काठमाडौं । ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । ईसीमोडका प्रबन्ध निर्देशक पेमाग्याम्त्सो र डाबर (नेपाल र म्यानमार)का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु उद्देश्य रहेको जनाइएको छ ।
भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल र ईसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरका बिरुवा रोप्न सहकार्य गर्ने जनाइएको छ ।
यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनःस्थापना, जीविकोपार्जनका विकल्पहरूलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने जनाइएको छ ।