site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'दियोबाट सल्किएको आगो रातभर दन्किरह्यो, निभाउन घर भत्काएर ढुङ्गामाटो फालिरह्यौँ'
तस्बिर : प्रकाश देवकोटा

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा गएराति साढे १२ बजेदेखि बिहान ४ बजेसम्म भीषण आगलागी भयो । सानो दियोबाट सुरु भएको आगो फैलिँदा २१ घर पूर्णरूपमा क्षतिग्रस्त भए ।

दमकल नहुँदा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगलागी नियन्त्रण गर्न घर भत्काएर ढुङ्गा, माटो फालेर आगोलाई नियन्त्रणमा लिने प्रयास गरे । 

मुगुका गमगढीका स्थानीय आयुश शाहीकाअनुसार आगलागी भएको केही समयमै जिल्ला प्रशासन कार्यालय मुगु, जिल्ला प्रहरी कार्यालय मुगु, स्थानीय सबैले त्यसबारे जानकारी पाइसकेका थिए । 

‘‘रातभर आगो दन्किरह्यो । दमकल नहुँदा आगलागी भएको हेर्नुको विकल्प रहेन । आगलागी भएपछि ढुङ्गा, माटो र पानीले आगो निभाउन स्थानीय, प्रहरी, प्रशासनले प्रयास नगरेको होइन । तर, ढुङ्गा माटो र सामान्य पानीले मात्रै कहाँ नियन्त्रण हुन्थ्यो र आगो । आगलागी भएको समयमै थाहा पाएर धन्न मानवीय क्षति चाहिँ भएन,” उनले भने । 

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दमकल नहुँदा आगो नियन्त्रण गर्न लामो समय लागेको बताए । ‘‘दमकल थिएन । रातिको समयमा आगलागी भयो । दमकल पनि भएन प्रयाप्त पानी पनि भएन । करिब पाँचघण्टाको प्रयासपछि बिहान ५ बजेतिर बल्लबल्ल आंशिक रूपमा आगलागी नियन्त्रण गर्न सकियो,” उनले भने ।

दमकल नभएकै कारण २१ घरपरिवार घरबारविहीन भएका छन् । प्रशासनकाअनुसार घरबारविहीन परिवारलाई नजिकैको आफन्तकोमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई दमकल नहुँदा आगो नियन्त्रण गर्न थप एउटा घर भत्काउनु परेको जानकारी दिए । ‘‘२१ वटा घरमध्ये एउटा घर हामीले आगो नियन्त्रणमा लिनका लागि भत्कायौँ । यद्यपि घर भत्काउनुको विकल्प पनि थिएन । अहिले आगो नियन्त्रणमा छ,” उनले भने । 

प्रहरी नायव उपरीक्षक भट्टराईकाअनुसार माटोले आगो नियन्त्रणमा ल्याउनुपर्ने भएकाले घर भत्काउनुपरेको हो । खिम्मे लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा यत्रो क्षति हुन पुगेको उनले बताए । 

जिल्ला प्रशासन कार्यालयले आगलागीका कारण करोडौंको क्षति भएको अनुमान गरेको छ । यद्यपि, पूर्ण विवरण आएको छैन । 

प्रजिअ महतकाअनुसार केही घुम्ती पसलमा पनि आगलागी भएको छ । ‘‘यहाँका घरहरू काठले बनाइएका छन् । एक अर्कासँग जोडिएका छन् । त्यसैले आगो छिटोछिटो फैलियो,” उनले भने ।

तत्काल राहत उपलब्ध गराइने

आगलागीपछि बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तह र स्थानीय संघसंस्थाहरूबाट तत्काल राहत उपलब्ध गराउन तथा प्रदेश सरकार र केन्द्रीय सरकारलाई क्षतिपूर्ति दिन पहल गर्ने निर्णय गरेको छ । ‘‘यस्तो जाडोमा घरबारविहीन परिवारलाई टेन्टमा राख्न सकिँदैन । उनीहरूलाई भाडाका घर खोजी गरी त्यहाँ व्यवस्थापन गर्ने जिम्मा स्थानीय तह र संघसंस्थाहरूलाई जिम्मेवारी दिइएको छ । अन्य खाली घरहरू प्रशस्तै छन । तत्काल खाली रहेका घरहरूमा व्यवस्थापन गरिनेछ,” प्रजिअ महतले भने ।

यसैगरी कर्णाली प्रदेश सरकारले पनि आगलागी पीडिलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विज्ञप्तिमार्फ स्थानीय सरकारसँगको समन्वयमा राहत उपलब्ध गराउने बताएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro