विराटनगर । सञ्जयकुमार चापागाईं मामाको संगतले होटेल व्यवसायमा लागे । विराटनगर महानगरपालिका–१२, दरैया बस्तीका उनी गरिखानकै लागि काठमाडौमा धेरै वर्ष भौँतारिए । सेफ हुँदै होटेल म्यानेजरसम्म भएका चापागाईं फेरि मामामै संगतले कृषिकर्ममा होमिएका छन् । त्यो पनि अत्याधुनिक प्रविधिसहित ।
सञ्जयका मामा गजेन्द्र शर्मा बन्जारा स्वीट्जरल्यान्डमा होटेल म्यानेजमेन्ट पढेर नेपाल फर्किए । केही समय काठमाडौंमा आफैँ होटेलमा जागिरे भए । तर, आफ्नै व्यवसाय गर्ने हुटहुटी चल्यो ।
“भो भान्जा अब अरूकोमा काम नगरौँ, आफैँ होटेल चलाऔँ,” शर्माले हौस्याउँदै आग्रह गरे, “यसरी हुँदैन, अब आफ्नै होटेल चलाउनुपर्छ ।”
दुवैको सल्लाह मिल्यो । त्यसपछि काठमाडौंको अनामनगरमा खुल्यो, दि ढावा होटेल । यो ०५८ तिरको कुरा हो । माओवादी द्वन्द्व उत्कर्षमा थियो । त्यति बेलै राजा वीरेन्द्र शाहको वंशनाश भयो । अब के होला भन्ने अन्योलमा पनि परे मामा–भन्जा ।
“त्यो बेला दैनिक ५० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । यो कमाइ हिसाबले धेरै थियो त्यस बेला,” विगत सम्झँदै सञ्जयले भने ।
पछि शर्मा चीन गए । माओवादी द्वन्द्व उत्कर्षमा पुगेकै बेला सञ्जय विराटनगर फर्किए । फेरि होटेल व्यवसायतिर लागे । तर, द्वन्द्वको प्रभाव होटेल क्षेत्रमा परेको थियो । धेरै जम्न सकेनन् । सामान्य कारोबार मात्र भयो ।
चीन पुगेका उनका मामा अहिले त्यहाँको हिल्टन होटेलका जीएम छन् । चीनकै अर्को होटेल कोन्ड्राइडमा पनि जिम्मेवार पदमा छन् ।
भारत सीमाको विराटनगरस्थित दरैया बस्ती पिछडिएको क्षेत्र हो । प्रदेश प्रहरी कार्यालयको पश्चिम पर्खालनजिकै यो बस्ती छ । बन्जाराले फेरि आफ्नो ठाउँ सम्झिए । अनि भने, “भान्जा, अब आफ्नै ठाउँमा कृषि र काउ फार्म खोलौँ ।” सञ्जयले यो प्रस्ताव स्वीकार गरेर काम अघि बढाए ।
पाँच बिघा जमिन खरिद गरे । कृषि फार्मको योजना बन्यो । पहिलो चरणमा उनीहरूले आठ करोड रुपैयाँ लगानी गरे । दरैयामा काउ फार्म र एग्रिकल्चर फार्म सुरु भइसकेको छ । बन्जारा कृषि फार्म कुल पाँच बिघा क्षेत्रफलमा विभिन्न योजनासहित सञ्चालनमा आएको छ । उत्पादित दूध र अर्ग्यानिक तरकारी बजारमा बिक्री हुन सुरु भएको छ ।
“दैनिक पाँच हजार लिटर दूध र ५०० केजी अर्ग्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै व्यापार गर्ने योजना छ,” सञ्जयले भने, “२०० वटा गाईपालन गर्ने तयारी हो । अहिले ५० वटा छन् ।”
उनका अनुसार अहिले दैनिक रूपमा स्थानीय बजारमा ८०० लिटर दूध बिक्रीका लागि पठाउन थालिएको छ । २८ जनाले रोजगारी पाएका छन् । हालसम्म जग्गा खरिद र संरचना निर्माणमा आठ करोड लगानी भइसकेको छ ।
अब दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको सञ्जयले सुनाए । उनले भने, “स्थानीय रूपमै हामीले बीउ र अर्ग्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी गरेका छौँ ।” तेस्रो चरणमा सन् २०२३ सम्म कुल लगानी ५० करोड पुर्याइने एग्रोको तयारी छ ।
उत्पादिन वस्तुलाई सोझै उपभोक्तासम्म पुर्याउन विद्युतीय गाडीमार्फत बिक्री गर्ने र चीनबाट त्यस्ता गाडी हिँडिसकेकोले केही दिनभित्रै आइसक्ने सञ्जयले बताए ।
मंगलबार फार्मको निरीक्षणमा पुगेका पशु सेवा विभागका उपनिर्देशक डा. लेखराज दाहालले अब प्रविधिसहित कृषिलाई उकास्ने र व्यावसायिकीकरण गर्ने बेला भएको बताए । उनले भने, “स्थानीय रूपमा खुलेको फार्मबाट स्थानीय रूपमा रोजगारी समेत बढ्छ ।” हाल कृषि फार्मलाई मेघा र नेपाल इन्भेस्टमेन्ट बैंकले ऋण सहयोग गरेका छन् ।
“हाइब्रिड बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउँछौँ । स्थानीय रूपमा बीउ पनि उत्पादन गरेर दिन्छौँ,” सञ्जयले फार्मको योजना सुनाए ।