काठमाडौं । अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन् । उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
“विवाह गर्दिन भनेपछि किन गर्नु हुन्न भन्दै कारण सोध्नुहुन्छ, त्यसैले त्यो प्रश्न टार्नका लागि मैले २०७९ मा विवाह गर्छु भनेको हुँ । हुन त प्रत्येक वर्ष म अर्को वर्ष विवाह गर्छु भनिरहेकै हुन्छु,” रेखा भन्छिन् ।
अभिनेत्री थापाले विवाहको खबर हल्ला मात्रै भएको बताउन खोजे पनि उनले आगामी वर्ष हुने भनिएको उनको विवाहको कुरालाई भने नकारिनन् ।
“फेरि मैले विवाह गर्दिन भनिहाले भने अरु हाम्रो बहिनीहरुमा पनि विवाह नगर्दा पनि हुन्छ भन्ने सन्देश जाला भनेर पनि विवाह गर्छु भनेको हो,” उनले ठट्यौली स्वभावमा जवाफ दिइन् ।
उनी आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ । उनी आउँदो वैशाखमा विवाह गर्ने तयारीमा छन् । मिति भने फाइनल हुन अझै बाँकी छ । तपाईंको विवाह वैशाखमा हुने हो भन्ने जिज्ञासामा उनले भनिन्, “फिक्स भइसकेको छैन । यो न्युज पनि लेख्नुपर्छ र ?”