site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
धेरैपटक बालबाल बचेका विपीन 

काठमाडौं । गत वर्षको पुस महिनाको एक साँझ । आमा बिरामी थिइन् । बल्खुको बयोधा हस्पिटलमा उपचारका लागि राखिएको थियो । विपीन कार्की कालीमाटीमा गाडी थोरै छेउ लगाएर विस्तारै चलाउँदै औषधि पसल हेर्दै पार्किङ खोज्दै थिए । साँझ झमक्क परिसकेको थियो । आध्यारोले पंख फिँजाइसकेको थियो । महानगर भए पनि अँध्यारो चिर्न सडक बत्ती थिएन । 

अँध्यारो छ, गाडीले मान्छे वा बाइक छुने पो हो कि विपीन सजग थिए । त्यसैले उनका आँखाहरू छेउका औषधि पसल र पार्किङ कहाँ छ खोज्दै थिए ।

त्यही बेला आवाज आयो– घड्याकघुडुक । कोही कारायो– ऐऽऽऽया मरेँ ! विपीनले अगाडी हेरे, दुर्घटना नै पो भइसकेछ । ‘मेरो गाडीले मान्छे हान्यो । लौ बर्बाद भयो !’
 
डराउँदै–डराउँदै गाडीको ढोका खोलेर बाहिर निस्किए । केही केटाहरूले उनको हातबाट गाडीको चाबी खोेसे । विपीनले हेर्दै चिने, उनीहरू मजदुर हुन् । ठूलो दुर्घटना भयो/भएन थाहा छैन । सोचे– तर, नभए गाडी अगाडि सुत्दिन्छन् । उपचार खर्च त तिराउँछन् नै क्षतिपूर्तिका लागि बार्गेनिङ गर्नेछन् । आमा अस्पतालमा भएकै बेला अर्को झमेला हुने भयो ।

“आफ्नो साथीलाई गाडीले हानेको झोकमा हेरेर चलाउन सक्दैनस् भनेर डाङडुङ हान्दिन सक्छन् । भिडमा कम्तीमा कुटाइबाट चाहिँ बचियोस् भनेर डराउँदै–डराउँदै बाहिर निस्किएँ,” विपीन सुनाउँछन्, “म बाहिर निस्किनेबित्तिकै साँचो खोसियो । गाडीले हानेको मान्छे दुखाइको पीडाले कराइरहेको थियो ।”

बाटोमा हिँड्ने मध्येको एक व्यक्तिले सोधे– तपाईं विपीन कार्की होइन ?

आत्तिएका विपीनले भने– हो हजुर ।

ती व्यक्तिले ओ ! हात नहाल भन्दै विपीनलाई झम्टिरहेको भिडलाई पन्छाउन खोजे ।

गाडीले हानेर भुईंमा लडिरहेको मान्छेले अलिकति टाउको उठाएर भन्यो– ओ ! विपीन दाइ हो उहाँ ?
विपीनले भने– हो ।

“दाइ म तपाईंको फ्यान हो । आम्मामा ! मेरो दाइ भन्दै उसले मलाई सुतेरै फ्ल्याइङ किस दियो । म तपाईंको ठूलो फ्यान हो । तपाईंलाई भेट्ने कति कोसिस गरिरहेको थिएँ । हामीजस्तो मान्छेले तपाईंलाई कहाँ भेट्न पाउँछौँ । थ्याङक्यू दाइ तपाईंले मलाइ गाडीले हान्दिनुभयो ! त्यसैले भेट भयो,” विपीन नोस्टाल्जिक हुँदै सुनाउँछन्, “उसलाई मैले उठाउँदै भनेँ– जाऊँ भाइ हस्पिटल, म बयोधा लगेर उपचार गराउँछु । उसले खुट्टा खोच्च्याइरहेको छ, तर होइन दाइ केही भएको छैन, ह्याँ... केही भ’को छैन दाइ, केही भको छैन भन्दै छ ।”

विपीनले पटक–पटक भने– तिमीलाई दुखिरहेको छ, उपचार गर्न जानुपर्छ । उसले भन्यो, “होइन दाइ, म मरेँ भने पनि मरेँ छोड्दिनू, तपाईं जानू ।” 

विपीन गाडी चलाएर घर फर्किए । बाटोभरि त्यही घटनाले उनलाई भावविभोर बनायो । आँखा टिलपिल भए । आँखाको एक छेउबाट आँसु विस्तारै चुहिन थाल्यो । गला भारी भयो । 

उनको मनमा प्रश्न उठ्यो, म त बचेर आएको छु, तर रोइरहेको छु । मलाई आज कसैले नचिनेको भए धुलिसात हुने गरी पिट्थे । यस्तो अवस्थाबाट सकुशल फर्किँदा त म खुसी हुनुपर्ने हो, तर किन रोइरहेको छु ? उनले आफैँले आफैँलाई प्रश्न गरे । मेरो इमोसन किन मिलिरहेको छैन र रमाउनुपर्ने क्षणमा रोइरहेको छु । 

दिमागमा प्रश्नको जवाफ आयो, ओहो ! मैले कमाएको यही त हो । फ्यान र तिनको माया । मैले कमाएको सम्पत्ति यही त हो । मैले त्यो भाइलाई आजसम्म भेटेको थिइँन । तर, किन उसले मलाई यति धेरै मायो गर्‍यो ? यही त हो मैले आजसम्म कमाएको । 

गहमा आँसु छँदै थियो । उनले संकल्प गरे, यो मेरो सम्पत्तिलाई यसैगरी जोगाएर राख्नुपर्छ । यही सम्पत्तिले मलाई बचाउँछ । पाल्छ । र, खुसी पनि बनाउँछ । 

विपीनले उसको फोन नम्बर मागे । भोलिपल्ट बिहानै विपीनले फोन गरेर सोधे– कस्तो छ भाइ तिमीलाई ? उसले उसैगरी भन्यो, ठिक छ दाइ, मेरो चिन्ता लिनु पर्दैन । खुट्टा केही भएन नि !

विपीनले नम्बर मागेर ल्याउनुको कारण सुनाए । अहिले त इमोसनमा आएर मलाई केही भएको छैन भन्यो । खुट्टामा साँच्चै ठूलो असर परेको रहेछ भने कसरी उपचार गर्छ ? सानेपामा सडक खनेर फर्किएको मजदुर हो, आर्थिक जोहो हुन्छ नै भन्ने छैन । त्यसैले त्यस्तो अवस्थामा सहयोग गर्नुपर्छ भन्ने उनको दिमागमा खेल्यो । त्यसैले नम्बर मागेर फर्किए । 

“अहिले म बेला–बेलामा फोन गरेर भन्छु– के छ भाइराजा खबर ?” विपीन ऊसँगको फोनको संवाद सुनाउँछन्, “खुसी हुँदै ठिक छ दाइ, तपाईंको के छ ? भनेर सोध्छ ।” 

त्यसैले त विपीनलाई धेरैले भन्छन्– जिरो हेटर्स अभिनेता ।

फ्यानले जसलाई आफूले सेलिब्रिटी मानेको छ र आदर्श ठान्छ, उसले त्यस्तो व्यक्तिको कहिल्यै कुभलो नसोच्ने विपीन बताउँछन् । “तपाईंको भाइले तपाईंको कुभलो चिताउन सक्छ ?” उनी आफ्नो प्रश्नको आफैँ जवाफ दिन्छन्, “सक्दैन । त्यस्तै हुन् फ्यान भनेको । आफ्नै परिवारको सदस्यजस्तै । परबाट हाइ गर्दासम्म लाज लाग्छ । जब आफ्नै सम्झिएर तपाईंको डाइहर्ट फ्यान हुँ, मैले तपाईंलाई यहाँ, त्यहाँ खोजेँ तर आज बल्ल भेट भयो भनेर गला मिलाउन आउँछ, त्यो परिवारको सदस्य भइसक्छ । त्यसैले त म मेरो सम्पत्ति नै यही हो भन्छु । मलाइ दर्शकले दिएको माया हो यो ।”

उनलाई आफ्ना फ्यान आफ्नै दिदीभाइ–दाजुबहिनीजस्तो लाग्छ । 

“मलाई धेरैले चिन्नु हुन्न । पपुलर अरू कलाकारका जति मेरा फ्यान हुनु हुन्न । तर, जति हुनुहुन्छ उहाँहरूले मलाई परिवारकै सदस्यझैँ माया गर्नुहुन्छ,” उनी भन्छन्, “मेरा फ्यानलाई म सामान्य देख्दिनँ, कुनै न कुनै विशेष कारणले फ्यान भएको पाउँछु । अरे ! उहाँ पनि मेरो फ्यान हो र भन्ने लाग्छ । यो मायालाई कसरी बचाउने यो नै मेरो चुनौती हो ।”

० ० ०

तीन वर्ष अगाडि टेकुमा आफ्नै लेनमा मोटरसाइकल चलाइरहेका बेला उनलाई एकजनाले ठक्कर दिए । विपीनको खुट्टा भाँचियो । ‘जात्रैजात्रा’को काम नै केही समय रोकियो । कति समय वैशाखी उनको सहारा बन्यो । त्यो बेला उनलाई लागेको थियो, कस्ता मान्छे हुन्छन् अर्कालाई गाडीले ठक्कर दिँदै हिँड्ने । तर, जब गत वर्ष उनले आफैँले अर्कालाई हाने, तब उनले महसुस गरे दुर्घटना त चाहेर हुँदो रहेनछ । यो त भवितव्य पो रहेछ । कतिखेर कहाँ कसरी हुन्छ थाहै नहुने । 

“अहिले त मलाई मोटरसाइकलले हानेर मेरो खुट्टा भाँचिदिने भाइप्रतिको रिस पनि मर्‍यो । उसले पनि जानेर त हानेको होइन रहेछ भन्ने महसुस भयो,” अतीतको बुझाइ सच्च्याउँछन् विपीन । 

छवि बचाउने संघर्ष 
विपीनलाई धेरैले भन्थे– तिमी त जिरो हेटर अभिनेता हौ । उनलाई लाग्थ्यो, यिनीहरूले मलाई उचालिरहेका छन् । त्यस्तो हुनै सक्दैन । समर्थक र आलोक सबैका हुन्छन् । मेरा पनि आलोचक ठूलो संख्यामा छन्, जसरी अरूका हुन्छन् । तर, विस्तारै उनलाई त्यो अनुभूत हुन थालेको छ । कतै कसैसँग भेट्दा होस् वा कमेन्टहरूमा उनले गाली न्यून, तर ताली नै पाइरहेको अनुभव गरिरहेका छन् । भलै, उनी आफैँ म जिरो हेटर अभिनेता हुँ भन्दैनन् । त्यो दम्भ पनि पाल्दैनन् । यही नै उनको सवल पक्ष र हेटर अपेक्षाभन्दा पनि कम हुनुको कारण हो ।
 
“मैले आजसम्म कमाएको यही त हो, जुन काम मैले गरेको छु त्यसको नतिजा मेरा लागि सधैँ राम्रो बनेर आइदिएको छ । मैले अहिलेसम्म कमाएको यति नै त हो । यही स्याबासी र सन्तुष्टि न हो । अरू त के कमाएको छु र ?,” विपीन आफूलाई पोख्दै जान्छन्, “मैले यो सन्तुष्टिको स्वाद कस्तो हुन्छ चाखेको छु । यो स्वादले पैसा होस् वा अरू सुखसयल सबै कुरालाई मैले प्राथमिकतामा राखिनँ ।”

यही जिरो हेटर्सको छविलाई आफूले बचाउन सके यसैले भोलिका दिनमा आफूलाई सुखसयल, खुसी दिने उनको विश्वास छ । भोलिको उज्यालो दिनका लागि आज यही छवि बचाउन संघर्ष गरिरहेको विपीन सुनाउँछन् । “म भन्नु, मेरो कमाइ र अस्तित्व नै यही हो । यो रहे म रहन्छु, नरहे सकिन्छु । अहिलेसम्म मैले के पाएँ भन्दा अहिले मैले हेर्ने नै यही हो,” विपीन भन्छन्, “फिल्म नहेर्ने समूहले पनि मलाई मन पराइदिनुहुन्छ । विज्ञापन हेरेर मात्रै रुचाउने दर्शक पनि हुुनुहुन्छ । घर बनाउने लेवरको काम गर्नेदेखि बैंकको सीईओले पनि तिम्रो अभिनय मन पर्छ भन्नुहुन्छ । कति त्यस्तो नेवार समुदायको घरमा म पुगेको छु, जसका छोराछोरीले फिल्ममा हेरेर मलाई मन पराइदिनुभयो । नेपाली बोल्न पनि नजान्ने आमा–बुवाले विज्ञापन हेरेर रुचादिनुभयो । यो मान्छेले पनि मलाई चिन्नुहुन्छ र भन्ने लाग्छ । तर, उहाँहरूले मलाई आफ्नै भाषामा मन पर्छ भन्नुहुन्छ । यही त हो मेरो अहोभाग्य ।”

आफू बोल्न जाँदा लजाएर अर्कोतिर फर्किने फ्यान पाउनु आफ्ना लागि सौभाग्य भएको भन्दै यो सम्पत्ति पैसा र घरघडेरीले किन्न नपाइने उनले अनुभूत गरेका छन् । 

आफ्नै मापदण्ड
जब यो काममार्फत म दर्शकमाझ देखिन्छु भन्ने उनलाई लाग्छ विपीनको दिमागमा पहिलो प्रश्न घरबास गर्छ– अहिले परिरहेको छाप कतै यसले भत्काउन त भत्काउँदैन ? 

भत्काउँछ भन्ने लाग्यो भने उनी पछि हट्छन् । अझ राम्रो गर्छ भन्ने लागे अघि सर्छन् । वर्षौँ संघर्ष गरेर दर्शकको मनमा गरेको बास उठ्ने पो हो कि भन्ने यदि चिन्ता हुँदैन थियो भने सायद आज काठमाडौंमा उनका पनि घरघडेरी भइसक्थे । तर, उनले त्यसको लोभ गरेनन् । आफू बस्ने ढुंगामाटोको घरभन्दा दर्शकको मनको घरमा बस्नु नै उनले सुरक्षित ठाने । आज रोजेको त्यही घरले भोलि ढुंगामाटोको घर पनि दियो भने ठिकै छ, अन्यथा यसमै रमाइरहनेछन् उनी । भलै, उनी आँखा चिम्लिएर पैसाको पछाडि हामफालेको भए आज काठमाडौंमा घरघडेरी भइसक्थ्यो भन्ने दाबी गर्दैनन् । किनकि, त्यो त दाबी न हो । नहुन पनि सक्थ्यो । भन्छन्, “तर, सम्भावना धेरै थियो । यद्यपि, मैले त्यो बाटो रोजिनँ ।”

कसैले जब उनलाई चलचित्र वा विज्ञापन अथवा ब्रान्ड एम्बेस्डरका लागि अफर गर्छन्, उनी सोच्छन्– मनमा जे सोचेर भनून्, मलाई साथीहरूले जिरो हेटर्स त भन्छन् नि ! केही त आफैँले महसुस पनि गरेका छन् । त्यसलाई नभत्काउन आफूले निर्धारण गरेको सीमा सम्झिन्छन् । र, निर्णय गर्छन् ।

“मैले कहाँसम्म जाने, के गर्ने र के नगर्ने मापदण्ड बनाएको छु । पैसा देखेर लोभिन लागेको बेला पनि मलाई झक्झक्याउने यही मापदण्डले हो,” सतर्क सुनिए उनी, “आज गरेको लोभले दर्शकसँगको दूरी बढ्यो भने भोलि घाटा लाग्ने मलाइ नै हो भन्ने मनमा राखेर काम गर्छु । यसका लागि आफैँले मापदण्ड बनाएको छु । यसमा म सम्झौता गर्दिनँ । कारण, मेरो पैसा यही नै हो ।”

हाँस्दै जात्राको संवाद सम्झाए, इमान त बेच्नु भएन नि !

बालबाल बचियो
कतिमा मुख्य भूमिका त कतिमा नोटिस हुनै गरेको संघर्षसहित उनका चलचित्रको संख्या १५ पुग्यो । चलचित्र जस्तो होस्, उनले आफ्नो चरित्रको समीक्षा अक्सर राम्रो नै पाएका छन् । तर, उनलाई नै थुप्रै चलचित्रमा लागेको छ जसमा बालबाल बचियो ।

जस्तै ?

उनीसँग ती चलचित्रको सूची नै छ । 

“हैट ! बालबाल बचियो भन्ने लागेका थुप्रै चलचित्र छन् । गोपीमा म बालबाल बचेँ भन्ने लाग्छ । कालोपोथीमा मुगुको लवजसहितको क्यारेक्टर झन्डै–झन्डै सिंक भएन कि भन्ने डर लागेको थियो । सेल्फी किङमा पनि मैले पर्याप्त मिहिनेत गर्न पाइनँ । समय पाएको भए अझै राम्रो गर्न सक्थेँ भन्ने लाग्छ । चुनौतीले पनि कहिलेकाहीँ बिगार्दो रहेछ,” उनी भन्छन्, “लुटमा म छायामा पर्नु हुँदैन भन्ने थियो । स्टार कास्ट थियो । सबै लाउड अभिनय गरिरहेका थिए । मलाई लाग्यो, सामान्य तरिकाले अभिनय गरेँ भने म हराउँछु । त्यसैले मैले पनि लाउड एक्टिङ गर्नुपर्छ, अन्यथा म नोटिस नै हुन्नँ । यो मनोविज्ञानले अरू जति–जति लाउड हुँदै जान्छन्, म पनि त्यसमा ब्यालेन्स मिलाउँदै जाँदा लाउड लाग्छु ।”

अब चरित्रको तयारी पुग्यो काम गर्न फ्लोरमा जाउँ भन्ने अवसर उनले आजसम्म पाएकै छैनन् । कहिले कामलाई अझै राम्रो गर्नुपर्छ भन्ने लोभले पनि समय लामो भए पनि पुग्दैन, कहिले निर्माण पक्षले नै हतार गरिदिन्छ । परिणाम पर्दामा देखिन्छ । यसले पनि भनेजस्तो काम देखाउन सधैँ नसकिने उनको अनुभव छ ।

चरित्रलाई चम्काउन समय चाहिन्छ । को–एक्टरसँग बसेर पटक–पटक रिहर्सल गर्नुपर्छ । तर, आजसम्म यसमा धीत मर्नेगरी उनले समय नै पाएका छैनन् । त्यसैले आफैँलाई वाउ ! भन्ने चरित्र निभाउन पाएकै छैनन् ।  

सफलताका सारथि
मान्छेको चरित्र न हो कहिलेकाँही बहकिन खोज्छ । कतै समाजको दबाब, कहिले आफन्तको प्रेसर । पैसा देख्दा मन लोभिन खोज्छ । कहिले एक/दुईवटा चलचित्रचाहिँ पैसाका लागि गरौँ भनेर सोच भड्किन खोज्छ । तर, विपीनलाई सधैँ रेश्मा (कटुवाल)ले रोक्छिन् । “कति चाहियो, के चाहियो, पैसा मात्रै हो सम्पत्ति ? तपाईंलाई दर्शकले दिएको माया पैसाले किन्न सक्नुहुन्छ ? जब श्रीमतीले मलाई यो प्रश्न गर्छिन्, म तुरुन्तै सजग भइहाल्छु,” विपीन भन्छन्, “मलाई सधैँ सचेत गराउने अर्को व्यक्ति हो, सफल केसी । म सानोभन्दा सानो काम गर्दा पनि उसलाई सोध्छु । छलफल गर्छु र गर्ने÷नगर्ने निष्कर्षमा पुग्छु ।”

त्यसो त उनी आफ्नै मापदण्डको सीमा नाघ्न चाहँदैनन् । त्यसमा पनि अभावमा हाँसेर साथ दिने र आफूले गरेको हरेक जायज निर्णयमा सही भनिदिने श्रीमती (रेश्मा) नभएको भए अहिलेको अवस्थामा आफू सायदै हुने थिएँ भन्न विपीन धक मान्दैनन् ।

“सफलले मलाई तैँले बिजोक नै गरिस् नि भनिदियो भने हप्ता दिन निद्रा लाग्दैन । तर, भोलि के हुन्छ थाहा छैन । यद्यपि, उसले राम्रो गरिस् भन्यो भने पनि आश लाग्छ,” निर्देशक सफलप्रति अनुगृहीत सुनिए विपीन ।

फिल्म खेल्न थालेको एक दशक भयो । नोटिस हुने चरित्र पाउन थालेको त त्यति समय पनि भएको छैन । “जिन्दगीको यो छोटो एक अंशमा त यति धेरै दर्शकको माया पाएँ भने यही सम्पत्तिले मलाई भोलि लगाउन, खान दिन्छ,” आफ्नो कामप्रति विश्वस्त सुनिए विपीन, “मात्रै मैले यसलाई हिजोझैँ आज पनि बचाएर राख्नुछ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro