
काठमाडौँ । ध्रुवे हात्तीको नाम नसुन्ने को होला ? शनिबार रातिदेखि पुनः ध्रुवे हात्ती चर्चामा छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका अमल्दार गुप्तबहादुर थापा ध्रुवेको आक्रमणमा परेपछि ऊ फेरि चर्चामा आएको हो ।
निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणबाट शनिबार बेलुका करिब पौने ७ बजे सैनिकहरु गस्तीको लागि साइकल चढेर गएका थिए । तीनजना अघि र सैनिक थापा पछाडि थिए । अचानक बायाँपट्टिबाट आएको ध्रुवेसँग उनको जम्काभेट भयो ।
ध्रुवेको खुट्टाले किचियो, उनी घाइते भए । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा सैनिक थापाको ११ः३५ मा मृत्यु भयो ।
ध्रुवेबाट मारिएका थापा पहिलो व्यक्ति होइनन् । यसअघि पनि थुप्रै जना ध्रुवेको आक्रमणमा परेर ज्यान गुमाएका छन् । सैनिक थापाको ज्यान ध्रुवेले नै लिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल बताउँछन् ।
कहाँबाट आयो ध्रुवे ? विगत कस्तो थियो ?
यसरी पटक–पटक ज्यान लिने गरेको ध्रुवे चितवनमै जन्मिएको भने होइन । न त चितवन राष्ट्रिय निकुञ्जभित्रै बसिरहन्छ ध्रुवे ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार ध्रुवे पूर्वी क्षेत्र झापा जिल्लाबाट आएको हो । झापा हुँदै आए पनि ध्रुवे भारतबाट आएको कतिपयको आकलन छ ।
ध्रुवेको चर्चा सबैभन्दा पहिले २०६६ मा निकुञ्जमा कार्यरत गोरखबहादुर गणका सिपाही रिद्धिवीर दोङलाई मारेपछि सुनिएको थियो ।
त्यसबेला ध्रुवेलाई रिद्धि दोङ नामले बोलाइन्थ्यो ।
०६९ कात्तिक–पुसको महिना भने विशेष छ ध्रुवेको लागि । त्यसबेला चितवन निकुञ्जमा राति गस्तीलाई छक्याएर हात्तीहरु गाउँतिर जाने र उपद्रो मचाउने गर्थे । त्यसमा ध्रुवेको नाम अग्रपंक्तिमा जोडियो । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने माडी गाउँबस्तीमा निस्केर जंगली हात्तीले चारजना मान्छेसमेत मारेपछि गाउँबस्तीलाई आतंकित बनाएको थियो ।
त्यो आतंक मच्चाउन थालेपछि ध्रुवे नामले सबैले चिन्न थालेको निकुञ्जका संरक्षक वेदबहादुर खड्का सुनाउँछन् ।
तर कतिपय घटनामा ध्रुवे नभइ अरु हात्तीले आतंक मच्चाएको हुन सक्छ । ध्रुवेलाई त्यसै बदनाम गराइएको पनि हुन सक्ने उनको आकलन छ । तर कुनै हात्तीले आतंक मच्चायो कि ध्रुवेले नै भन्ने गरिन्छ ।
ध्रुवेको नामकरण पनि गज्जब छ । मान्छेको नाम राखिएको यस हात्तीको नाम ध्रुवे कसरी रहन गयो होला भन्ने कौतुहलता लाग्न सक्छ ।
केहीले ध्रुव नामका सिपाहीलाई उक्त हात्तीले मारेपछि नामै ध्रुवे रहेको सूचना अधिकारी तिवारी सुनाउँछन् । यस्तैगरी खड्काकाअनुसार निकुञ्जको ध्रुवपोस्टमा पहिलोपटक देखा परेकाले नाम नै ध्रुवे राखिएको बताउँछन् ।
करिब १२ वर्षदेखि चितवन निकुञ्ज क्षेत्रमा देखिएको ध्रुवे हात्तीले अहिलेसम्म १७ जनाको ज्यान लिइसकेको छ ।
ध्रुवेलाई नियन्त्रणमा लिएर मार्न पटक पटक प्रयास गरिएको थियो । एकपटक जनदबाबका कारण जिल्ला प्रशासन कार्यालय भरतपुर चितवनले १ पुस ०६९ मा बौलाएको भन्दै ध्रुवे हात्ती नष्ट गर्ने आदेश दिएको थियो ।
हात्ती मार्न निकुञ्ज प्राविधिक र सेनाका दुई विशेष टोली सम्भावित नाकामा खटिए ।
ध्रुवेलाई मार्न लाखौँ रुपैयाँ खर्चिनुका साथै ढुकेर पटक–पटक गरी ६३ राउन्ड गोली चलाइएको खड्का सुनाउँछन् ।
तर गोली चल्नासाथ ध्रुवे झाडीतिर भागेर बच्न सफल भयो ।
उनी भन्छन्, “किनकि हात्ती चलाख हुन्छ ।”
यसमा सही थप्छन्– बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोककुमार राम । केही समय चितवन राष्ट्रिय निकुञ्जमा अनुसन्धानकर्ताको रुपमा बिताएका उनले ध्रुवेलाई रेडियो कलर गरेका थिए । हात्तीको स्थान र हलचललाई अनुगमन गर्न रेडियो कलर गर्ने गरिन्छ । उनकाअनुसार हात्ती मार्न गाह्रो छ किनकि हात्ती विवेकशील प्राणी हो । भन्छन्, “मानिसभन्दा पनि चलाख हुन्छ । गोली छल्न सक्छ । आइपर्न सक्ने खतराको पहिचान पहिल्यै गर्न सक्छ ।”
त्यो घटनापछि ध्रुवे झन्डै दुई वर्षजति हरायो । पछिल्लो समय ध्रुवेका कुरा पुनः सुन्न थालेको सूचना अधिकारी तिवारी बताउँछन् ।
तर जंगल हात्तीको घर भएकाले उसको बासस्थानमा उसको अनुशासनमा बस्नुपर्ने संरक्षणकर्ताहरुको भनाइ छ ।
आखिर ध्रुवेले किन फेरि समस्या निम्त्याएको होला ? के ध्रुवे मात्रै समस्याग्रस्त हात्ती हो ?
ध्रुवे मात्रै होइन गोविन्दे, रोनाल्डो गरी मुलुकभरि ३७ वटा समस्याग्रस्त हात्तीको पहिचान भएको छ ।
जसमा ११ वटा हात्ती मरिसकेको अशोक सुनाउँछन् । हात्तीले किन आक्रमण गर्छ भन्नेबारे बुझ्न त्यसको इकोसिस्टमको बारेमा जान्नुपर्ने उनी बताउँछन् ।
जति दुघर्टना हुन्छ त्यसमा ध्रुवेको नाम नै अग्रपंक्तिमा आउने उनले बताए । उनले हात्ती बहुलाएको भन्ने जस्ता शब्दको कुनै ठोस आधिकारिता नभएको पनि बताए ।
भन्छन्, “हात्ती बहुलाएको भन्ने हुँदैन । तर मानिसजस्तै हात्तीको पनि किशोरावस्था (टीनसीप) हुन्छ । यसलाई हात्ती मातेको भनिन्छ ।”
हात्ती वर्षको दुईपटक असार, पुस र माघ महिनामा मात्तिने गर्छ । मात लागेको बेला उसले पोथी हात्ती (ढोई)सँग सहवास राख्न खोज्छ । “मानिस किशोरावास्थामा जसरी आफैँ मैमत्त भएर हिँड्छ, हात्ती पनि त्यस्तै हो,” अशोकले थपे ।
अर्को रोचक कुरा हात्ती बथानमा हिँड्छ । तर हात्ती मातृसत्तामा चल्छ । हात्तीको बथानको प्रमुख हजुरआमा हात्ती हुन्छ ।
अशोककाअनुसार विभिन्न कारणले ध्रुवेजस्ता हात्ती समूहबाट निकालिन्छन् । जस्तो जवान हात्तीले पोथी हात्तीलाई उमेर नपुग्दै जबर्जस्ती गरेमा हात्तीका बच्चा अपांग पनि जन्मिन सक्ने हुँदा माऊ हात्तीले त्यस्ता हात्तीलाई बथानबाट खेद्छन् ।
भन्छन्, “किनकि हरेक समूहमा डोमिनेट बुल एउटा हुन्छ । भर्खरै युवामा प्रवेश गर्न लागेको हात्तीले त्यहाँ जित्न सक्दैन । कि त हराएर बस्नुपर्छ । नत्र सधैँ उसको नियन्त्रणमा बस्नुपर्यो ।”
अर्को युुवा हात्तीले १५० देखि २ सय किलो खाना खान्छ र पानी पनि त्यही मात्रामा पिउँछ । खाना नपुग्दा पनि यस्ता हात्ती समूहबाट खेदिन्छन् ।
समूहमा फर्केर जान नसकेपछि यस्ता हात्तीले अर्कै समूहमा बस्न खोज्छन् । ध्रुवे पनि आफ्नो समूहबाट विविध कारणले छुट्टिएर एक्लै बसेको हात्ती हो । त्यसैले हात्ती एक्लै भएर आक्रमक भयो भन्दा उसको वातावरण बुझ्न जरुरी रहेको विज्ञहरु औँल्याउँछन् ।
हाम्रो घरमा बस्ने नियमजस्तै हात्तीको घरमा पनि बस्ने नियम छ ।
त्यसलाई बुझ्न त्यति कठिन छैन । वार्डेन अशोककाअनुसार ५ सय मिटर भित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगाहरु भाँचेका हुन्छन् ।
यस्तै, ३ सय मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ । हात्तीले नार्र र नुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ ।
यस्तै, हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने हो । “होइन भने हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र ?,” खड्का सुनाउँछन् ।
नेपालमा हाल २३० को हाराहारीमा हात्ती छन् । गत वर्षसम्मको आकडाअनुसार २८६ हात्तीको चोरीसिकारी र अन्य कारणले मृत्यु भएको छ । २० जिल्लामा सबैभन्दा बढी हात्ती र मानवबीच द्वन्द्व हुने गरेको छ । जसमा झापा, सुनसरी, सिन्धुली, सप्तरी, बारा, पर्सा, चितवन, बर्दिया र झापामा बढी द्वन्द्व हुने गरेको छ ।
सबैभन्दा बढी झापा र बर्दियामा ४०–४० जनाको हात्तीकै कारणले ज्यान गइसकेको छ ।