काठमाडौं । गएको मंसिर २३ गते मुगुको सोरु गाउँपालिका–४, फोतुका ७१ वर्षीय मान्ते शाही बिरामी श्रीमती हाँसु शाहीलाई लिएर घरबाट हिँडे । गल्फागाड–बाजुरा–कोल्टी हुदै करिब साता दिनपछि नेपालगन्ज आइपुगे ।
नेपालगन्जमा आफन्तको डेरामा बसेर भेरी अस्पतालमा मान्तेले श्रीमतीको उपचार गराए । उनकी श्रीमती विगत लामो समयदेखि दमको रोगले ग्रसित छिन् । पाँच वर्षदेखि दम बढ्दै जाँदा झन्–झन् कष्ट हुँदै गयो ।
उपचार खर्चको अभावमा मान्तेलाई श्रीमतीको राम्रो उपचार गराउने आँट जुटिरहेको थिएन । त्यसो त उनले आर्थिक अवस्थाले भ्याएसम्म गाउँकै स्वास्थ्यचौकीदेखि जिल्ला अस्पताल मुगुसम्म सामान्य उपचार गराउँदै आएका थिए ।
‘‘गाउँको स्वास्थ्यचौकीमा कति उपचार गराएँ गराएँ । जिल्ला अस्पताल मुगुमा पनि उपचारका लागि पुर्याएँ, तर सुधार भएन । त्यसपछि यहाँसम्म आइपुगियो,” मान्तेले भने ।
मान्तेले श्रीमतीको उपचारका लागि विगत डेढ वर्षदेखि खाइ नखाइ ६० हजार रुपैयाँ वृद्धभत्ता जम्मा गरेका थिए । वृद्धभत्ताले नेपालगन्ज आएर केही उपचार गराएको उनी बताउँछन् ।
‘‘केही दिन भेरी अस्पतालमा उपचार गराएँ । उपचारपछि पनि अक्सिजन लगाउनैपर्ने भएपछि १६ हजार रुपैयाँ हालेर अक्सिजन किनेँ । अक्सिजन केही दिनपछि सकियो । पुनः श्रीमतीलाई दम बढ्न थाल्यो,” उनले भने ।
मान्तेले आफन्तबाट काठमाडौंमा छिटो–छरितो र राम्रो उपचार हुन्छ भन्ने सुनेका थिए । त्यसैले उपचारका लागि काठमाडौं ल्याए । श्रीमतीकै उपचारको लागि उनी पहिलोपटक काठमाडौं आए । उनकी श्रीमती हाल पाटन अस्पतालको आईसीयूमा उपचाररत छिन् ।
काठमाडौंबारे अन्जान मान्ते एक्लै अस्पताल बाहिर निस्कन पनि सक्दैनन् । पाटन अस्पतालसम्म पनि आफन्तकै सहारामा पुगे ।
मान्ते दम्पतीको वृद्धभत्ता बाटो खर्च र उपचार खर्चमै सकिएको छ । तर, उपचार सकिएको छैन । ‘‘भएको सबै खर्चपानी सकियो । श्रीमतीको उपचार सकिएन । वृद्धभत्ता सकियो । आफन्तबाट मागेको ऋण पनि सकियोे । तर, स्वास्थ्यमा कुनै सुधार देखिएन,” उनले भने ।
अस्पतालको दोस्रो तलामा रहेको आईसीयूको ७ नम्बर बेडमा मान्तेकी श्रीमती उपचाररत छिन् । भएको खर्च सबै सकिँदा कुरुवाकक्षमा मान्ते आर्थिक अभावमा छटपटाइरहेका छन् ।
‘‘अक्सिजनको सहायतामा बाँचिरहेकी छिन् । तर, औषधि किन्ने पैसा छैन । एउटै औषधिको ५–१० हजार पर्दो रहेछ,” मान्तेले भने ।
मान्तेका ज्वाईं गोविन्द देवकोटा ललितपुरस्थित एक कम्पनीमा सेक्युरिटी गार्डको जागिर गर्छन् । देवकोटा भन्छन्, ‘‘गएको पुस २६ गते इमरजेन्सीमा उपचार गर्न भर्ना गरेका थियौँ । त्यसपछि स्वास्थ्यमा केही सुधार आएपछि ३० गते डिस्चार्ज गर्यौँ । ११ हजार रुपैयाँ हालेर अक्सिजन सिलिन्डर किनेर डेरामै अक्सिजन जोड्यौँ । केही समयमै अक्सिजन पनि सकियो । त्यसपछि पुनः दम बढ्न थाल्यो ।”
स्वास्थ्यमा सुधार नआएपछि माघ २ गते पुनः अस्पताल लगेर वार्डमा राखियो । वार्डमा जटिल हुने भन्दै अस्पतालले पुनः आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने भनेपछि आईसीयूमा सारियो ।
२६ गतेदेखि नै देवकोटा सेक्युरिटीको काम गर्न गएका छैनन् । उनकी श्रीमतीले १५ हजार रुपैयाँ ऋण निकालेर केही दिनको औषधि खर्च चलेको थियो ।
देवकोटाका अनुसार केही रकम अस्पतालले धरौटी बुझाउन भनेको छ । उक्त रकम जम्मा गर्न नसकिएको उनले बताए ।
मान्ते भन्छन्, ‘‘पहिलोपटक वृद्धभत्ता, ऋण सापट जोरजाम गरेर काठमाडौंमा श्रीमतीको उपचार गर्न आएँ । गाउँदेखि नेपालगन्जसम्म आउँदा भाडा, यताउता गर्दा रुपैयाँ सकियो । त्यहाँ जसोतसो केही उपचार गर्न सकियो । काठमाडौं आउँदासम्म सबै पैसा सकियो,” मान्तेले भने ।
अहिले उनकी श्रीमतीको स्वास्थ्यमा सुधार छ । तर, औषधि किन्ने पैसा नहुँदा समस्या भएको मान्तेको भनाइ छ ।
‘‘भत्ता सकियो । ऋण सापट गरेको पैसा सकियो । डाक्टरले यो औषधि किन्नुपर्यो, त्यो औषधि किन्नुपर्यो भन्न थाले । बिरानो सहरमा कहाँबाट औषधि किन्ने पैसा जुटाऊँ र श्रीमतीलाई बचाऊँ ? अक्षर पढ्न, लेख्न जान्दैनौँ । नेता, कर्मचारी कसैलाई रुवाउँदैनौँ (चिन्दैनौ) । बिहान–बेलुका छाक टार्न समेत गाह्रो छ,” उनले भने ।
श्रीमतीको अवस्था गम्भीर हुँदै जान थालेपछि र उपचार खर्च सकिएपछि मान्तेले गाउँमा रहेका छोरा विर्जनलाई फोन गरेर बोलाए । विर्जन ऋण सापट मागेर काठमाडौं आए ।
विर्जनले ऋण सापट गरेर गाउँबाट ल्याएको रुपैयाँ पनि सकिएको बताए । ‘‘आमालाई कसरी बचाउने ? ऋण सापट लिएर आएको सबै रुपैयाँ सकियो । खल्तीमा दुई हजार बाँकी थियो । त्यो पनि सकियो । ऋण लिने सबै ठाउँबाट लिइसकेँ । अब भन्ने ठाउँ छैन,” विर्जनले बाह्रखरीसित भने ।
शाहीको परिवारका सदस्यहरूको जागिर, व्यवसाय छैन ।
गए राति अस्पतालमा कुरुवा बसेका विर्जनको स्वास्थ्यमा पनि समस्या देखिएको छ । विर्जनका बुवा (मान्ते)का अनुसार उनलाई रुघाखोकी र ज्वरो आएको छ ।
श्रीमतीलाई केही साह्रोगाह्रो पर्दा सहयोग गर्ला भनी गाउँबाट छोरालाई बोलाएको मान्तेले बताए । इमरजेन्सी, वार्ड र आईसीयू गरी आज २२ दिन बितिसकेको छ ।
गाउँमा पर्याप्त जग्गा छैन । सरकारले दिएको वृद्धाभत्ताले जीवन गुजारा गर्न भरथेग गरेको मान्तेको भनाइ छ ।
आइतबार केही सामाजिक दाताहरू अस्पताल पुगेर आठ हजार रुपैयाँ सहयोग गरेका छन् । उनी भन्छन्, ‘‘आइतबार समाजसेवी हौँ भन्दै दुईजना आएर आठ हजार रुपैयाँ दिएर गएका छन् । दुई हजार बिहानै सकियो । अब बाँकी ६ हजार मात्रै छ,” उनले भने ।
पाटन अस्पताल प्रशासनले आर्थिक अभावमा उनको उपचारमा कुनै पनि रोकटोक नलगाएको दाबी गरेको छ । अस्पतालका मिडिया फोकल प्रसन डा. रविन शाक्यले बिरामीलाई भेन्टिलेटरमा उपचार गराएर अहिले आईसीयूमा सारिएको जानकारी दिए ।
‘‘अस्पतालमा हुँदै नभएको औषधि हामीले पैसा खर्च गरेर ल्याउन सक्दैनौँ । यसबाहेक अस्पतालबाट पाउने सेवा–सुविधा सबै पाएको छ । विनापैसा उपचारमा कुनै पनि रोकटोक लगाएका छैनौँ,” उनले भने ।
पाटन अस्पताल आफ्नै स्रोतले चल्ने गरेको उनले बताए । ‘‘सरकारले अलग्गै केही पनि दिएको हुँदैन । सकेसम्म हामीले पनि उपचार खर्च बुझाउन नै भन्ने हो । तर, उनको उपचारमा कुनै पनि किसिमको रोक लगाइएको छैन । स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ,” डा. शाक्यले भने ।