काठमाडौं । मंगलबार बिहान श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको गुनासो सेन्टरमा दुबईमा अलपत्र एक नेपालीले फोन गरे ।
‘‘म अलपत्र परेको छु । नेपाल फर्किन चाहन्छु । पासपोर्ट, डकुमेन्ट फिर्ता मागेको छु । दिँदै दिँदैनन । मलाई बन्धक बनाएका छन्,” ती अलपत्र परेका व्यक्तिले गुनासो टिपाउँदै भने ।
उनको गुनासो सम्बन्धित निकायमा पुर्याउने आश्वासन दिइयो ।
मन्त्रालयले आइतबारदेखि कल सेन्टर सुरु गरेको हो । कल सेन्टर सुरु गरेको दुईदिनमै गुनासाहरुको चाङ लागेको कल सेन्टरका कर्मचारीहरु बताउँछन् ।
यस्तै कतारमा अलपत्र अर्का व्यक्तिले फोन गरेर गुनासो टिपाए । उनले दुई वर्षअघि वर्किङ भिसामा गएर काम गरेको बताए ।
‘‘दुई वर्षअघि काम गर्ने गरी आएको थिएँ । काममा लगाइयो । तलब पाइनँ । श्रम शोषण गरियो,” उनले भने ।
उनले भिसा नम्बर कन्सल्टेन्सीको नाम पनि गुनासो सेन्टरमा टिपाएका छन् । गुनासो सेन्टरमा आउने फोनहरु अधिकांश भिजिट भिसामा गएकाहरु छन् ।
कल सेन्टरका कर्मचारीले कन्सल्टेन्सीबाट गएको भए छिट्टै प्रक्रिया अघि बढ्ने र व्यक्तिमार्फत् गएको भए समय लाग्ने बताउँदै उनीहरुका गुनासा टिपिरहेका छन् ।
कल सेन्टरमा दुई दिनमा ६ सय भन्दा बढी विदेशमा अलपत्र नेपालीहरुले गुनासो टिपाएका छन् । गुनासो टिपाउनेहरुमा अधिकांश व्यक्तिमार्फत भिजिटभिसामा विदेश गएकाहरु रहेको मन्त्रालयले जनाएको छ ।
दुबई, मलेसिया, कतारलगायत खाडी मुलुकमा गएका अधिकांश नेपालीहरुले आफु अलपत्र परेको गुनासाहरु टिपाएका हुन् ।
भिजिट भिसामा र व्यक्तिमार्फत् गएका अधिकांश नेपालीहरु ठगीमा परेको भन्दै गुनासो टिपाएको कल सेन्टरमा बस्ने कर्मचारीले जानकारी गराएका छन् ।
विदेशमा काम गर्दा अंगभंग भएर नेपाल फर्किन चाहनेहरुको गुनासाहरु पनि केही आएका छन् । यस्तै भनेजस्तो काम नपाएर नेपाल आउन चाहने नेपालीहरुको गुनासो पनि आएको छ ।
विदेशको लेबर क्याम्पमा बन्धक बनाएर राखिएको अवस्थामा अलपत्र र बस्न दिएको तर खाना नदिएको अवस्थामा अलपत्र नेपालीले गुनासो टिपाइरहेका छन् ।
दुई वर्ष पहिले वर्किङ भिसामा साउदी पुगेका आनन्दकुमार यादवले तलब नदिइ बन्धक बनाएर राखिएको गुनासो केही दिन पहिले मन्त्रालयका अधिकारीहरुलाई सुनाएका थिए ।
काम गर्ने समयावधि सकिँदा पनि नेपाल जान नदिइ कागजात बन्धक बनाएर राखिएको थियो । बस्न दिएको र खाना नदिएको अवस्थामा अलपत्र परेको बताएका थिए ।
त्यसपछि मन्त्रालयको पहलमा साउदीको एक दुतावास मार्फत उनी नेपाल पुगे ।
त्यस्तै विभिन्न मितिमा व्यक्तिमार्फत् भिजिट भिसामा युएई पुगेका तनहुँका रामदास सुनार, सुवोध नेपाली, गोरखाका नवराज खड्का, सोही गाउँकै लालबहादुर भट्ट, जय नरेश तामाङ, दिलिप विश्वकर्मालाई मन्त्रालयको पहलमा उद्दार गरियो ।
अहिलेसम्म मन्त्रालयको पहलमा केही अलपत्र नेपालीको उद्दार भइसकेको छ ।
कल सेन्टरकी सुपरभाइजर सरिना महर्जनका अनुसार दुई दिनको तथ्यांकलाई हेर्दा १० लाखसम्म व्यक्तिलाई बुझाएर अलपत्र परेको गुनासाहरु आएका छन् ।
‘‘अधिकांश व्यक्तिमार्फत भिजिट भिसामा विदेश गइ अलपत्र परेका नेपालीहरुले गुनासो टिपाएका छन् । तर विदेशमा मृत्यु भएर शव नेपाल ल्याउने र श्रम स्वीकृति लिइ गएकाहरुको गुनासो कम छन् । मन्त्रालयमा गुनासो टिपाएको थाहा पाएर उनीहरुलाई थप यातना दिइएको गुनासाहरु पनि आएका छन्,” उनले भनिन् ।
मन्त्रालयले विशेषगरी विभिन्न रोजगारको प्रलोभनमा परी श्रम स्वीकृति नलिइ विदेशिएर अलपत्र परेका नेपालीहरुको उद्धारको पहलका लागि २४सै घण्टा गुनासो सुन्ने गरी गुनासो सेन्टर स्थापना गरेको छ ।
अलपत्र परेकाहरुले गरेका गुनासाहरु समाधान गर्न मन्त्रालय मातहतका सबै निकायमा एक–एक जना फोकल पर्सन तोकिएको छ ।
कल सेन्टरका कर्मचारीहरुले ती गुनासाहरु फोकल पर्सनलाई पठाउँछन् । पुनः फोकल पर्सनले कल सेन्टरमा गुनासाहरुको प्रतिक्रिया पठाउँछन् । त्यसपछि अलपत्रहरुलाई थप जानकारी गराइन्छ ।
वैदेशिक रोजगारीमा जान चाहने नेपालीले श्रम स्वीकृति लिएर प्रक्रिया पुर्याएर मात्रै विदेश जान मन्त्रालयले आग्रह गर्दै आएको छ ।
भिजिट भिसाको समस्या समाधान गर्न मन्त्रालयको नेतृत्वमा गृह मन्त्रालय, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, श्रम मन्त्रालय, अध्यागमन विभाग, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र बैदेशिक रोजगारी विभागको कार्यदल मार्सल टिम गठन गरिएको छ ।
उक्त मार्सल टिममा सीआईबी लगायतको टोली सक्रिय छ ।
मार्सल टिमका संयोजक तथा मन्त्रालयका प्रशासन शाखा अधिकृत विष्णु लामिछानले ठगी गर्ने एजेन्ट वा व्यक्तिहरुलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।
‘‘ठग्ने एजेन्ट होस् या व्यक्तिलाई तत्काल कारवाही गर्ने प्रक्रिया अघि बढाइसकेका छौँ । तोकिएको रुपैयाँभन्दा बढी रुपैयाँ असुलेर कतार पठाउँदै आएको सिनामंगलस्थित मिनुवा म्यानपावर कम्पनीलाई सोमबार कारवाहीको दायरामा ल्याएका छौँ,” उनले भने ।
विगत लामो समयदेखि तोकिएको रुपैयाँ भन्दा बढी रुपैयाँ असुल्दै आएका म्यानपावर सञ्चालकलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।
‘‘थप अनुसन्धान भइरहेको छ । यस्तै अन्य गोप्य सूचनाहरु आएका छन् । विश्लेषण भइरहेको छ । कारवाही गर्छौँ । पीडित पक्षलाई उद्धार गरी ठगी भएको रुपैयाँ फिर्ता गराइदिन्छौँ,” उनले भने ।
म्यानपावरको ठगिने प्रवृत्ति न्युनीकरण गर्न लागि परेको उनको भनाइ छ ।
विभिन्न प्रलोभनमा परी विदेशमा अलपत्र तथा ठगीमा परेका नेपालीहरुका गुनासो समस्याहरु सुन्नका लागि विभिन्न नम्बरहरु सार्वजनिक गरेको छ ।
मन्त्रीको सचिवालय ९८२३२५६७०४, ९८२३२५६७०६ निःशुल्क फोन ११४१ वा १६६००१५०००५ विदेशबाट वा सशुल्क फोन ९७७१५९७०००८ भाइबार ह्वाटस्एप ९७७९८०१८०००१३ इमो ९७७९८०१३०००३३ मा सम्पर्क गरी सीधै गुनासो टिपाउन आग्रह गरेको छ ।