काठमाडौं । राजकुमार पुन र उमा लामाले नेपालका विभिन्न जिल्लामा अलपत्र रहेका एचआईभी संक्रमित बालबालिकाको उद्धारका लागि सन् २०१० मा ‘बेबी लाइफ होम’ स्थापना गरेका थिए । तर, उद्धार गरेका बालबालिकाहरू भविष्यमा आत्मनिर्भर हुन सकुन् भन्ने उद्देश्यले विद्यालय भर्ना गराउन खोज्दा कुनै पनि विद्यालयले भर्ना लिन मानेनन् । त्यसपछि पुन र लामाले ‘बेबी लाइफ होम’ भित्रै ‘एचआईभी शिक्षा सदन’ स्थापन गरेर उनीहरूलाई माध्यमिक तहसम्मको शिक्षा दिन सुरु गरे ।
‘बेबी लाइफ होम’ मा अहिले विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएका २७ जना बालबालिका छन् । उनीहरूले त्यहाँ सामान्य बालबालिकाले जस्तै जीवन बिताइरहेका छन् ।
१८ वर्षिय के. सिंह (नाम परिवर्तन) आठ वर्षदेखि यहाँ बसिरहेका छन् । गाउन, नाच्न अनि चित्र कोर्नमा रूची भएका उनी यहाँको पारिवारिक वातावरणमा बसिरहँदा खुसी छन् ।
त्यस्तै मञ्जु चन्द, अहिले १२ कक्षामा पढ्दैछिन् । एचआईभी संक्रमण भएकै कारण उनलाई गाँउघरमा हेलाको दृष्टिले हेरिन्थ्यो । यतिसम्म कि बाहिर खेल्न जाँदा अरू बच्चाहरूले उनलाई ढुङ्गाले हान्ने गर्थे । तर, 'बेबी लाइफ होम'मा आएपछि उनले माया अनि गुणस्तरीय शिक्षा पाइरहेकी छिन् । यहाँ आएपछि उनमा अझै बाँच्छु भन्ने आशा पलाएको छ ।
'बेबी लाइफ होम'का सञ्चालकमध्ये एक पुनकाअनुसार देशमा अझै करिब ५०० जना एचआईभी संक्रमित बालबालिकाहरू छन् । सरकारले उद्धार गरेर व्यवस्थित गरिदिए उनीहरूको जीवन सुरक्षित हुने उनी बताउछन् ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी