काठमाडौं । सडियो मानेको टाउकोमा चोट लागेको खेलमा सेनेगलले मंगलबार राति केप भार्डेलाई २–० ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
५३औँ मिनेटमा लिभरपुलका फरवार्ड मानेको विपक्षी गोलकिपर भोजिन्हासँग ठोक्किँदा टाउकोमा चोट लागेको थियो । रेफ्रीले भोजिन्हालाई रातो कार्डको दर्शन गराए । मैदान छाडेका भोजिन्हालाई अस्पताल लगिएको थियो । मानेले ६३औँ मिनेटमा गोल गरे । उनकै गोलबाट सेनेगलले अग्रता लिएको थियो ।
गोल गरेपछि खुसी मनाएका माने एक छिनपछि पुनः मैदानमा ढलेका थिए । त्यसपछि मानेले मैदान छाडेका थिए । उनलाई पनि अस्पताल लगिएको थियो ।
मानेले पछि फेसबुकमा गोलकिपर भोजिन्हासँग अस्पतालमा मुस्कुराइरहेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘‘सबै ठिक छ । सुस्वास्थ्यको कामना गर्नुहुने सबैलाई धन्यवाद ।’’ माने अस्पतालको बेडमा बसेका छन् भने भोजिन्हा सँगै उभिएका छन् ।
त्यसअघि, केप भार्डे नौ खेलाडीमा सीमित भइसकेको थियो । २१औँ मिनेटमा प्याट्रिक एन्ड्रेडले रातो कार्डको सामना गरेपछि केप भार्डे १० खेलाडीमा सीमित भएको थियो । मानेलाई फाउल गरेपछि गोलकिपर भोजिन्हाले रातो कार्डको सामना गरे । त्यसपछि केप भार्डे नौ खेलाडीमा सीमित भएको थियो । अफ्रिकन कप अफ नेसन्सको अन्तिम–१६ को पछिल्लो पाँच खेलमा सात रातो कार्ड देखाइएको छ ।
इन्ज्युरी समयमा अहमाडौ बाम्बा डिइङले अर्को गोल थपेपछि सेनेगलको जित पक्का भएको थियो । सेनेगलले अब क्वार्टरफाइनलमा माली र इक्वेटोरियल गिनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मोरोक्को २–१ मलावी
मंगलबार राति नै मोरोक्कोले मलावीलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । मलावीले सातौँ मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन असफल भयो । पहिलो हाफको इन्ज्युरीमा मोरोक्कोका युसुफ इन–नेस्रीले बराबरी गोल फर्काएका थिए ।
७०औँ मिनेटमा आच्रफ हाकिमीले मोरोक्कोको अग्रता दोब्बर बनाए । त्यही गोल मोरोक्कोको जितमा निर्णायक बन्यो । मोरोक्कोले अब इजिप्ट र आभोरी कोस्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।