site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केयू र पीयूका विद्यार्थी संक्रमित हुँदा पनि परीक्षामा, त्रिविको पनि फरक छैन हालत
SkywellSkywell

काठमाडौं । कोभिड संक्रमित हुँदा पनि पूर्वाञ्चल विश्वविद्यालय(पीयू)का विद्यार्थीहरूले जबरजस्ती परीक्षामा सामेल हुनु परेको छ ।

पीयूअन्तर्गत काठमाडौं स्कुल अफ ल (केएसएल)मा बिएएलएलबी पाँच वर्षे पढिरहेका विद्यार्थीहरू कोरोना संक्रमित भएपनि परीक्षामा सम्मिलित हुनुपरेको हो । 

विद्यार्थीहरूले सुरुमा कोरोनाको लक्षण नदेखिएको तर परीक्षा दिन सुरु गरेपछि लक्षण देखिन थालेको बाह्रखरीलाई बताएका छन् । नाम नखुलाउने सर्तमा एक छात्रले भने, “मलाई केही भएको थिएन । तर, २६ पुसमा परीक्षामा बसेपछि एक्कासी खोकी लाग्ने, रुघा लागेको र घाँटी दुख्न थाल्यो ।” उनकाअनुसार परीक्षामा सामेल दोस्रो वर्षमा पढिरहेका २५० विद्यार्थीमा सय जनालाई संक्रमण देखिएको छ । 

Dabur Nepal
NIC Asia

कान्तिपुर इन्टरनेसनल कलेज र हिमालयन ह्वाइट हाउस कलेजमा रीक्षा केन्द्र परेका यी विद्यार्थीहरूले सामान्य स्वास्थ्य मापदण्ड नअपनाई परीक्षा सञ्चालन भइरहेको जानकारी समेत दिएका छन् । कक्षाकोठामा प्रत्येक बेन्चमा दुई जना राखी खचाखच भरेको र विद्यार्थीको ज्वरोसमेत नापिएको छैन । २६ पुसको परीक्षामा बेवास्ता गरेपनि बुधबार भएको दोस्रो परीक्षामा स्यानिटाइजरको व्यवस्था गरिएको उनीहरूको भनाइ छ ।

यस्तै, सुजाता कार्की (नाम परिवर्तन)का अनुसार परीक्षामा दिने क्रममा विद्यार्थीले बारम्बार खोक्दा परीक्षा निरीक्षक आई विद्यार्थीको मुहार हेर्ने र फर्किने गरेको बताइन् । “मलगायत मेरा साथीहरू खोकी रहेका छौँ । अस्तिदेखि मलाई घाँटी दुख्ने, ज्वरो आउने र टाउको दुख्ने भइहेको छ । तर कलेजले वास्ता गरेको छैन । अस्पताल भर्ना भएपछि मात्र बिरामी भएको पत्याउने त होइन होला,” उनले भनिन् ।

काठमाडौंमा ओमिक्रोनको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिँदादिँदै पनि लापरबाहीपूर्वक परीक्षा सञ्चालन गरेपछि केएसएलमा चौथो वर्ष पढीरहेका विद्यार्थीले बुधबार परीक्षा केन्द्र अगाडि प्रदर्शन गरेका थिए । शान्तिपूर्वक गरिएको प्रदर्शनमा प्रहरी ल्याई धरपकड गरेर लगिएको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताएका छन् । उक्त सेन्टरमा कानुनको मात्रै होइन, पीयूअन्तर्गत अन्य संकायअन्तर्गत अन्य विषयका परीक्षाहरू भइरहेका छन् ।

कोरोना संक्रमित विद्यार्थी पनि परीक्षामा सामेल हुँदा संक्रमण नभएका विद्यार्थीमा समेत संक्रमण देखिएको छ । पीयू र यसका आंगिक क्याम्पसहरूमा नर्सिङ, व्यवस्थापन, समाजशास्त्र विषयका परीक्षाहरू चलिरहेको छ । फरक फरक संकायका विद्यार्थी राखेर परीक्षा सञ्चालन भइरहँदा जो कोहीमा कोरोना सरेको सुजाता बताउँछिन् । भन्छिन्, “मेरो घरमा वृद्ध हजुरबुबा र हजुरआमा हुनुहुन्छ । विश्वविद्यालयको यस्तो लापारबाहीले मेरो कारणले उहाँहरूमा कोरोना सर्ला भन्ने डर भयो । उहाँहरूलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने ?”

विद्यार्थीहरूको प्रश्न छ– इन्ट्रान्स अनलाइन लिने, अनलाइन नै पढाउने तर परीक्षा चाहिँ भौतिक रूपमै किन लिनुपर्‍यो  ? त्यो पनि कोरोनाको महामारीमा । 

पीयूका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत भने सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गराई परीक्षा गराइरहेको दाबी गर्छन् । उनले कोभिड संक्रमण भएका विद्यार्थीले जानकारी दिए छुट्टै कोक्षाकोठमा राखेर परीक्षा लिइरहेको बताए पनि विद्यार्थीहरूले भने, “मुखले मात्र सबै कुरा पुरा भएको तर व्यवहारमा लागु भएको छैन । हामी ज्यान जोखिममा राखेर परीक्षा दिइरहेकै छौँ ।” कानुन विषयको मात्रै परीक्षा पुसदेखि फागनुसम्म तन्काइएको छ । यस्तोमा सबैमा कोरोना हुनेमा विद्यार्थी र अभिभावकहरू आँतिएका छन् ।

पीयूअन्तर्गत सम्पूर्ण संकाय गरेर २६ हजार विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी, काठमाडौं विश्वविद्यालयअन्तर्गत काठमाडौं स्कुल अफ लमा पढ्ने विद्यार्थीहरू कोरोना संक्रमित भएपनि परीक्षामा सहभागी भएका छन् । संक्रमित हुँदा के गर्ने भनेर प्रशासनले जानकारी नगराएपछि एक वर्ष गयल होला भन्ने डरले विद्यार्थी परीक्षा परीक्षामा सहभागी भएको पाइएको छ । पछि परीक्षा दिनेक्रममा कोरोना संक्रमणले गाह्रो भएपछि विद्यार्थीले प्रशासनलाई खबर गरेपछि अन्ततः कुरा बाहिर आएको थियो । 

यसबारेमा केयूका प्रवक्ता उद्धव प्याकुरेलसँग जिज्ञासा राख्दा उनले विद्यार्थी परीक्षामा सहभागी भएको तर कोरोना संक्रमण भन्ने थाहा पाउने बित्तिकै परीक्षा स्थगित गरेको जानकरी दिए ।

यति मात्रै होइन, सबैभन्दा धेरै विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयले परीक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ । ट्विटरमा प्रोफेसर नामका एक प्रयोगकर्ताले कानुन संकायअन्तर्गत एलएलबी तेस्रो वर्षको परीक्षाको तालिका राख्दै लेखेका छन्, “यो एक्जाम सार्न पर्‍यो । कोरोना महामारीको अवस्थामा कसरी परीक्षा दिने ? विद्यार्थीको सुरक्षाको प्रत्याभूति खै ?” १० माघदेखि २४ सम्म एलएलबीको परीक्षा हुने तालिका छ ।

यता सामाजिक सञ्जालमा विद्यार्थीहरूले कोरोना जोखिम बढिरहेको बेला अहिले परीक्षा नगर्न विश्वविद्यालय तथा सरकारसँग अनुरोध गरिरहेका छन् । विशेषगरी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको एक सातामा कोभिड संक्रमण मुलुकमै उचाइमा पुग्ने र माघको तेस्रो साता सबैभन्दा उच्च विन्दुमा पुग्ने जानकारी दिएपछि विद्यार्थी र अभिभावक पिरोलिएका हुन् ।

त्रिविका सहायक परीक्षा नियन्त्रक डा. घनश्याम ठाकुरले बुधबार परीक्षा विज्ञान संकायको परीक्षा यथावत भएको जानकारी दिए । उनले गुहमन्त्रालयसँग सीसीएमसीसीको बैठक बसिरहेको र बिहीबारसम्म केही टुंगो लाग्ने बताए ।

फागनु २ गतेदेखि स्नातकतर्फ व्यवस्थापन संकायको नियमित र बीए नियमति तथा बीएड पुरानोको परीक्षा गर्ने भनेर मंगलबारै त्रिविले तालिका सार्वजनिक गरेको छ । उनकाअनुसार एउटा समूहले परीक्षा हुनुपर्छ भन्ने र अर्को समूले कोरोना संक्रमण बढेकाले परीक्षा स्थगित गर्नुपर्ने बताइरहेको छ । “विश्वविद्यालयले के गर्ने ? ठ्याक्कै के भन्ने कुन समूहको कुरा मान्ने । हामी अहिल्यै केही भन्न सक्ने स्थितिमा छैनौँ," उनले भने ।

हाल त्रिविअन्तर्गत विज्ञान संकायको चौथो वर्षको परीक्षा मंगलबारबाट सुरु भएको छ । मुलुकभर १० हजार र काठमाडौंमा करिब ६ हजारले ८ वटा सेन्टरबाट परीक्षा दिइरहेका छन् । माघ १५ सम्म यसको परीक्षा सकिनेछ । यस्तै, काउन्सिलिङ साइकोलोजीको मंसिरदेखि रोकिएको परीक्षा अहिले भइरहेको छ । 

कानुन संकायमा सेमेस्टरको पहिलो वर्ष र वार्षिकतर्फ तेस्रो वर्षको परीक्षा हुँदैछ । जसमा नियमतितर्फ १० हजारभन्दा बढी छ ।

कोभिड भएकोलाई अन्य कक्षाकोठामा राखेर परीक्षा भइरहेको डा. ठाकुर बताउँछन् । सबै परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर भइरहेको उनले दाबी गरे पनि यथार्थ भने फरक छ ।

त्रिविको सेमेस्टर प्रणालीमा २८ वटा कार्यक्रम छन् । जसमा सम्बन्धित विषयका डिन कार्यालयबाटै उक्त परीक्षा सञ्चालन हुने गरेको छ । तर, लाखौँ विद्यार्थी हुने गरेको वार्षिकतर्फको परीक्षा परीक्षा नियन्त्रण कार्यालय बल्खुले नै लिने गरेको छ । सेमेस्टर प्रणालीमा जेड आकारमा विद्यार्थी राखी स्वास्थ्य नियम पालना गरेपनि वार्षिकतर्फ भने यो हुन सकेको छैन । 

यसबारे आजै रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले विद्यार्थीको उत्तरपुस्तिका सेयर गर्दै ट्विट लेखे, “क्याम्पसले लिएको आन्तरिक परीक्षामा एक विद्यार्थीले यति लेखे र परीक्षा छाडे । एक महिना अघिको कुरा हो यो ।” उक्त विद्यार्थीले उत्तरपुस्तिकामा “कोभिडको मापदण्ड पालना नभएको कारण म यो जाँच दिन सक्दिनँ । यो चाहिँ जसको घरमा कोरोनाले मान्छे मरेको छ उसलाई सोध्नु सिरियस हो  कि हैन भनेर,” लेखेका छन् ।

अझै ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप पाएका छैनन् । त्यसमाथि अधिकांश विद्यार्थीले खोप लगाउन पाएका छैनन् । ओमिक्रोनको संक्रमण दिन दुईगणा रात चौगुणा बढीरहँदा न त सरकारले विद्यार्थीका लागि कुनै सम्बोधन गरेका छ न त विश्वविद्यालयले नै ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu