site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालबालिकाको शिक्षामा अभिभावकत्व ग्रहण : जिम्मा लिने, दायित्व पूरा नगर्ने
फाइल तस्बिर ।

काठमाडौं । तामझामका साथ ०७५ मा विपन्न, गरिब, सीमान्तकृत, पिछडिएका एवं अपांगता भएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले सुरु गरिएको राष्ट्रव्यापी भर्ना अभियान कार्यक्रम ‘फेल’ भएको छ ।

भीभीआईपी, भीआईपी र विभिन्न व्यक्तिहरूले बालबालिकाको शिक्षामा अभिभावकत्व ग्रहण गर्ने गरी जिम्मा लिएका थिए । त्यसरी जिम्मा लिएका अधिकांश व्यक्तिले दायित्व पूरा गरेको देखिँदैन । विशेषगरी मन्त्री तथा सांसदहरूले अभिभावकत्व ग्रहण गरेर पछि बेवास्ता गरेको पाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अरू मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्री, सांसद, निजामती कर्मचारी, कलाकारलगायत सहभागी कार्यक्रम चार वर्ष पुग्दा केही व्यक्तिबाहेक अरूले दायित्व पूरा नगरेको पाइएको हो ।

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८, माग्रीकी आठ वर्षीया ठिन्ले साङ्मु लामाको अभिभावकत्व ग्रहण गरेका थिए । लामाले दुई वर्ष १० हजारका दरले र गत वर्ष एकमुष्ट २० हजार रुपैयाँ  छात्रावृत्ति रकम सहयोग पाएकी थिइन् । तर, यो वर्ष भने उनले त्यस्तो सहयोग पाएकी छैनन् ।

तत्कालीन समयमा प्रधानमन्त्री पत्नीको हैसियतले राधिका शाक्यले पनि मुगुकै छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् । छिरिङले गत वर्षदेखि नै सहयोग रकम पाएकी छैनन् ।

उक्त विद्यालयका प्रधानाध्यापक टीका उपाध्यायले दुवै विद्यार्थी विपन्न वर्गको भएकाले पूर्वप्रधानमन्त्री ओली र उनकी धर्मपत्नी शाक्यले अभिभावकत्व ग्रहण गरेको बताए । “सुरुमा उनीहरूले न्यायो लत्ताकपडा पाए । तर, नयाँ प्रधानमन्त्री आाएपछि यी बालबालिकाले कुनै सेवा–सुविधा पाएका छैनन्,” उनले भने, “गत वर्ष एक कानुन व्यवसायीले ६ हजार रकम सहयोग गरेका थिए ठिन्लेको लागि ।”

अहिले ठिन्ले ४ र छिरिङ ५ कक्षमा पढ्छन् । “प्रधानमन्त्री पदले अभिभावकत्व ग्रहण गरेको हो, व्यक्ति ओलीले होइन,” उनले थपे, “प्रधानमन्त्रीको सेवा–सुविधाबाट कटौती गरेर उनीहरूले सहयोग रकम पाउने हो ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा विभिन्न व्यक्तिले आफ्नो इच्छाले अभिभावकत्व ग्रहण गर्ने र यो अभियानका रूपमा चलाइएको बताउँछन् । उनी भन्छन्, “यो पदले सिर्जना गरेको दायित्व होइन । स्वयं लिएको जिम्मेवारी हो । जिम्मेवारी लिएपछि आफैँले इमानदारीपूर्वक गर्नुपर्छ ।” प्रवक्ता शर्माले पनि काभ्रेका दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरी आर्थिक सहयोग गरेका छन् ।

प्रधानाध्यापक उपाध्यायका अनुसार अभिभावक र बालबालिकाको नाममा खाता खोलेर सो रकम हाल्ने गरिएको छ । छात्रवृत्ति रकम विद्यालयले पाउँदैन । यसबीचमा ओलीले ठिन्लेकोे बारेमा आफैँले फोन गरेर कुनै खोजखबर लिएनन् । तत्कालीन प्रधानमन्त्रीको सचिवालयका प्रेस संयोजकले भने कहिलेकाहीँ फोन गरेर आर्थिक सहयोग के–केमा खर्च गरिन्छ भनेर सामान्य जानकारी लिएको प्रधानाध्यापक उपाध्याय सुनाउँछन् ।

ठिन्ले र छिरिङको पछिल्लो चरणमा पढाइ खस्केको उपाध्यायको भनाइ छ । उनी भन्छन्, “घरायसी काम, खेत–किसानी त कहिले यार्सा टिप्ने काममा हिँड्ने हुँदा उनीहरूको पढाइ खस्केको छ ।”

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीले सुरु गरेको अभियानको सिको धेरैले गरे । तर, दायित्व भने पूरा गरेका छैनन् ।

उक्त अभियानअन्तर्गत मुगुमा मात्रै १७ बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको थियो ।

तत्कालीन शिक्षामन्त्री पोखरेलले मुगुकै कार्मा याङजीन लामाको अभिभावकत्व ग्रहण गरेका थिए । ०७५ मा किताब, झोला र जिल्ला प्रशासन कार्यालयबाट १० हजार रुपैयाँ रकम पाए । त्यसपछि कार्माले केही पनि नपाएको बताइन्छ । अहिले कार्मा अहिले ४ कक्षामा पढ्छन् ।

कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुगुको भारेकोटस्थित नेपाल राष्ट्रिय माविमा पढ्ने सरोज नेपालीको अभिभावकत्व ग्रहण गरे पनि उनको नाम विद्यालयको रजिष्टरमा देखिन्न । केन्द्रको तथ्यांकमा उनको नाम भेटिए पनि विद्यालयमा केही जानकारी नभएको प्रधानाध्यापक सेजुवाल बताउँछन् ।

नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक नन्दसिंह रावलले अभिभावकत्व ग्रहण गरेका कुनै पनि विद्यार्थीको हाल खबर लिन कोही नआएको बताए ।  उनका अनुसार उक्त विद्यालयका सात विद्यार्थीको अभिभावकत्व ग्रहण गरिए पनि उनीहरूले सम्बन्धित व्यक्तित्वबाट चिन्ता, चासो र सहयोग केही पनि पाएका छैनन् ।

“रारामा भर्ना हुने कार्यक्रम थियो । मेरै नेतृत्वमा गएका थिए,” रावलले भने, “अहिलेसम्म केही पाएका छैनन् । पाएको भए जानकारी हुन्थ्यो । तर, पाएका छैनन् । मन्त्रालयबाट पनि कुनै खोजखबर छैन ।”

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उक्त विद्यालयका सूर्यदेवी रोकाया र पुष्कर रोकाया र हालका अर्थमन्त्री जनार्दन शर्माले सन्तोष भियालको अभिभावकत्व ग्रहण गरेका थिए । यस्तै, कर्णाली प्रदेशका तत्कालीन भूमि व्यवस्थामन्त्री विमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलले क्रमशः कुम्भराज रोकाया, देवीराज रोकाया, सृष्टि रोकाया र पुष्कर रोकायाको अभिभावकत्व ग्रहण गरेका थिए ।

यीमध्ये आर्थिक समस्याका कारण सन्तोषले विद्यालय छोडेका छन् । अरू विद्यार्थी विद्यालय आइरहेका छन् ।

मुगुका शिक्षा विभागका सूर्यबहादुर खत्रीले तत्कालीन प्रधानमन्त्री ओलीले केही दायित्व ग्रहण गर्नेबाहेक अरू व्यक्तिले वास्ता नगरेको बताए । सरकारले भौतिक र शैक्षिक सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मुगुकै सांसद गोपाल बमले दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । उनले राराको कार्यक्रममा अभिभावकत्व घोषणा गर्दै पहिलो वर्ष दुवै छात्रलाई झोला दिएका थिए । त्यसपछि उनीहरूले केही नपाएको विद्यालयकी शिक्षिका राधिका मल्लले बताइन् । उनी भन्छिन्, “सरकारी विद्यालय भएकोले विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । तर, त्यस दिनको कार्यक्रमपछि उहाँको अत्तोपत्तो छैन ।” जबकि, बमको बासस्थान र विद्यालय मुगुको एउटै वडामा पर्छ ।

सांसद गगन थापाले काठमाडौंको बालउद्धार मावि बूढानीलकण्ठमा पढ्ने रशिका श्रेष्ठको अभिभावकत्व ग्रहण गरेका थिए । अहिले कक्षा–६ मा पढ्ने उनको पढाइ राम्रो भएको शिक्षक नगेन्द्र खरेलले जनाए । श्रेष्ठले छात्रवृत्ति पाए/नपाएको बारेमा भने जानकारी नभएको खरेलको भनाइ छ ।

तत्कालीन जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पाको बालकल्याण नमुना मावि लिवाङमा अध्ययनरत कविता शाही, बबिता शाही, प्रशंसा सेन र छोविन्द्र विष्टको अभिभावकत्व ग्रहण गरेका थिए । छोविन्द्रले एसईई उत्तीर्ण गरी ओभरसियर तेस्रो सेमेस्टर पढिरहेका छन् । यसक लागि विद्यालयले समेत छात्रावृत्ति दिएको प्रधानाध्यापक मधुसूदन पोखरेलले जानकारी दिए । पूर्वमन्त्री पुनले उनलाई ४० हजार रुपैयाँ दिएको पोखरेलको भनाइ छ ।

यस्तै, कविता, बबिता र प्रशंसाले पहिलो चरणमा सबैले १० हजार पाएका थिए । आवश्यक परेमा थप दिने पुनले बताएको प्रधानाध्यापक पोखरेलको भनाइ छ । “आवश्यकता नपरेको भएर हामीले मागेनौँ । किताब–कापी सित्तैमा, विद्यालयमा फ्रीमा पढ्न पाउने भएकाले आवश्यकता देखिएन । यसपालि पुन बिरामी भएर बाहिर हुनुभएकोले प्रस्ताव राख्न पाएका छैनौँ ।”

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझापुर मावि भरतपुरमा अध्ययनरत अरुण मुसहर र प्रत्रुस माझीको अभिभावकत्व ग्रहण गरेका थिए । विद्यालयका प्रधानाध्यापक डिल्लीराम सोडारीले अरुण ४ र प्रत्रुस २ कक्षामा पढिरहेको जानकारी दिए । उनले विद्यार्थीको खातामा कति पैसा जम्मा हुन्छ भन्ने जानकारी नभएको बताए ।

शिक्षा विभागको भर्ना शाखाका प्रमुख धनसूदन चौलागाईं कोभिड–१९ का कारण दुवै वर्षको भर्ना अभियान सोचेजस्तो नभएको बताउँछन् । “यो वर्ष पनि भर्ना अभियान राखेका छौँ,” उनले भने ।

सरकारी तथ्यांकानुसार विद्यालय जाने उमेर समूहका ९७.२ प्रतिशत बालबालिका विद्यालय भर्ना हुने गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro