिपय राज्यमा मदिराको मूल्य कम गर्दा राज्यलाई नै फाइदा पुगेको त्यहाँका केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतको पश्चिम बंगालमा सबै किसिमका मदिराको मूल्य २५ प्रतिशतले कर बढाइएपछि सरकारको आम्दानी घटेको पाइएको छ ।
अन्तःशुल्क विभागका अनुसार मदिरामा २५ प्रतिशत या सो भन्दा बढी कर लगाइएका प्रदेशहरुमा यसको व्यापार ४५ प्रतिशतले घटेको हो । उता करमा कुनै घटबढ नगरेका क्षेत्रमा चाहिँ मदिराको व्यापारमा वार्षिक रुपमा १२ प्रतिशत मात्र गिरावट देखियो ।
त्यस्तै कुनै कर लागू नगराएका २२ प्रदेशमा चाहिँ व्यापार झन्डै अघिल्लो वर्षकै बराबर रहेको समाचारमा उल्लेख छ ।
भारतको महाराष्ट्र सरकारले पनि मदिरामाथिको कर घटाउने घोषणा गरेको थियो । उद्धव ठाकरेको सरकारले मदिरामा लगाइँदै आइएको विशेष कर ३०० प्रतिशतबाट घटाएर १५० प्रतिशतमा झारेको छ ।
यता इन्धनको मूल्य अकासिइरहँदा सरकारले मदिरा सेवनको कर चाहिँ घटाएकामा जनताबाट आलोचित पनि हुनुपरेको थियो ।
यसमा सरकारले अन्य प्रदेशबाट मदिराको तस्करी कम गर्नका लागि पनि यस्तो उपाय लगाएको भनेर आफ्नो बचाउ गर्दै आएको छ ।
सरकारले पेट्रोलमा मात्र प्रति लिटर २९.५ भारु कर लगाएको हुँदा यसअघि मूम्बइमा पेट्रोलको भाउ ११० भारु प्रति लिटर पुगेको थियो । त्यसैले विपक्षी नेताहरुले सरकारले इन्धनको कर घटाउनुको सट्टा किन मदिरामा कर छुट दिइरहेको भनेर प्रश्न उठाएका थिए ।
यता महाराष्ट्रमै वाइन उद्योगलाई बढावा दिनका लागि सुपरमार्केटहरुमा वाइन बिक्री गर्न दिने प्रस्ताव पनि अघि सारिएको छ ।
यसमा वार्षिक लाइन्सेन्स शूल्क पाँच हजार भारतीय रुपैँया मात्र लाग्ने भनिएको छ ।
यसले भारतीय बजारमा वाइनको पहुँच बढाउने र त्यसले सरकारको राजस्व बढ्ने व्यवसायीको तर्क रहेको छ ।