site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगीबीचका झगडाले कोसी प्रदेश लगानी सम्मेलन विवादमा, बहिष्कार गर्नेसम्मका चेतावनी
फाइल फोटो : प्रदेश लगानी सम्मेलन मूल आयोजक समितिको बैठक । 

विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन तयारी सुरु नहुँदै विवादमा तानिएको छ । विराटनगरका उद्योगी व्यवसायीसम्बद्ध संगठन र संस्थाहरूबीच आपसी मतभेद र एकले अर्कोलाई निषेध गर्न खोजेपछि प्रदेश सरकारको लगानी सम्मेलन प्रारम्भमै विवादमा तानिएको हो ।

संघीय सरकारले यसअघि गरेका लगानी सम्मेलनमा प्रतिबद्धता जनाएका लगानी समेत अपेक्षित नआएको अवस्थामा प्रदेशले गर्ने सम्मेलनको हैसियत र औचित्यमाथि त्यसै प्रश्न तेर्सिएकै छ । 

नेपाल उद्योग परिसंघ कोसी प्रदेश समितिले लगानी सम्मेलनमा उद्योगी व्यवसायीको समान हैसियतको प्रतिनिधित्वमाथि प्रश्न उठाउँदै बहिष्कार गर्ने चेतावनी दिएको छ । परिसंघका अध्यक्ष पवन शारडाले उद्योगीको असन्तुष्टि लिखित रूपमै प्रदेश सरकारलाई जानकारी गराएका छन् ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री हिक्मत कार्कीलाई पत्रमार्फत ध्यानाकर्षण गराउँदै ‘लगानी सम्मेलनको सबै प्रक्रियाबाट आफूहरू अलग रहन सक्ने’ चेतावनी दिइएको छ । 

कोसी सरकारले यही माघ ११ देखि १३ गतेसम्म प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्दै तयारी अघि बढाएको छ । यसका लागि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको नेतृत्वमा लगानी सम्मेलन निर्देशक समिति र आन्तरिक मामिला तथा कानुनमन्त्रीको नेतृत्वमा नीतिगत तथा कानुन सुधार समिति गठन गरिएको छ । 

प्रदेश लगानी प्राधिकरणलाई समन्वय, सहजीकरण गर्दै लगानीका क्षेत्र तय गर्ने जिम्मेवारी तोकिएको छ । सम्मेलन गर्न तीन करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।

प्रदेश सरकार आफैँ आयोजक बनेर सम्मेलन गर्नुको साटो कुनै अर्को औद्योगिक संस्थालाई जिम्मेवारी तोक्न लागेको परिसंघको आरोप छ । अध्यक्ष सारडा भन्छन्, “हामीलाई सह–संयोजक राखेर अरु संगठनलाई जिम्मेवारी दिन लागिएको हो भन्ने हाम्रो बुझाइ छ । यसप्रति हाम्रो आपत्ति छ ।”

शारडाले सरकार आफैँ आयोजक भएर कार्यक्रम गर्नुपर्ने र यस विषयमा सरोकारवालासँग थप छलफल गर्नुपर्ने सुझाव दिए । “राज्यको कार्यक्रम कसैकोतम्बुमा बसाएर गर्दा त्यसको के सन्देश जान्छ ?’’ अध्यक्ष शारडाले बाह्रखरीसँग भने, “कुनै मेलामा पाहुना बोलाएर लगानी सम्मेलन गर्दा शोभनीय देखिँदैन । संस्थालाई दिने हो भने सबैको समान सहभागिता हुनुपर्छ ।’’

औद्योगिक र अर्थसँग सम्बन्धित कार्यक्रमको कुशल व्यवस्थापन गर्ने छवि बनाएको उद्योग संगठन मोरङलाई सरकारले लगानी सम्मेलनको संयोजन गर्ने जिम्मेवारी तोकेको छ । तर, तुलनात्मक रूपमा कमजोर संगठन र औसत व्यवस्थापनको भूमिकामा रहेको परिसंघले अर्घेल्याइँ गरेको जिकिर उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना गर्छन् ।

उनले भने, “हामीले आयोजना गर्न लागेको औद्योगिक मेलाको भेन्यूलाई नै लगानी सम्मेलन आयोजनास्थल बनाउन लागेको विषयमा परिसंघलाई जलन भएको हो । तर, यसअघिका सहमति समेत परिसंघले लत्याएको छ ।” 

संगठनको कार्यक्रममा परिसंघले ‘टाङ अड्याउन खोज्नु नौलो नभएको’ उनको टिप्पणी छ । संगठनलाई सरकारले सम्मेलन गर्न धेरै बजेट दिएको भनेर समेत गलत प्रचार गरिएको सुरानाले सुनाए । 

२०७५ मंसिर २५ गते संगठन र तत्कालीन मोरङ व्यापार संघबीच भएको दुईपक्षीय सहमति स्मरण गर्दै सुरानाले त्यसलाई समेत बेवास्ता गर्ने काम भएको बताए । पवन शारडा, प्रकाश मुन्दडासहितका उद्योगी विगतमा संघको नेतृत्वमा थिए । 

त्यहाँ नयाँ नेतृत्व आएसँगै उद्योग संगठनका पूर्वअध्यक्ष भीम घिमिरेले परिसंघ प्रदेश समिति गठन गरी अध्यक्ष बनेका थिए । शारडा त्यसको नेतृत्वमा छन् । सुराना भन्छन्, “एक संगठनले गर्ने राम्रो कामलाई विरोध नगरी समर्थन र सहयोग गर्ने सहमति लत्याउने काम भएको छ ।” 

लगानी सम्मेलन देखाउँदै उद्योगी व्यवसायीका संघ संगठनबीचका विवादमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छैन । परिसंघले उद्योग संगठनलाई समेत पत्र दिएर ध्यानाकर्षण गराएको अध्यक्ष सुरानाले सुनाए । 

एक्स्पोको मितिले लफडा
नेपाल उद्योग परिसंघ कोसीले माघ महिनामै विराटनगरमा एक्स्पोको आयोजना गर्ने तयारी गरेको थियो । तर, विगतको एक्स्पो आयोजनास्थल विराट नर्सिङ होम नजिकैको विशाल ग्रुपको खुला जमिन प्लटिङ गरिएकाले यसपटक परिसंघलाई ठाउँको अभाव भएको छ ।

एक्स्पो हुने अनिश्चित भएपछि उद्योग संगठनले माघ ११ देखि २० गतेसम्म पुरानो हवाई फिल्डमा एक्स्पोको तयारी सुरु गरिएको जनाएको छ । तर, यही विषयलाई परिसंघले उछालेको संगठनका एक पदाधिकारीले बताए । ती पदाधिकारी भन्छन्, “विशाल ग्रुपको खाली जमिन प्लटिङ भएपछि उहाँहरूलाई एक्स्पो गर्ने ठाउँ नै नभएकाले हाम्रो कार्यक्रम प्रभावित पार्न खोज्नुभएको हो ।” 

संगठनका अध्यक्ष सुरानाले आफूहरूको कार्यक्रम कुनै हालतमा नरोकिने र प्रदेश सरकारले जिम्मेवारी दिए त्यही भेन्यूमा लगानी सम्मेलनको भव्य कार्यक्रम गरेर देखाइ दिने बताए ।

उता, परिसंघले भने संगठनले सहमतिविपरीत एक्स्पोको मिति सारेर एक महिनापछि पु¥याएको जनाएको छ । अध्यक्ष शारडाले सहमतिको पालना नभएको खण्डमा उद्योग संगठन मोरङले तोकेको मिति २०८१ माघ ११ गतेदेखि नै समानान्तर एक्स्पोको आयोजना गर्ने चेतावनी दिएका छन् । 

उद्योगीबीच व्यापार संघदेखिकै विवाद
खासमा विराटनगरमा उद्योगी व्यवसायीका प्रतिनिधित्व गर्ने तीनवटा संस्थाबीच विगतदेखिकै नेतृत्व विवाद हो । ती संस्थामा गुटगत नियन्त्रण गर्ने प्रयासका कारण विवाद उठेको थियो । उद्योगी राजेन्द्र राउतलाई व्यापार संघको अध्यक्ष बन्न महेश जाजू, नवीन रिजाल, प्रकाश मुन्दडा र पवन शारडालगायत उद्योगीले रोकेपछि तीन संगठनको मुख तीनतिर फर्किएको छ । 

उद्योग संगठनको नेतृत्वमा रहेका बेला उद्योगी भीम घिमिरे समेत लागेर वरिष्ठ उपाध्यक्ष राउतलाई रोकेर प्रकाश मुन्दडालाई व्यापार संघको अध्यक्ष बनाइएको थियो । त्यसपछि रिजाल नेतृत्वमा आए । 

संघबाट राउत बाहिरिएपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नेतृत्वमा पुगे । पछि महासंघमा नेतृत्व हत्याउन उद्योगी भीम घिमिरेले गरेको प्रयास राउत समूहले रोकेको थियो । राउत बाहिरिएपछि संघको नेतृत्व दोस्रो पुस्ताका उद्योगीमा पुगेको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro