विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश समितिको पहिलो सम्मेलन हुँदै गर्दा नेता डा. शेखर कोइरालाको निकै खोजी भयो ।
संस्थापन पक्षले सहभागिताको विषय ‘बहिस्कार र अनुशासन’को विषयमा रूपमा अर्थ्याए । कोइराला पक्षीय नेताले भने ‘सम्मानजनक व्यवहार’ नभएको कारण दिए ।
जहाँ सम्मेलन हुँदै थियो, त्यो कोइरालाको गृह जिल्ला हो । कोइराला चितवनमा अर्काे कार्यक्रममा सहभागी हुन गएपछि सम्मेलनमा अनुपस्थित भए ।
उनको पक्षका दोस्रो वरीयताका नेतामात्र सम्मेलनमा सहभागी थिए । कोइराला कार्यक्रममा सहभागी नभएको विषयमा कांग्रेस संस्थापन नेताहरूले आ–आफ्नो ढंगले टीकाटिप्पणीहरू गरेका छन् । उता कोइरालापक्षीय नेताले सम्मेलनमै प्रश्न गरे, ‘कोइरालालाई किन सहभागी नगराइएको ?’
केन्द्रीय सदस्य सरिता प्रसाईंले पार्टीमा गुटको नाममा कसैलाई काखापाखा गर्ने परिपाटी ठीक नभएको टिप्पणी गरिन् । उनले भनिन्, “केन्द्रीय सभापति सहभागी कार्यक्रममा खोइ डा. शेखर कोइराला, मिनेन्द्र रिजाल अनि गुरूराज घिमिरे ?’’
कांग्रेस पार्टी निर्माणमा कोइराला परिवारको सबैभन्दा बढी योगदान रहेको उल्लेख गर्दै यसबारे हेक्का राख्न चेतावनी दिइन् ।
“सबैको योगदानले पार्टी बनेको हो । हिजोको इतिहास कायम गराउन पार्टीमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य सबैको योगदान छ,’’ उनले भनिन्, “आज विराटनगरमा शैलजा आचार्यको नाममा स्थापित हृदयरोग केन्द्र हटाउन षड्यन्त्र भइरहेको छ । कांग्रेसको सरकार के गरिरहेको छ ?’’
डा. शेखर कोइरालालाई कार्यक्रममा सहभागी गराउन पार्टीको प्रदेश समितिले खासै वास्ता र समन्वय नगरेको कोइराला पक्षीय नेता तथा कोसीका पूर्व मुख्यमन्त्री केदार कार्कीले बताए ।
“कसरी कार्यक्रम गर्ने भनी छलफल भएन । यहाँको महानगरसँग पनि पार्टीले छलफल गरेन,’’ उनले भने, “डा. शेखर कोइरालालाई उहाँकै प्रदेशमा कार्यक्रम हुँदा अन्तिममा मात्र आमन्त्रण गरेको हो । आए आउनुस्, नआए नआउनुस् भन्ने किसिमले बोलाइयो ।’’
यसअघि कोइराला पक्षीय पालिका सभापति भेला रोक्न केन्द्रीय कार्यालयले पत्राचार गरेको थियो । पार्टीका सहमहामन्त्री भिष्मराज आङदम्बेले कांग्रेससँगको लिगेसी र इतिहास कोइराला निवास तथा चाक्सीबारीमा रहेको सुनाए ।
उनले प्रश्न गर्दै भने, “बूढानीलकण्ठमा छ कि छैन ?’’
भावुक रूपमा प्रस्तुत भएका उनले कांग्रेसको इतिहास, विराटनगर र कोइराला निवासको भूमिका नभुल्न सुझाए । प्रदेश भेलामा कोइरालालाई वरीयता सुनिश्चितता समेत नगरिएको एक नेताले बताए । कोइरालाले सम्मेलनमा सभापतिको सम्बोधन अगाडि बोल्न चाहेका थिए ।
गण्डकी र लुम्बिनीको सम्मेलनमा नेता कोइरालाले सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुअगाडि मन्तब्य राखेका थिए । दुवै कार्यक्रममा उनी विशिष्ट अतिथि थिए ।
प्रदेश भेलामा सहभागी नभई चितवनको कार्यक्रममा सहभागी हुन गएका कोइरालाले त्यहाँ पत्रकारहरूसँग कुराकानीका क्रममा ‘आफूले सम्मेलन बहिस्कार नगरेको बरु यता कार्यक्रम परेकाले आएको’ बताएका थिए ।
सम्मेलनमा सहभागी संस्थापनका नेताहरूले भने कोइराला सहभागी नभएको विषयमा पार्टीको नीति नियमविपरीत गएको भन्दै टिप्पणी गरेका छन् ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले शेखर कोइरालाको नाम नलिइ उनले पार्टीले गर्ने कार्यक्रममा हलभित्रको छलफलले क्षति नगर्ने तर मुद्दामा बिच्किएर हिँड्ने र बाहिर नकारात्मक टिप्पणी गर्ने परिपाटी ठीक नभएको बताए । उनले भने, “पार्टी सुधार अभियानबारे छलफलभित्र हुनुपर्छ । बाहिर होइन ।“
केन्द्रीय सदस्य मीन विश्वकर्मा र ज्ञानेन्द्रबहादुर कार्कीले पनि केही दिनअघि विराटनगरमा भएको कोइराला पक्षीय कार्यक्रमबारे टिप्पणी गरे । विश्वकर्माले कांग्रेसभित्रै सांगठनिक अनुशासन कायम राख्दै अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा कोइराला अनुपस्थित भएको विषयमा कांग्रेस कोसीका महामन्त्री भुपेन्द्र राईले निमन्त्रणा गर्न कुनै कमजोरी नगरिएको बताए । “हामीले निवासमै हातमै पत्र दिएका हौँ,’’ राईले भने ।
शेखरसँग गगन टाढिएका हुन् ?
महामन्त्री गगन थापाले कोइराला पक्षीय कार्यक्रमबारे पार्टीलाई जानकारी नगर्दा त्यसको वैधानिकतामाथि प्रश्न उठेको बताउँदै भने, “कार्यक्रम गर्नै नपाइने भन्ने होइन । गर्न पाइन्छ, तर पार्टीलाई जानकारी गराउनुपर्छ । भोलि अर्को पालिकाले आफैँ जिल्ला सभापतिको भेला गराउनु भन्यो भने के हुन्छ ?’’
महामन्त्री थापाले कोइराला केन्द्रित टिप्पणी गरेको विषयलाई भने धेरैले बढ्दो दूरीका रूपमा विश्लेषण गरेका छन् । पार्टीका सभापति देउवा विराटनगरस्थित कोइराला निवास पुगेर पूर्वमहामन्त्री शशांक कोइरालासँगै चिया खाएर बसे ।
तर, महामन्त्री थापा कोइराला निवास नपुगेको विषयलाई समेत कोइरालासँग उनको दूरी बढ्दै गएको रूपमा अर्थ लगाएका छन् । कोइराला पक्षका एक नेताले भने, “महामन्त्रीज्यू, सभापतिसँग नजिक हुँदै हुनुहुन्छ । शक्ति र संगठन कमजोर गर्न हल्ला गरिएको हुन सक्छ ।’’