site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विज्ञ भन्छन्– विद्यालय बन्द गर्नु गलत
फाइल तस्बिर ।

काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहरको जोखिम बढेसँगै मंगलबारदेखि आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै आजदेखि विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेका हुन् । देशभरि कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको तथा ओमिक्रोन भेरियन्ट पनि पुष्टि भएकाले आधारभूत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय भएको उनको भनाइ छ ।

उनले विद्यालय बन्द भए पनि वितगमा जस्तै सिकाइ सहजीकरण निर्देशिका–२०७७ अनुसार बिदाको अवधिमा सिकाइको प्रबन्ध मिलाउन निर्देशन दिइएको जनाएका छन् ।

विगतमा कोरोना बढेपछि विद्यालय पटक–पटक बन्द भएका छन् । बन्द भएका विद्यालय खुलाउन महिनौँ लागेको थियो । कोभिडका बीच पठनपाठन सञ्चालन गर्नुपर्छ भन्ने विज्ञहरूको मत छ ।

शिक्षाविद् विद्यानाथ कोइराला कोभिडको निहुँमा विद्यालय बन्द गरी पठनपाठन स्थगित गर्नु गलत भएको बताउँछन् । “मैले त विगतदेखि भनेकै छु, दुवै मोडेलबाट सञ्चालन गर्नुपर्छ,” उनले भने, “विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने, अनलाइन गर्ने या समुदायमा गएर पढाउने । जहाँ जुन माध्यम उपयुक्त छ, त्यही माध्यमबाट पठनपाठन गराउनुपर्छ ।”

उनका अनुसार काठमाडौं र हिमाली भेगमा जाडो बिदा दिने चलन छ । मधेसमा जाडो बिदा दिने चलन छैन । “यस्तोमा केन्द्रको निर्णय सबैतिर कसरी लागु गर्न मिल्छ ?,” उनले प्रश्न गरे, “एक त निर्णय गर्दा ठाउँअनुसार हुनुपर्‍यो । दोस्रो, माघ १६ पछि कोरोना हट्छ भन्ने के ग्यारेन्टी छ ?”

शिक्षा विभागका प्रमुखहरू के भन्छन् ?
केही गाउँपालिकाले जिल्लामा भइरहेको शीतलहरका कारण विद्यालय पुस २७ देखि माघ ५ सम्म बन्द गर्ने निर्णय गरेको सप्तरीका शिक्षा विभागका प्रमुख विजय मण्डलले बाह्रखरीलाई जानकारी दिए । उनले शिक्षा मन्त्रालयले निर्णय गर्नुअगावै राजगढलगायत केही गाउँपालिकाले चिसोका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।

अहिले जिल्लाका अधिकांश विद्यालयमा अर्धवार्षिकी परीक्षा चलिरहेको र केही विद्यालयमा परीक्षा भइसकेको छ । उनले भने, “यहाँ कोरोनाको त्यस्तो प्रभाव छैन । तर, सरकारको निर्णय आएपछि के गर्ने भन्ने छलफल गर्न बाँकी छ ।”

सप्तरीमा ५०० को हाराहारीमा सार्वजनिक र निजी विद्यालयहरू छन् । सरकारले वैकल्पिक विधिबाट पठनपाठन गराउन खोजे पनि अधिकांश सरकारी विद्यालयका विद्यार्थीसँग इन्टरनेटको साधन नभएको उनले बताए ।

उता, मुगुका अधिकांश विद्यालयमा पनि अहिले अर्धवार्षिकी परीक्षा चलिरहेको छ । मुगुुका शिक्षा विभागका प्रमुख सूर्यबहादुर खत्रीले हिउँदे बिदाअनुसार पुस २५ देखि एक महिना जाडो बिदा सुरु भएको जानकारी दिए । उनका अनुसार अहिले जिल्लामा कोभिडको कुनै असर छैन ।

उनी भन्छन्, “अधिकांश जिल्लावासी भारतमा काम गर्ने हुँदा उता लकडाउन हुन थालेपछि जिल्ला फर्किन थाल्नेछन् । कोभिडको समस्या त्यसपछि देखापर्छ होला ।”

उनले थपे, “यहाँ वैकल्पिक विधिबाट पठनपाठन सम्भव छैन । किनकि, सबैसँग डिभाइस छैन ।” मुगुमा सार्वजनिक र निजी गरी १४० वटा विद्यालय छन् ।

यसैगरी, काठमाडौंको दरबार हाइस्कुलमा अहिले नर्सरीदेखि कक्षा–१० सम्म दोस्रो आन्तरिक परीक्षा चलिरहेको छ । विद्यालयकी प्रधानाध्यापक शारदा पौडेलका अनुसार परीक्षा पुस २९ मा सकिन्छ ।

“विद्यालयको तालिकाअनुसार दुई साता छुट्टी दिँदै छौँ,” उनले भनिन्, “बिदामा पठनपाठन हुने छैन । त्यसपछि पनि विद्यालय सञ्चालन गर्ने अवस्था भएन भने अनलाइनबाट पठनपाठन सञ्चालन गर्छौँ ।”

दरबार हाइस्कुलमा ६०० विद्यार्थी अध्ययन गर्छन् । तर, कति विद्यार्थीसँग अनलाइन पठनपाठनका लागि डिभाइस छ भन्ने जानकारी विद्यालयलाई छैन । विद्यालयमा श्रमिक र मध्यमवर्ग गरी दुवै वर्गका विद्यार्थीहरू पढ्ने गर्छन् ।

मन्त्रालयले बिदाको बेलामा सिकाइ निर्देशिका–२०७७ लाई कार्यान्वयन गर्न निर्देशन दिएको छ । तर, अधिकांश विद्यालय प्रशासन बिदामा नपढाउने र त्यसपछि मात्रै पठनपाठन अगाडि बढाउने सोचमा देखिन्छन् । कोभिडको कारणले यसै पनि शैक्षिकसत्र ढिलो गरी असारबाट सुरु भएको थियो । कक्षा–१० को परीक्षा वैशाखमा गरिने राष्ट्रिय परीक्षा बोर्डको योजना छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro