काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसको दोस्रो साता हुने भएको छ ।
३२ वर्षदेखि माओवादी नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसपटक पनि उनी नै दोहोरिने निश्चित छ ।
माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिने नेता अहिलेसम्म नदेखिएको नेताहरुले बताएका छन् ।
प्रचण्डलाई चुनौती दिनसक्ने नेताका रुपमा रहेका मोहन वैद्य, डा. बाबुराम भट्टराईले माओवादी छाडेपछि अहिलेको अवस्थामा अध्यक्षका एकल दाबेदार उनी नै रहेको नेताहरु बताउँछन् ।
प्रचण्ड अध्यक्षमा दोहोरिने निश्चत भए पनि पदाधिकारीका अन्य पदमा प्रतिष्पर्धा हुने देखिएको छ । अहिले नै माओवादी केन्द्रको पदाधिकारीको संख्या कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।
तर उपाध्यक्ष एकभन्दा बढी हुने सम्भावना छ । अहिले माओवादी केन्द्रमा प्रचण्डपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ छन् । माओवादीमा अब प्रचण्डपछिको नेता को बन्ने भन्ने चर्चा छ ।
यतिबेला माओवादीभित्र नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको ‘पोजिसन’ के होला भन्ने चासो छ ।
पटक–पटक मन्त्री भइसकेका पूर्वसभामुख कृष्णबहादुर महरा यतिबेला पार्टी प्रवक्ताको भूमिकामा छन् । युद्धकालीन समयदेखि नै प्रचण्ड निकट रहेका महरा माओवादीमा सबैभन्दा बढी पार्टीको लाभका पद ‘हत्याउने’ नेतामा पर्दछन् ।
युद्धबाट शान्ति प्रक्रियामा आएपछि नारायणकाजी अर्को पार्टीबाट माओवादीमा भित्रिएका हुन् । यसअघि उनी माओवादी केन्द्रको उपाध्यक्ष पनि रहिसकेका छन् । तर अब उनी वरिष्ठ उपाध्यक्ष हुन्छन् वा प्रचण्डले महरालाई वरिष्ठ उपाध्यक्ष बनाउँछन् यकिन छैन ।
माओवादी राजनीतिमा महराको छुट्टै स्थान भए पनि श्रेष्ठलाई पार्टीभित्रै नेताहरुको साथ त्यति नरहेको एक नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।
माओवादीकै नेताहरु श्रेष्ठले पार्टीभित्र आफूनिकटलाई मन्त्री बनाउन र आफू दोस्रो वरीयतामा रहिरहन बार्गेनिङ गर्दै आएका छन् ।
श्रेष्ठलाई उनीसँगै उनको पार्टीबाट आएका नेताहरुको मात्रै साथ छ । यस्तोमा महराले वरिष्ठ उपाध्यक्षमा दाबी गरे श्रेष्ठको व्यवस्थापन प्रचण्डका लागि चुनौतीपूर्ण बन्नसक्छ ।
तर माओवादी केन्द्रका एक नेता भन्छन्– “नारायणकाजीलाई वरिष्ठ नेता बनाएर महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन सकिन्छ । यसो भएमा समस्याको हल निस्कन सक्छ ।”
तर श्रेष्ठ आफू वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना नआए उनले आफ्नो समुहबाट पदाधिकारीमा लिलामणि पोखरेललाई अगाडि सार्न सक्छन् ।
पछिल्लो समय पार्टीभित्र महरा भने सक्रिय देखिन्छन् । यौन प्रकरणमा जोडिएर सफाई पाएका महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन प्रचण्डसमेत सकारात्मक रहेको नेताहरु बताउँछन् ।