site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कात्तिक नाचका ३८० वर्ष पुराना कथा

काठमाडौँ । ब्राह्मणले पूजामा बाख्रा दान पाएका हुन्छ । त्यो बाख्रा ठग्न तीनजना बाथःले कुकुर भनेर सम्बोधन गरेपछि ब्राह्मणले कुकुुर नै होला भन्ने ठानेर बाख्रा छोडेर जान्छ । यो कथा हो, नेवारी लोक कथा कौला खिचाको । 

पाटनको डबलीमा कात्तिक नाचमा देखाइएको उक्त संवादसहितको नाच धेरैजना मिल्यो भने एकजनालाई झुक्काई सत्यलाई पनि असत्य गराउन सकिने नैतिक शिक्षा दिइएको छ । 

सयौँ वर्ष पुरानो कथा अहिलेको आधुनिक जमानामा उत्तिकै सान्दर्भिक देखिन्छ । सामाजिक सञ्जालमा आउने झुटा समाचार कौला खिचाकै एउटा स्वरूपका रुपमा पनि अहिले लिने गरिएको पाइन्छ ।

२४ कात्तिकबाट सुरु भएको कात्तिक नाच प्रत्येक वर्ष कात्तिक महिनामा पाटनको कात्तिक डबलीमा देखाइने गरिन्छ । आज नाचको सातौँ दिन हो । 

यस्तै, हिन्दु पुराणअनुसार भगवान् विष्णुका दुई द्धारपाल थिए, जय र विजय । जय र विजयलाई आफू विष्णुको अवतार भनेर घमण्ड थियो । चार कुमार ब्राह्मण विष्णुको दर्शनका लागि आउँदा जय र विजयले जान दिएनन् । फलस्वरूप चार कुमारले जय र विजयलाई श्राप दिए । त्यो श्रापबाट बच्न उनीहरूले भगवान् विष्णुलाई गुहारे । विष्णुले अहम्लाई परास्त गर्न यो दण्ड उनीहरूले स्वीकार्नुपर्ने बताए । चार कुमारले पनि दण्ड उनीहरूकै मोक्षका लागि भएको सुनाए । अन्ततः जय र विजय सत्ययुगमा हिरण्यकश्यपु र हिरण्याक्ष, त्रेता युगमा रावण र कुम्भकर्ण, द्वापर युगमा कंश र शिशुपाल असुरको रूपमा जन्मिए ।

तीनै युगमा भगवान् विष्णुले विभिन्न अवतार लिएर आई उनीहरूको वध गरी मोक्ष दिलाएको पुराणमा उल्लेख छ । 

भगवान् विष्णुको बराह र नृसिंह अवतारको संवादसहितको नृत्य कथा कात्तिक डबलीमा देखाइँदैछ । नृसिंह कात्तिक नाचको महत्वपूर्ण नाचको रूपमा रहेको छ । छोरा प्रह्लाद विष्णुभक्त भएपछि रिसाएर दानव हिरण्यकश्यपुले उत्पात मच्चाउन थालेपछि विष्णुले नृसिंह अवतारमा आई वध गर्ने कथा नृत्यमार्फत प्रस्तुत गरिएको छ । नृसिंह अवतारको भूमिकामा प्रतापधर उपाध्याय प्रस्तुत गर्दैछन् । तन्त्र दिक्षा पाएकाले मात्र नृसिंहको भूमिका निभाउन सक्छन् । नृत्यमा हिरण्यकश्यपुलाई मुर्छा गरिन्छ । त्यो तन्त्रविधिबाट गरिने प्रतापधर बताउँछन् । सात कक्षा पढ्दै दीक्षित भएका उनी भन्छन्, “यस दिन पानी पनि नखाई व्रत बस्नुपर्छ  ।” 

नाच कहिलेबाट सुरु भयो ?

कात्तिक नाच ३८० वर्ष पहिले अर्थात् १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणको निमित्त लामो नाट्य महोत्सवको रूपमा चलाएका थिए । ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक मूल्य मान्यता बोकेको यस नाचका सर्जक एवम् प्रवर्तक राजा सिद्धि नरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय थिए भने दिक्षा गुरु विश्वनाथ उपाध्यायले यस नाचमा तान्त्रीय पक्ष जोडेका थिए । कात्तिक नाचमा उनै हरिवंश र विश्वनाथका सन्ततिले नृसिंह र बराह अवतारको भूमिका निभाउँदै आएका छन् ।

जो कृष्ण मन्दिरको पुजारी हुन्छ उसैले नृसिंह अवतार कात्तिक नाचमा प्रस्तुत गर्छन् । यसपटक प्रतापधरको पालो छ । ०५८ मै तन्त्र दीक्षा लिएर नृसिंह अवतार कात्तिक नाचमा प्रस्तुत गर्दै आएका उनी हरिवंशका सन्तति हुन् भने पाटन कृष्णमन्दिरका पुजारी पनि हुन् । 

उनलाई हरिवंशको आफू यति पुस्ता भन्ने त थाहा छैन । तर, वंशावली लिच्छवीकालसम्म जोडिएको उनी सुनाउछन् । 
पुरानो घरमा आगो लागेको र म्हँ पूजामा शाह वंशले भएको पुराना किताब र दस्तावेज लुटेर लगेपछि कति इतिहास मेटिएको उनी सुनाउँछन् । उनी भन्छन्, “मल्लकालमा तीन सहरमा उपाध्याय ब्राह्मणलाई खुंखार तान्त्रिक मानिन्थ्यो । हाम्रो पुर्खाले बनाएको नाच हामीले छोड्न मिलेन । राजाले हाम्रो पुर्खालाई चलाउन दिएको हो । नियमअनुसार भइरहेको छ ।”

दीक्षित भएकाले उनले खसी, माछा र हाँसको मात्र मासु खान पाउँछन् । साधना गर्दा उनले लसुन, प्याज गोलभेँडासमेत खान पाउँदैनन् भने उनले सधैँ जनै लगाउनुपर्ने र कपाल खौरिनुपर्छ । 

नृसिंह नाच गर्दा पानीसमेत खानुहुँदैन । “बिहान नृत्य कर्म गर्दा सन्धिउपासना गर्दा आचमन गर्छु । त्यही बेला पानी खाने हो । घुटुुघुटु खान पाइँदैन,” उनले भने । 

यस्तै, नृसिंह र बराह अवतारको नाच प्रस्तुत गर्दा लगाइने आभूषण, पोशाक र कपडा शुद्ध ठाउँमा राखेर प्रत्येक दिन पूजाआजा गर्नुपर्छ । 

मुर्छित् हिरण्यकश्यपलाई ब्युँझाउने काम विश्वनाथका सन्ततिले गर्छन् । तान्त्रिक विधिबाटै बेहोस हुने र ब्युुँझिने हुँदा यो नाच विशेष रहेको संस्कृतिविद् बताउँछन् ।

सुरुमा ५ दिनका लागि सुरु गरिएको नाच पछि सिद्धि नरसिंहका छोरा श्री निवास मल्लले बाथः प्याखँ (लोक नाटक), सुदामा प्याखँ र सुरदास प्याखँ थपेर १५ दिन सञ्चालन गरेका थिए । श्री निवासका छोरा योग नरेन्द्र मल्ले उषाहरण तथा माध वानल लिला थपेर यसलाई कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरे । २७ दिन कार्तिक महिनाभरि बेग्लाबेग्लै विषयमा नृत्य प्रस्तुत गर्ने यो नाचको अर्को विशेषता हो । तर, ०७० सालमा दुई दिन थपगरी १० दिन तथा हाल आएर १२ दिन नाच प्रस्तुत गरिँदै आएकोमा गत वर्ष कोभिड–१९ का कारण दुई दिनमात्र प्रस्तुत गरिएको थियो । यसपालि ८ दिन मात्र गरिँदैछ । 

शुद्ध हुनुुपर्ने 

३९ पटक कात्तिक नाचमा भैरव नाच गरिसकेका उत्तम रत्न श्रेष्ठ ०४४ मा कार्तिक नाच गर्दा घटेको घटना अझै सम्झिन्छन् । सधैँ झै भैरवको पोशाक र मुकुण्डो लगाएर उनी नाच प्रस्तुत गर्न डबली गए । तर, नाच्दा नाच्दै बाजामा अर्कै ताल प्रस्तुत गर्न पुगे । चाहेर पनि उनले आफूलाई रोक्न सकेनन् । “नाच बिग्रेपछि भाइहरूले दाइ के भयो तपाईंलाई भने । नाच सिकाउने म आफैँ गलत गरेपछि नराम्रो लाग्यो । त्यसदिन म रोएँ पनि,” उनले सम्झिँदै भने ।

कुखुराको मासु र चिउरा खाएर प्रस्तुत गरेकाले उक्त दुघर्टना घटेको उनको दाबी छ । “त्यसपछि मैले त्यस्तो गल्ती दोहो¥याएको छैन । यहाँ केटाहरू मासु खाएर आएको दिन प्रस्तुत गर्दैनन्, मासुमात्र होइन, केही गरी जुठो भयो भने यहाँ डबलीमा त्यसै झगडा हुन थाल्छ,” गत वर्षको झगडा सम्झिँदै उनले सुनाए ।  

सुरुमा यो नाच मैथिली भाषामा गरिन्थ्यो । सो भाषा बोल्न अफ्ठ्यारो भएपछि ७ वर्षदेखि नेवारी भाषामा संवाद बोल्ने गरिएको हो । सुरुवाती दिनमा राँगोको बली दिने गरिन्थ्यो । पछि बजेट अभाव हुँदै गएपछि बली प्रथा रोकिएको थियो । “हटेको ३० वर्ष भयो,” कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले भने, “चढाउनै परे हाँसको अण्डा चढाइन्छ ।” 

कात्तिक नाचको सुरुमा पहिलो दिन भगवान् कृष्णको बाल्यकालको साथी सुदामा र कृष्णको कथा देखाइएको थियो । दोस्रोदिन बाथः प्याखँको च्वले खुदाँ दाँ खुदाँ (बाख्रा छ दा पैसा छ दाम) लोक कथामा आधारित नाच देखाइएको थियो । 

छ दाम दिएर सानो बाख्रा किनेर लगेर पछि फेरि झुक्काएर १२ दाम पर्ने बाख्रा लिएर जाने कथामा महिलालाई कसरी ठगिन्छ भनेर देखाइन्छ । चित्रकार भन्छन्, “किनभने महिला घरै बस्थे । बाहिर जान दिँदैनथे । रूढीवादी परम्परा थियो । नाटकमार्फत् सचेतना जगाइएको हो ।” 

एक महिना देखाउदा बाथः प्याखँमा ७ दिनको हुन्छ । सातै दिन अलग अलग कथा हुन्छ । सात कथामाध्ये यो पालि दुई कथा देखाइएको छ । उक्त लोक कथामा समुदायलाई शिक्षा र हास्यब्यङ्ग्य सबै हुन्छ । 

छैटौँ दिन, सोमबार जल शयण मधु कटैव वध देखाइँदैछ । जल शयणमा विष्णु चीर निद्रामा बसेको बेला ब्रम्हाको कानेगुजीबाट निस्केका दुई दानवले हरिशयणी एकादशीमा विष्णु सुत्ने बेला मधु र कटैवले उत्पात मचाउन थाल्छन्  ।  कसैले मार्न नसकेपछि सबै देवता गएर विष्णुलाई गुहार्छन् । हरिबोधनी एकादशीमा उनी ब्युँझिएर यी दुई दानवको वध गर्छन् ।

उषाहरण नाच अन्तर्गत शितज्वर÷विष्मज्वर युद्ध, महादेव÷कृष्ण युद्ध पर्छ । उक्त नाच दुई वर्षअघि देखाइएको थियो । दानव वाणासुरकी छोरी उषाले सपनामा सुन्दर देखेको आधारमा कृष्णका नाति अनिरुध अपहरण गरेर लैजान्छिन् । वाणासुर र कृष्णबीच युद्ध हुन्छ ।  सो कथा नाचमार्फत् देखाइएको छ । देवी प्याखँ पनि उषाहरणकै नाचकै अर्को पाटो हो ।

अरू नाच थपघट गरे पनि जल शयण, बराह अवतार र नृसिंह अवतार प्रत्येक वर्ष सोही दिनमा पूजाआजा गरी प्रस्तुत गर्नुपर्ने चित्रकार बताउँछन् । बराह, नृसिंह अवतारको दिन दुवै पात्रले व्रत बस्ने गर्छन् । “कार्तिक नाच कहिले बन्द भएको छैन,” उनले भने, “दिन थपघट भएको होला, तर बन्द भएको छैन ।” 

यस्तै, केटीको भूमिकामा पनि केटाहरूले पहिरन लगाएर प्रस्तुत गर्छन् । नाचमा तान्त्रिक पक्ष गाँसिएकाले महिला नराखिएको उनको भनाइ छ ।

आर्थिक समस्या

कात्तिक नाच गुठीअन्तर्गत छैन । यो नाच विभिन्न समयमा विभिन्न संस्थाले चलाएको इतिहास छ । ०३८ मा कात्तिक नाच प्रबन्ध बन्यो । त्यसैले सो नाच चलाउन थाल्यो । केहीसमय यहाँका स्थानीयले उक्त नाच चलाएका थिए । ०७१ मा कात्तिक नाच संरक्षण समिति दर्ता भयो । त्यसपछि संरक्षण समितिबाट नाच सञ्चालन हुँदै आएको छ । हाल स्थानीय निकायले नाच सञ्चालन गर्न खर्च दिएको समितिले जनाएको छ । 

यो वर्ष १३ लाख भन्दाबढी खर्च लाग्ने समितिको अनुमान छ । तालिमदेखि प्रस्तुतिसम्म ६ महिना कलाकार व्यस्त हुने हुँदा सोहीअनुसार पारिश्रमिक र सरसामान जुटाउन खर्च लाग्ने समितिका पदाधिकारी बताउँछन् । तालिममा पहिला भत्ता पनि दिने चलन थियो । तर, बजेट अभावले अहिले कलाकारले पारिश्रमिक मात्रै पाउने गर्छन् ।

गत वर्ष समितिका लागि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ५० लाखको अक्षय कोष खडा गरिदिएका थिए ।

यसपटक पनि मेयरले ५० लाख अक्षय कोष थप्ने समितिका उपाध्यक्षसमेत रहेका प्रतापधर बताउँछन् । समितिले बजेटको दीर्घकालीन समाधानका लागि अक्षयकोष १० करोडको बनाउने योजनामा छ । सोही क्षेत्रको वडा नम्बर १६ ले १० लाख रकम कोषका लागि दिएको छ । विगतमा नेपाल पर्यटन बोर्डले २५ लाख र पूर्व संस्कृतिमन्त्री योगेश भट्टराईले कोषका लागि १० लाख दिने वाचा गरेपनि कोषले हालसम्म उक्त रकम नपाएको उनीहरूको गुनासो छ । 

कार्तिक नाचमा दैत्य बन्ने पात्रलाई डेढदेखि दुई लाख पारिश्रमिक माग्छन् । “किनकि मुख्य पात्रले भोज पनि खुवाउनुपर्छ,” प्रतापधर थप्छन् । 

यस्तै, कात्तिक नाचका कलाकारलाई प्रत्येक १२ वर्षमा परिवर्तन गर्नुपर्छ । नयाँ कलाकारले १२ वर्ष निरन्तर नाच प्रस्तुत गर्नुपर्छ । तर, आर्थिक समस्या र घरमा समस्या भएपछि क्षमा पूजा गरेर १२ वर्षलाई ६ वर्षमा झारिएको छ । गरगहरना, पोशाक, बाजागाजा र कलाकार सबै अहिले ६ वर्षमा परिवर्तन गरिन्छ । आगामी वर्ष नाचका लागि नगरपरिक्रमा गरेर नयाँ कलाकार छान्नुपर्छ । तर, सबै पात्रमा नयाँ कलाकार भित्र्याउन नसकिने समितिको भनाइ छ । 
तस्बिर : सुनिल प्रधान

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro