काठमाडौं । पुस १६ गते धनकुटा नगरपालिका ४ छारागाँउकी सीता श्रेष्ठ आफ्नै घरबाट हराइन् । उनका श्रीमान सिताराम भनिने सिताकुमार श्रेष्ठ र उनीबीच सधैँ घरायसी वादविवाद र झैझगडा भइरहन्थ्यो । दुईजना नै मादक पदार्थ सेवन गर्थे । जाँडरक्सी खाएर कहिले श्रीमती त कहिले श्रीमान घर आउँदैन थिए । श्रीमान–श्रीमती हराउने र आउने कुरा छिमेकीहरुलाई सामान्य लाग्थ्यो ।
श्रीमती हराएपछि श्रीमानले जाँडरक्सी खाएर श्रीमती कता हराइभन्दै छिमेकीसँग कुराकानी गरेका थिए । श्रीमती हराएको चार दिनपछि सिताराम गाउँबाट आफैं हराए । सिताराम गाउँकै उद्योगमा काम गर्थे भने श्रीमती घरायसी काम गर्थिन् ।
सिताराम हराएको केही दिनपछि छिमेकीलाई घटना शंकास्पद लाग्यो । त्यसपछि उनका छिमेकी अरुण श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धनकुटामा खोजतलासका लागि निवेदन दिए । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त घटना खोजतलासका लागि प्रहरी टोली खटायो ।
धनकुटाका डीएसपी सुरज कार्कीका अनुसार सीता हराएको दिनमा दुबै जनाको झगडा भएको थियो । दुबै जनाले मदिरा सेवन गरेर झगडा गरेका रहेछन् । भोलिपल्ट सीता घरबाटै हराइन् । हराएपछि गाउँका छिमेकीसँग सितारामले श्रीमती रक्सी खाएर कता हराइ भनेर भनेको कार्कीले बताए ।
‘‘श्रीमान श्रीमतीबीच झैझगडा भएर हराएको खबर पाएपछि प्रहरी टोली खटायौँ । पुस १६ गते श्रीमती हराएकी थिइन् । त्यसको चार दिनपछि श्रीमान हराए । दुबैजना हराएपछि छिमेकीलाई शंका लागेछ । त्यसपछि मात्रै प्रहरीलाई खबर गरियो,” डीएसपी कार्कीले भने ।
डीएसपी कार्कीका अनुसार प्रहरीले उक्त घटनामा खोजतलास गर्दै जाँदा सिताराम हराएको तीन सातापछि ललितपुरको बाँडेगाउँबाट पक्राउ गरियो ।
‘‘सिताराम साथीभाइ, आफन्तसँग रमाइरहेको बेलामा पक्राउ गर्यौं । गाउँले छिमेकीले श्रीमतीपछि श्रीमान पनि हराएको खबर प्रहरीलाई पुर्याए अनुसार अनुसन्धान थाल्यौँ । सोही क्रममा हामीले सितारामका छोरीहरुसँग सोधपुछ गर्यौंँ,” डीएसपी कार्कीले भने ।
त्यसपछि सितारामले प्रहरीलाई आफैं मारेर भागेको वयान दिएका थिए । ‘‘सधैंजसो दुबै जनाले बेलुका मदिरा सेवन गरेका थिए । सिताराम आफैले मारेको र घरभित्रै गाडेर भागेको बयान दिए,” डीएसपी कार्कीले भने ।
सितारामको बयान अनुसार उनले घरभित्रै खाल्डो खने । प्रहरीले घरभित्र दुईफिटको खाल्डो खनेर माथिबाट तौलियाले छोपेर गाडिएको अवस्थामा शव फेला पार्यो । सितारामले भने अनुसार खाल्डो खन्दै जाँदा शव भटिएको डीएसपी कार्कीले बताए । शरीरमा चोटहरु देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनी आफैले श्रीमतीको हत्या गरेर खाल्डोमा पुरेका हुन् । घटनामा दोस्रो व्यक्तिको संलग्नताबारे खुल्न नआएको प्रहरीले जनाएको छ । ‘‘सबै काम आफैले गरेको बयान सितारामको छ । अन्य व्यक्ति संलग्न हुनसक्नेबारे केही खुलेको छैन । अनुसन्धान जारी छ,” डीएसपी कार्कीले भने ।
उनीहरुका चारजना छोरीहरु सबै विवाहित छन् । एकजना १३ वर्षका छोरा उनीहरुको साथमा थिए । छोराले कम बोल्ने गरेको डीएसपी कार्कीले जानकारी दिए । उनलाई प्रहरीले सोधपुछ गर्दा बुवाआमाले झगडा गरेको बताएका थिए ।
घटनाबारे थप छानबिन भइरहेको डीएसपी कार्कीले बताए । श्रीमतीको हत्या गर्ने सिताकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।