काठमाडौं । ‘प्रेम गीत–२’ छायांकनको क्रममा म्यानमार पुगेका बेला सन्तोष सेनको मनमा एउटा कथाको लाइन दिमागमा ‘क्लिक’ भयो । कथा खेलको सेरोफेरोमा थियो । र, त्यो खेल थियो– हुतुतु । प्रतिस्पर्धामा जसले सास नरोकी लामो समयसम्म हुतुतु भन्न सक्छ, उही टिम खेलमा विजयी हुन्छ । यसलाई कबड्डी भने पनि हुन्छ ।
समयको वेगले दिशा परिवर्तन गर्यो । ‘प्रेमगीत–३’ नै अगाडि आयो । सन्तोष र छेतेन गुरुङले प्रेम गीत–३ सुरु गरे । हुतुतु पछि सर्यो । प्रेम गीत–३ को छायांकन त सकियो, तर रिलिज नहुँदै कोरोना संक्रमण विश्वभर फैलियो । चलचित्र थन्कियो । त्यही समयको सदुपयोग गर्न सन्तोष प्रेम गीत–३ हिन्दीमा डबिङका लागि मुम्बई पुगे । करिब एक वर्ष उनले उतै बिताए ।
कहिले खुल्छ बजार निश्चित थिएन । त्यसपछि उनै सन्तोषले खोले बन्द गरेर राखेको हुतुतुको पोको । स्टोरी लाइन सन्तोषले अभिमन्यू निरबीलाई सुनाए । अभिमन्यूले स्टोरी तयार पारे । पहिलो ड्राफ्ट नै सन्तोषलाई चित्त बुझ्यो ।
अब उनले सोच्न थाले कथाका लागि पात्र । को–को हुन सक्छन् उपयुक्त ? लामो समय बन्द भएर शून्यमा झरेको चलचित्र क्षेत्रलाई उकास्नु थियो । सम्भव होला/नहोला त्यो कसलाई पो थाहा हुन्छ र ? हिट सिनेमाको शूत्र थाहा हुने भए किन बर्सेनि विश्वमा हजारौँ चलचित्रले लगानी डुबाउँथे होला ? सकेसम्म राम्रो बनाउने प्रयास गर्ने हो । अहिलेको समयमा स्टारकास्ट गर्न सके दर्शकको ध्यान खिच्न सकिन्छ कि भन्ने सन्तोषलाई लोभ लाग्यो ।
चलचित्र हो सिचुएसनल कमेडी, यसका लागि कथाले माग गरिरहेको थियो अन द स्पट कमेडी गर्न सक्ने अब्बल कलाकार । सन्तोषले सम्झिए हरिवंश आचार्य । हरिवंशलाई स्टोरी लाइन सुनाए । हरिवंशले चासो देखाउँदै भने, ‘स्टोरी लाइन राम्रो छ । बाँकी कथा भन्नु त ।’
सन्तोषले कथा सुनाए । हरिवंशले चित्त बुझाए । स्क्रिप्टमा इनपुट दिए । हरिवंशलाई कथालाई गहकिलो र गहिरो बनाउन आइतबार कुर्नु पर्दैन । विभिन्न बसाइमा स्क्रिप्टको ट्रिटमेन्ट गरे ।
हरिवंशपछि अरू कलाकार खोज्नु थियो सन्तोषलाई । अफर गरे, राजाराम पौडेल, माओत्से गुरुङलाई । उनीहरुले पनि नाईं भनेनन् ।
खेल खेल्न करिब–करिब हरिवंशको ‘ग्याङ’ त तयार भयो, अब चाहियो अर्को टिम । प्रदीप खड्का अक्सर सन्तोषका चलचित्रमा छुट्दैनन् । यसमा पनि छुटेनन् । पल शाह, नाजिर हुसेन, गौरव पहाडी, सलोन बस्नेतको टिम तयार भयो, हरिवंशको ग्याङलाई टक्कर दिन । उनले नायिका पनि फाइनल गरिसकेका छन् । तर, सार्वजनिक गरेका छैनन् ।
चलचित्र फागुनबाट छायांकन गर्ने तयारीमा छन्, सन्तोष । छेतेनलाई सन्तोषले भनेका थिए, “तिमीलाई मैले जिम्मा दिएको प्रेम गीत–३ को निर्देशनमा मैले तिमीलाई सहयोग गरेँ । हुतुतुमा तिमीले मलाई निर्देशनमा सहयोग गर्नुपर्छ ।” छेतेन सन्तोषका बचन काट्दैन थिए । बचन दिएका थिए, ‘हुन्छ ।’
तर, यहीबीचमा छेतेनले सन्तोषसँग बिदा मागेर परमात्मामा लिन भए ।
सन्तोषले एक छिन सम्झिए उनै प्रिय मित्र छेतेनलाई । जो उनलाई बीच बाटोमै अलपत्र पारेर गए । समस्या छेतेनलाई केही समय पहिलादेखि नै थियो । लिभरमा समस्या थियो । “चिकित्सकले भनेअनुसार ९९ प्रतिशत लिभर ड्यामेज भइसकेको थियो । खानपानमा ध्यान दिनसके विस्तारै रिकभर हुन्छ । अथवा, कोही डोनर भए ट्रान्सप्लान्ट गर्न सकिन्छ भनेको थियो । दाइले स्वास्थ्यमा ध्यान दिइरहनु पनि भएको थियो,” सन्तोष भन्छन्, “एक दिन हामी स्क्रिप्टमा डिस्कसन गरेर साँझ फर्कियौँ । मैले नै उहाँलाई बानेश्वर छोडेर घर गएँ । बानेश्वरको होटेलमा बसेर उहाँले ड्रिङ्क्स गर्नुभएछ ।”
सन्तोषले छेतेनलाई चिनेको धेरै भइसकेको थियो । उनको आनीबानी पनि थाहा थियो । त्यसैले उनी सम्झाइरहन्थे, ‘दाइ स्वास्थ्यमा हेलचेक्र्याईं गर्नु हुँदैन है ।’
“ड्रिङ्क्स गर्दागर्दै त्यहीँ रगत नै बमिट गरेपछि उहाँ घर जानु भएछ । राति पनि रगत नै बमिट गरेपछि छेतेनकी छोरीले मलाई बिहानै फोन गरिन्– अंकल, बाबाले रगतैरगत बमिट गरिरहनुभएको छ । हस्पिटल जाउँ भन्दा पनि मान्नु हुन्न । छोरीले फोन गरेपछि म तत्काल उहाँको घर पुगेँ । रगत बमिट गर्ने र ट्वाइलेट जाँदा पनि रगत नै आउने भइरहेको रहेछ । शरीर छाम्दा चिसो भइसकेको थियो । मैले अस्पताल जाउँ भन्दा होइन मलाई ठिक छ, जान्नँ भनेर जिद्दी गरिरहनुभएको थियो,” सन्तोष नोस्टाल्जिक हुन्छन्, “मैले जबरजस्ती बोकेर लेगर गाडीमा राखेर स्टार हस्पिटल पुर्याएँ । डाक्टरले शरीरमा रगत छैन भनेपछि रगतका लागि दौडधुप भयो । तर, जति रगत दियो त्यति नै बगेर जान थाल्यो । कारण, नसा फुटेर काम नगर्ने भएकाले बमिट गर्दा पनि र पिसाब गर्दा र ट्वालेट बस्दा रगत गएको रहेछ ।”
सन्तोषले अस्पताल पु¥याएको चौबीस घण्टा पुग्दानपुग्दै छेतेनले सन्तोषसँग सधैँका लागि बिदाइको हात हल्लाए । छेतेनले सन्तोषलाई मात्रै बिदाइको हात हल्लाएनन्, उनले आफैँले सपना देखेको स्टोरीको चलचित्र प्रेम गीत–३ नसकिँदै बीचैमा छोडेर गए । सन्तोषलाई हुतुतुमा सहयोग गर्छु भनेको बाचा पूरा नहुँदै बाटो मोडेर छेतेन अन्त्यै कतै गए ।
छेतेनले एक्लो बनाएर गए । सन्तोष उनले अधुरै छोडेर गएको काम पूरा गर्न पहिलोपटक मुम्बईसम्म पुगेर संघर्ष गरे । तर, उनको मनमा सधैँ छेतेनले प्रेम गीत–३ सक्न पाएको भए उसको आत्माले शान्ति त पाउने थियो भन्ने कुरा खड्किरहन्छ ।
अलि पछाडि फर्किए सन्तोष । छेतेनले ‘डमरुको डन्डीबियो’ निर्देशन गरे । तर, उनलाई त्यसमा चित्तै बुझेको थिएन । त्यसैले करिब–करिब त्यस्तै आइडियाको कथामा उनले चलचित्र बनाउने निधो गरे । उनले बजारले रुचाएका एक अभिनेतालाई बोलाएर कथा सुनाए । ती अभिनेताले कथामा केही परिवर्तन गर्न सुझाए । आफूले उत्कृष्ट ठानेको कथा नै परिमार्जन गर्न सुझाएपछि छेतेन लगभग डिप्रेसनको चरणमा पुगे । छेतेनको त्यो अवस्था देखेर सन्तोषले कुनै बेला उनले सुनाएको कथामा चलचित्र बनाउन भनेर उनले हुतुतु पोस्पन्ड गरेर प्रेम गीत–३ अगाडि सारे । जसले डिप्रेसनमा पुगेका छेतेनलाई काममा फर्कायो । जसमा तनमन लगाएर उनी काम गरिरहेका थिए । तर, सक्नै पाएनन् छेतेनले ।
नेपाल र मुम्बई गरेर अन्ततः सन्तोषले छेतेनले सुरु गरेको चलचित्रको काम सके । अब दर्शकको हातमा पुर्याउन भने बाँकी छ ।
मनमा राखेको छेतेनलाई एक छिन सम्झिए सन्तोषले र लागे हुतुतुतिर । गलेको चलचित्रलाई उठाउन सहयोग गरोस् भनेर उनले हुतुतुको काम सुरु गरे । भलै, अहिले बजार खुलिसकेको छ । केही चलचित्र प्रदर्शनमा पनि आइसकेका छन् । केही प्रदर्शनको तयारीमा छन् ।
हिरोहरूले पनि हँसाउन सक्नुपर्छ भन्ने सोचले सन्तोषले अगाडि बढाएको चलचित्र हो हुुतुतु । हरिवंश र राजाराम त हास्यव्यंग्यका पारंगत नै भइगए । “चकलेटी अनुहारका लभ स्टोरी चलचित्रमा हिरोइनसँग रोमान्स गरिरहेका हिरोहरूले हँसाउन सक्छन् वा सक्तैनन् त्यो त उनीहरूको कामले नै बताउला,” सन्तोष भन्छन्, “बलिउडमा हिरोहरूले दर्शकलाई पटक–पटक हँसाएर आफूलाई यो विधामा पनि प्रमाणित गरिसकेका छन् । अब हेरौँ नेपालका हिरोहरूले के गर्छन् ।” त्यसो त चकलेटी हिरोहरू मात्रै होइन सन्तोषकै लागि पनि हुतुतु परीक्षा हो । जसमा उनी पास हुन्छन् वा फेल के हुन्छन्, आउँदो दसैँमा थाहा होला । कारण, उनी आउने सालको दसैँमा हुतुतुमा हरिवंश र प्रदीपको ग्याङलाई हलमा प्रतिस्पर्धा गराउँदै छन् ।