काठमाडौं । पुरातात्विक महत्त्व बोकेका सामग्री चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ का १८ वर्षीय सुमन शर्मा र रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ का ३६ वर्षीय वीरबहादुर सुनारलाई पक्राउ गरेको हो ।
०७२ सालको विनाशकारी भूकम्पमा केशरमहलमा क्षति पुग्दा त्यहाँका पुरातात्विक सामग्रीहरू केशर पुस्तकालयमा राखिएको थियो । सोही समयमा पुरातात्विक महत्त्व बोकेकोे बाघको टाउको, दुईथान तरबारलगायत चोरी भएको थियो । प्रहरीले उक्त सामग्री काठमाडौं महानगरपालिका–२६ मा फेला पारेको थियो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ ।