site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लाको व्यथा सरकारलाई के थाहा ! 
SkywellSkywell

काठमाडौं । यति बेला हुम्लाका कृषकका बगैँचामा लटरम्मै स्याउ फलेका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण स्याउ बजारसम्म ल्याउने अवस्था छैन । बोटका स्याउ भुइँमा झरेरै कुहिन्छ ।

केही कृषकले स्याउ र आलु कुहिएर खेर जाने भएपछि गाईवस्तुलाई खुवाइरहेका छन् । केहीले स्याउका चाना बनाएर सुकाइरहेका छन् ।

कृषक भन्छन्– हवाईजहाजमा लैजाँदा ढुवानी खर्चले थिच्छ
‘‘राष्ट्रिय सडक सञ्जाल जोडिएको छैन । हवाईजहाजमा बजारसम्म स्याउ लैजाँदा ढुवानी खर्चले थिच्छ । स्याउ र आलु बेचेर मनग्य आम्दानी गर्ने रहर नभएको कहाँ हो र । यस्तै छ हुम्लीको व्यथा,” सिमकोटका वीरबहादुर लामाले दुखेसो पोखे ।

KFC Island Ad
NIC Asia

स्याउले बजार नपाउँदा यहाँका एकजना कृषकले बर्सेनि पाँचदेखि १० लाख रुपैयाँसम्मको घाटा बेहोर्नुपरेको उनी सुनाउँछन् । हुम्लाका अरू गाउँपालिकाका कृषकहरूको व्यथा पनि उस्तै छ ।

बजार नपाएका कारण स्याउ, आलु र स्थानीय उत्पादनलाई खाडल खनेर भन्डारण गर्ने गरिएको कृषकहरू बताउँछन् । किन्ने ग्राहक छैनन् । नेपाली सेना, सरकारी कर्मचारी, प्रहरीलगायत केही व्यक्तिहरू नै स्याउ किन्ने ग्राहक हुन् ।

Royal Enfield Island Ad

कृषकका अनुसार जहाजमा हुम्लाबाट नेपालगन्ज, सुर्खेत ल्याउँदा प्रतिकेजी ५० रुपैयाँ ढुवानी खर्च लाग्छ । लागत बढ्दा सोही हिसाबले मूल्य बढाएर बिक्री गर्नुपर्ने हुन्छ । तर, सडक सञ्जालमा जोडिएका मुगु, जुम्ला, कालिकोटलगायत जिल्लाहरूबाट आएको स्याउ नेपालगन्जमा त्योभन्दा सस्तोमा पाइन्छ । त्यसैले पनि हुम्लाको स्याउले बजार पाउन मुस्किल छ ।

सिमकोट गाउँपालिकाका बुराउसे, बरगाउँ, डाँडाफया, ठेहेमा अत्यधिक स्याउ उत्पादन हुन्छ । त्यस्तै, नाम्खा गाउँपालिकाका लामाखोल्सी, केर्मी, एल्बाङ गाउँमा पनि उत्पादन राम्रो हुन्छ ।

खार्पुनाथ गाउँपालिकाका पिउस, पर्खेलगाउँ र राया थाली, ताजाकोट गाउँपालिकाको बदेलचौर, सर्केगाड गाउँपालिकाका गुसाँ, राहदेव, रिप, जैर, उनापानी र फुचा तथा चंखेली गाउँपालिकाका दार्मा, देउली, बोहरावाडा, रिमी, ऐडीवाडा र ताजाकोटमा स्याउ उत्पादन हुन्छ ।

सर्केगाड–३, उनापानीका नर फडेरा सरकारले स्याउको बिरुवा वितरण गर्ने तर बजारसम्म पु¥याउने व्यवस्था नमिलाउँदा यस्तो समस्या भोग्नुपरेको बताउँछन् । ‘‘यहाँ स्याउ, आलु, सिमी, कोदोलगायत अन्नबालीबाहेक अरू उत्पादन हुँदैन । यो उत्पादनले ६ महिना पनि खाना पुग्दैन । राम्रो उत्पादन भएको स्याउ, आलु, सिमीले बजार नपाउँदा बर्सेनि थप भोकमरीको भुमरीमा पर्छौँ,” उनले भने ।

सस्तोमा बेच्न बाध्य
स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि भन्दै सर्केगाड गाउँपालिका–१ का पारस धामीले हेलिकोप्टरबाट डोजर लगेर गाउँमा बाटो बनाएका छन् । केही स्थानीय उत्पादनले गाउँमै बजार पाएको छ । पारसले वीरगन्जदेखि हेलिकोप्टरमा डोजरमा हुम्ला पुर्‍याएका थिए ।

पारस भन्छन्, ‘‘अहिले अत्यधिक स्याउ उत्पादन हुने गाउँ रिप, उनापानी, गुसाँ, मुन्डीका गाउँहरू हुँदै सर्केगाड बजारसम्म पुग्ने करिब पाँच किलोमिटर सडक बनाएको छु । पहिले स्थानीयले घोरेटो बाटोबाट स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो । अहिले बाटो चौडा भएपछि सहजै बजारसम्म पुग्न सकिन्छ ।”

सर्केगाड बजारमा प्रहरी कार्यालय, गाउँपालिका कार्यालय, विद्यालय, गैरसरकारी संघसंस्थालगायत कार्यालयहरू छन् । ती कार्यालयमा काम गर्ने कर्मचारीलाई कृषकले सस्तोमा स्याउ बिक्री गरिरहेका छन् । कुहिएर फाल्नुभन्दा सस्तोमै कर्मचारीलाई बेचेर केही आम्दानी गर्न सकिएको कृषकहरूको भनाइ छ ।

पारस सर्केगाड गाउँपालिका–१, जैरका स्थानीय हुन् । उनले गाउँको वास्तविक पीडा भोगेकै कारणले हेलिकोप्टरमा डोजर ल्याएर गाउँमा बाटो बनाएको बताए ।

उनले ०७६ जेठ ३१ गते कर्णाली प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयबाट एक करोड ३५ लाख रुपैयाँको ठेक्का पाएका थिए । उक्त बाटो निर्माणस्थलमा डोजर जडान गर्न १५ जनाको टोली वीरगन्जबाटै लिएर गएका थिए । हेलिकोप्टरमा डोजर पुगेपछि करिब १५ लाख रुपैयाँ डोजर जडान खर्च लागेको उनी सुनाउँछन् ।

‘‘भौगोलिक विकटता छ । कच्चापदार्थ छैन । सबै सामग्री हेलिकोप्टरमा वा जहाजमा ढुवानी गर्नुपर्छ,” उनी भन्छन्, ‘‘आफ्नै जन्मस्थान हो । अहिलेसम्म हुम्लाले विकासको गति लिन सकेको छैन । विकासमा मैले पनि केही सहजीकरण गर्न सक्छु कि भनेर सानो प्रयास मात्रै गरेको हुँ । मलाई फाइदा–घाटाको कुनै प्रवाह छैन । बस्, मेरो हुम्लाको विकास होस् ।”

२५ प्रतिशत स्याउले मात्रै पाउँछ बजार
कृषि विकास कार्यालय हुम्लाका अनुसार स्थानीय उत्पादन स्याउ र आलुले बजार नपाउँदा अधिकांश उत्पादन कुहिएरै जाने गरेको छ । कार्यालयका अनुसार बर्सेनि चारदेखि १० टनसम्म स्याउ मात्रै उत्पादन हुन्छ ।

कार्यालयका सूचना अधिकारी धर्मचन्द्र अधिकारीले त्यसमध्ये २५ प्रतिशत बराबरको स्याउ बिक्री हुने गरेको बताए । ‘‘कृषकलाई ढुवानीमा ५० प्रतिशतसम्म अनुदान दिइएको छ । तर, कृषकले जोखिम मानेर अनुदान लिन मान्दैनन् । योसँगै स्याउ राख्ने कार्टुनमा पनि ५० प्रतिशत सहुलियत उपलब्ध गराएका छौँ,” उनले भने ।

कालिकोटदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने राष्ट्रिय सडक सञ्जाल अहिलेसम्म तयार भएको छैन । सिमकोटमा खाद्यसंकट पर्दा हुम्लाका सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका–६ का पाल्जोर तामाङले सिंहदरबार आएर गुहार मागेका थिए । तत्काल भोकमरीको संकट टार्न हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिने गृह मन्त्रालयले जनाएको छ ।

यातायातका साधनहरूका रूपमा घोडा, खच्चड, याक, खसी र मानिसलाई प्रयोग गरिन्छ । केही गाउँमा कच्ची सडक निर्माण भई जिप र मोटरसाइकल पुगेका छन् ।

तस्बिर सौजन्य : जगत धामी ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro